Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५३३औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५३३ भिजिट भिसा सम्बन्धि नेपाल सरकारले ल्याएको नयाँ कार्यविधि र यूएईले काम खोज्न चाहनेलाई दिने नयाँ खालको भिसामा केन्द्रित छ । कार्यक्रममा सरकारले ल्याएको भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधि कार्यान्वयनमा आएपछि नेपालबाट भिजिट भिसामा विदेश जानेहरूले के कस्ता सर्त पूरा गर्नुपर्छ, कस्ताले घुम्न जान पाउँछन्, र कस्ता मानिस रोकिनेछन् भन्ने विषयमा गृह मन्त्रालयका प्रवक्ता फणीन्द्र पोख्रेलसँगको कुराकानी सुन्न सकिन्छ । यूएईले दिने नयाँ खालको काम खोज्ने भिसाले यूएईमा गएर काम नपाई अलपत्र पर्ने क्रम रोकिएला ? अनि भिजिट भिसाले यूएईमा निम्त्याएको समस्या र भिसाको नयाँ प्रावधानले समस्या समाधान होला त भन्ने विषयमा यूएईमा व्यवसाय सञ्चालन गरिरहनुभएका जयराम पराजुली जे सागरसँगको छलफल कार्यक्रममा समेटिएको छ । अनि  वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्ने कारण र बच्ने उपायबारे प्रवासी नेपाली समन्वय समिति पिएनसीसीका कार्यकारी निर्देशक सोम लामिछानेका सुझाव पनि सुन्न सकिन्छ । साथमा छ हप्ताभरिका गतिविधि पनि ।