कृषिमा प्रविधिको प्रयोगसँगै दाइँ गर्ने परम्परा लोप हुँदै
मंसिर १८, २०८१ मंगलबार
स्कुल पढ्दा ‘बलभन्दा बुद्धि ठूलो’ शीर्षकको वादविवाद प्रतियोगितामा भाग लिनुभयो होला । कसैले बुद्धिको र कसैले बलको पक्षमा बोल्नुभयो होला । वादविवाद प्रतियोगितामा बलकै पक्षमा बोल्नेलाई पनि लाग्छ, बलभन्दा बुद्धि नै ठूलो हो । अनि बलले बलियो बलवानलाई पनि बलले मात्रै हुने केही होइन, बुद्धि नै चाहिन्छ भन्ने लाग्छ । त्यसैले आफ्नो बलमा बुद्धि मिसाउँछ र सुझपूर्ण तरिकाले काम गर्छ । तर हिजोआज हाम्रो देशमा बुद्धिभन्दा बल भएका मान्छेको बोलवाला छ । सरकारमा बलकै बोलवाला । संसद् र सडकमा बलकै होहल्ला । त्यसैले बुद्धिलाई ओझेल पारेर बलको बोलवाला रहेका र भएका घटना छताछुल्ल छन् ।
सबैभन्दा पहिले संसदमा हेर्नुहोस् । सत्तासँग यसै पनि बल छ । चार–चार पटक विश्वासको मत परीक्षणमा शक्ति घटेको प्रष्ट छ । तर प्रधानमन्त्रीलाई आफूजस्तो बलियो कोही छैन भन्ने लाग्छ । प्रमुख प्रतिपक्ष कांग्रेससँग त न्वारनदेखिको बल उत्तिकै छ । संसदको सबैभन्दा ठूलो दलमा सांसदको दलबल ठूलो हुने नै भयो । त्यसैले कांग्रेस नामक दलमा अरूको भन्दा धेरै बल छ । त्यसैले कांग्रेसको बलसँग कहिलेकाहीँ सत्ताको बल पनि डराउँछ । कांग्रेसको सट्टा नेमकिपा या जनमोर्चाले संसद् अवरोध गरेको भए के हुन्थ्यो ? बल र दलबल नभएको दलले गरेको अवरोधको कसले हिसाब गर्थ्याे र ! एक, दुई जना उठिरहे र कराइरहे पनि संसदमा विरोधको स्वर हराउँथ्यो । मर्यादापालकको बलविना संसद अगाडि बढ्थ्यो । तर कांग्रेससँग त सत्तापक्षको समेत सातो लिने बल छ ।
सत्तापक्षसँग रहेको बलको हिसाब गरेरै साध्य छैन । दलबल धेरै नभए पनि प्रधानमन्त्रीको पद नै बलियो । प्रधानमन्त्रीको पार्टीभन्दा अलि थोरै मान्छे भएका गृहमन्त्रीको पनि पद मात्रै बलियो । गृहमन्त्री नभएको भए सहकारी काण्डले उडाएर कहाँ पुर्याइसकेको हुन्थ्यो, धन्न त्यही गृहमन्त्रीको पद बलियो भएर अहिलेसम्म अड्याइरहेको छ । सत्तापक्षमै रहेको एमालेका अध्यक्षलाई हेरौँ । बूढा मान्छेको ज्यानमा बल हुने कुरो भएन, तर सत्तापक्षका अरूको भन्दा धेरै दलबल आफूसँग छ । पछिल्तिर बलियो दलबल छ भनेरै बूढा मान्छे बेलाबेला कांग्रेसका ठिटाहरूसँग निहुँ खोज्न आफैँ अघि सर्छन् । कहिले सभामुखलाई बल विपक्षीको पोस्टमा प्रहार गर्न सुर्याउँछन् । कहिले बलभन्दा ठूलो भाषण गर्छन् र विरोधीको सातो लिन्छन् । संसदमा कहिले सत्तातिरको बलले छल गर्छ, कहिले विपक्षीतिरको बलले फल गर्छ ।
बुद्धिभन्दा बलले धेरै काम गर्न थालेपछि प्रतिशोधको प्रतियोगिता पनि थपिन्छ । एउटाले सकुञ्जेल अर्कोलाई खुइल्याउँछ । त्यसपछि अर्कोले पदको पावर देखाउँछ र आफूलाई खुइल्याउन खोज्नेको नाकभित्रको छुसी निकाल्छ । अनि त्यही छुसी देखाएर बलवानको बल विनाश गर्छ । यस्तो प्रतियोगितामा बेला बेला मिडिया र बेला बेला पाठक मिसिन्छन् । सतीदेवीका अङ्ग झरे झैँ सबै दाँत खुस्किसके पनि मिडियावाला आफू चौथो अङ्ग नै हुँ भन्ने बल देखाउँछ । अनि पाठकलाई चाहिँ जसले जे लेखे पनि गाली गर्न पाएको स्वतन्त्रता ठूलो लाग्छ । यहाँ पनि बुद्धिभन्दा बढ्दा बलले काम गर्छ । त्यसैले सामाजिक सञ्जालमा बुद्धिभन्दा बल मिसिएका दोहोरी प्रतियोगिता गुञ्जिरहन्छन् ।
संसद र सञ्जालमा बलको दोहोरी भइरहँदा अहिले सडकमा र्याप शैलीमा बेलाबेला प्रकट भइरहने अर्को बल दोहोरिएको छ । बल प्रकट गरिरहने मान्छे हुन् नाममै बल शब्द मिसिएका महानगरका मेयर बालेन । महानगरमा पनि सबैभन्दा महा अर्थात् ठूलो नगर । युवाहरूमाझ सबैभन्दा लोकप्रिय । कसैले नकारात्मक प्रतिक्रिया र विरोध जनाउनै नसक्ने एकमात्र सर्वमान्य जनप्रतिनिधि । सबैको मन जित्ने गरी काम गर्दै जाँदा कहिलेकाहीँ बलको पनि परीक्षण गर्न मनलाग्दो हो । त्यसैले कहिले सिंहदरबार जलाउने कुरा गर्छन्, कहिले फोहोरको थुप्रो पार्टी कार्यालयतिर पठाउँछन् । यसपालि चाहिँ महानगरका मेयरको बलले धूलो उठायो र सडक कार्यालयको गेटमा थुपार्याे । अरू भारेभुरे पालिका र जनप्रतिनिधिले औँला पनि उठाउन सक्दैन थिए । तर बाहुबली मेयरले धूलो नै उठाएर गेटमा थुपारे र सङ्घवालालाई भिड्ने हो भन्ने शैलीमा औँला तेर्साए । नाममै बल मिसिएका मेयरसँग साथमा नगर प्रहरीको बल छ । सामाजिक सञ्जालमा समर्थकको बल छ । बल भएका मान्छेका अघिल्तिर बोल्ने र औँला उठाउने हिम्मत कसको ?
बलले पुग्ने भए तपाईं र मैले पनि हामी हिँड्ने सडकमा थुप्रिएको फोहोर नगरपालिकाको कार्यालयमा फाल्थ्यौँ । समयमा कार्यालय नआउने कर्मचारीको हाजिरी पुस्तिका च्यात्थ्यौँ । पढाउन नआउने शिक्षकको कलम भाँच्थ्यौँ । अस्पतालमा जँचाउन जाँदा नभेटिने डाक्टरको नियुक्तिपत्र खोस्थ्यौँ । नागरिकका लागि सबैथोक गर्छाैँ भन्ने तर माखो पनि नमार्ने जनप्रतिनिधिको तलब भत्ता रोक्थ्यौँ । बुद्धि पाखा लाएर पाखुरा सुर्किरहेकालाई मेलमिलाप गर्न दबाब दिन्थ्यौँ । तर तपाईं र मसँग त्यति गर्न पुग्ने बल छैन । भएको अलिअलि बुद्धि पनि सामाजिक सञ्जालमा एकअर्काको कमजोरी खोतल्न र आफ्नो जिम्मेवारी लुकाउन खर्च गरिरहेका छौँ । हामीसित न पर्याप्त बल छ, न बुता देखाउन सक्ने बुद्धि ! बल र बुद्धिकाे कमीका कारण हामीलाई अरूकै चर्काचर्की र सुर्कासुर्की हेर्न मज्जा आउँछ ! कि कसो !!
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।