Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

446 Desh Paradesh 2021-01-12

कार्यक्रम देश परदेशको ४४६ औं अंक अनलाइनमार्फत पुनः श्रम स्वीकृतिको व्यवस्था, फारम भर्ने प्रक्रिया, श्रमिकका अनुभव र यसबाट हुने फाइदाहरुका विषयमा केन्द्रित छ । वैदेशिक रोजगारीलाई सजिलो र झण्झटमुक्त बनाउन सरकारले सुरु गरेको पछिल्लो व्यवस्था हो – अनलाइनबाट पुनः श्रम स्वीकृति । यो व्यवस्थाअनुसार अब अनलाइनमार्फत घरमै बसेर वा विदेशबाट पनि पुनः श्रम स्वीकृति लिन सकिन्छ । कार्यक्रममा पुनः श्रम स्वीकृतिको लागि अनलाइन फारम भर्ने सुरुदेखि अन्त्यसम्मको प्रक्रियाबारे वैदेशिक रोजगार विभागको सूचना प्रविधि शाखाका बिपुल पराजुलीले दिएको जानकारी सुन्न सक्नुहुन्छ । यस्तै कार्यक्रममा पुनः श्रम स्वीकृति लिने श्रमिकका अनुभव पनि सुन्न सकिन्छ । साथमा वैदेशिक रोजगारीको क्रममा अनलाइनमार्फत लिन सकिने अरु सेवाहरु के के छन् भन्नेबारे जानकारी र हप्ताभरीका रोजगार गतिविधि पनि सुन्न सक्नुहुन्छ ।