Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

425_Desh Paradesh 2020-08-18

कार्यक्रम देश परदेशको ४२५ औं अंक महामारीका कारण परदेशमा रोजगारी गुमाएर फर्किएकाको योजना, चाहना र त्यसलाई साकार पार्ने सरकारी नीति तथा कार्यक्रम के छन् त भन्ने विषयमा केन्द्रित छ । कोरोना महामारीका बेलामा परदेशबाट फर्किएका सुदूरपश्चिम प्रदेशका युवाका योजना र चाहना र कोरोनाको कारण परदेशमा जागिर गुमाएर फर्किएका प्रदेश १ का युवाहरुको आशा र अन्योल कार्यक्रममा सुन्न सकिन्छ । विदेशमा काम हराएपछि आफ्नै देशको पाखापखेरामा पाखुरा बजार्ने सपना लिएर फर्किएकाको योजनालाई साकार पार्न के छन् त सरकारी योजना ? श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेको जवाफ कार्यक्रममा समावेश छ ।अनि, देशभित्रै उद्यम गर्न चाहनेलाई सरकारले बैंक तथा वित्तीय संस्थामार्फत प्रदान गर्ने सहुलियत ऋणबारेको जानकारी पनि कार्यक्रममा समेटिएको छ । साथमा छन् तपाईँका रुची र चासो समेटिएको गतिविधि पनि ।