Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

384_Desh Paradesh 2019-11-05

कार्यक्रम देश परदेशको ३८४ औं अंकमा हामी तपाईलाई पूर्वी नेपालको इलाम र झापा लिएर जानेछौ, जहाँ परदेशमा पसिना बगाएर फर्किएपछि युवाहरु आफ्नै ठाउँठाउँमा पौरख गरेर रमाइरहेका छन् । कार्यक्रममा कतारमा चार वर्ष सेक्युरिटीको काम गरेर फर्किएपछि नर्सरी व्यवसाय गरेर ४३ जनालाई रोजगारी दिइरहेका इलाम माइपोखरीका पारशमनी काफ्लेको परदेश यात्रा र स्वदेशमा अहिलेको काममा कुरा कार्यक्रममा सुन्न सकिन्छ ।  यूएईमा १६ वर्ष बिताएर स्वदेश फर्किएपछि अटो चलाएर विदेशको जत्तिकै कमाइ गरिरहेका झापा काँकरभित्ताका दिपक कोइराला र चटपटे बेचेर घर चलाउने आम्दानी गरिरहेकी दिपकी श्रीमती बबिता कोइरालासँग कुराकानी र कतारमा कार्यालय सहयोगीको काम गरेर फर्किएपछि आफूले भोगेको समस्यामा सम्भावना खोज्दै ग्यारेज खोलेर तीन जनालाई रोजगारी दिइरहेका झापा बिर्तामोडका पारश न्यौपानेका कुरा पनि आजको कार्यक्रममा समावेश छ । अनि साथमा छन्, तपाईँले उज्यालोसँग साटेका अनुभव र तपाईँका रुचि र चासोका विषय समेटिएको राउण्डअप पनि । कार्यक्रम सुरु गरौं हप्ताभरीका स्वदेश तथा विदेशको रोजगार गतिविधिबाट ।