Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देश परदेशको ५७०औँ अंक

देशपरदेशको यस अंकमा हामीले हराएका परदेशी खोज्दै हिँडिरहेका परिवारको कथाव्यथा समेट्ने तयारीमा छौं । कार्यक्रममा रोजगारीका लागि यूएई जान घरबाट २२ वर्षअघि हिँडेका पिताको मुख हेर्न भौतारिइरहेका दुई छोराको अधुरो रहर सुन्न सक्नुहुन्छ । यस्तै मलेसियाबाट रुपेश खड्काले फोन गर्न छाडेपछि देवीदेउता, धामीझाक्री र अनेक प्रयत्न गरेर छोरो खोजिरहेकी आमा सानुकुमारी खड्काको संघर्ष पनि सुन्न सक्नुहुन्छ । यस्तै १४ वर्षअघि मलेसिया गएका झापाकी सानीमाया घिमिरेका छोरा गोपाल घिमिरे मलेसिया पुगेका दिनदेखि एकपटक पनि घर फर्किएर आएनन् । सातवर्षदेखि त फोन पनि आएको छैन । आफ्नो छोराको बाटो हेरिरहनुभएकी सानीमायासँगको कुराकानी पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । यस्तै कुवेत गएको छोरासँग ७ वर्षदेखि सम्पर्क टुटेपछि आत्तिएका बुवा कृष्णप्रसाद चौहानका पीडा पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ । साथमा हप्ताभरिका श्रम तथा रोजगार गतिविधि त छँदैछन् ।