Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

429_Desh Paradesh 2020-09-15

कार्यक्रम देश परदेशको ४२९ औं अंक अप्ठेरो परिस्थितिमा श्रम स्वीकृति खुलेपछिका तपाईँका जिज्ञासा र विदेशमा अलपत्र परेकाहरु नेपालीको स्वदेश फिर्तीमा केन्द्रित छ । श्रम स्वीकृति खुल्दा श्रमिकलाई के फाइदा हुन्छ भन्ने हाम्रो प्रश्न र श्रम स्वीकृतिसँग सम्बनिधत तपाईँका जिज्ञासाको जवाफ र जानकारी वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले दिनुभएको छ । कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीहरु कहिलेसम्म घर फर्कन पाउलान् त ? करार सकिएका, भिसा नभएका र अवैधानिक भएर काम गरेकाहरु किन निःशुल्क उद्धारको कोटीमा परेनन् ?  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतमणी पाण्डेको जवाफ कार्यक्रममा समावेश छ । अनि, पीसीआर परीक्षण गरेर आउने सबै श्रमिकलाई स्वदेश ल्याउन के पहल भैरहेको छ त भन्ने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको कुराकानी कार्यक्रममा सुन्न सकिन्छ । साथमा छन्, तपाईँका रुची र चासो समेटिएको गतिविधि पनि ।