Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५३२औँ अंक

कार्यक्रम देश परदेशको अंक ५३२ मा हामीले परदेशीनेका बाध्यता र सरकारले युवालाई देशमै रोक्न नसक्नुको कारणबारे छलफल गरेका छौँ । देशमा गरिखाने विकल्प नभेटेपछि झोला बोकेर विदेश जान विमानस्थल पुगेकाहरुलाई भेटेर उनीहरुका भनाइलाई कार्यक्रममा समेटेका छौँ । यस्तै वैदेशिक रोजगारीमा जानेहरु किन बढे ? बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्न सरकार कहाँ चुक्यो भन्ने विषयमा श्रम तथा आप्रवासन विज्ञ डा. गणेश गुरुङसँग गरिएको कुराकानी पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । अनि युवालाई यही अवसर दिएर युवालाई विदेश जानबाट रोक्न पाल्पाको रम्भा गाउँपालिकामा भैरहेको उल्लेखनीय काम पनि आजको कार्यक्रममा समेटिएको छ । साथमा हप्ताभरिका रोजगारसँग सम्बन्धित समाचार त छदैछन् ।