४४ वटा संस्थानमध्ये २६ वटा नाफामा, आयल निगमको एक वर्षको नाफा ११ अर्ब ७२ करोड रुपैयाँ

 जेठ १३, २०८१ आइतबार १७:५९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नेपाल सरकारको लगानी रहेका सार्वजनिक संस्थानको नाफामा उल्लेख्य बढेको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा सार्वजनिक संस्थानले ४८ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा तीन हजार ४६ प्रतिशतले धेरै हो । नेपालमा अहिले ४४ वटा सार्वजनिक संस्थान अस्तित्वमा रहेकोमा २६ वटा संस्थान नाफामा छन् भने १५ वटा घाटामा रहेका अर्थ मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै नेपाल आयल निगमले एकै वर्षमा ११ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा आयल निगम ३८ अर्ब १७ करोड रुपैयाँले घाटामा थियो । गएको आर्थिक वर्षमा उच्च नाफामा रहेका सार्वजनिक संस्थानमा क्रमशः नेपाल आयल निगम लिमिटेड, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष रहेका छन् ।

यस्तै नेपाल वायुसेवा निगम लिमिटेड, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लिमिटेड र नेपाल टेलिभिजन सबैभन्दा धेरै घाटामा रहेका छन् । निजीकरण गरिएका १८ वटा सार्वजनिक संस्थानमध्ये १० वटा संस्थान नाफामा सञ्चालनमा छन् ।

यस्तै सार्वजनिक संस्थानको प्रशासनिक खर्च पनि गएको वर्ष झण्डै २४ प्रतिशतले वृद्धि भइ ४३ अर्ब ९० करोड १८ लाख रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयकाअनुसार २० वटा संस्थानले आर्थिक वर्ष २०७९/८० सम्मको लेखापरीक्षण गराएका छन् भने अन्य २४ वटा संस्थानले नियमित लेखापरीक्षण गराएका छैनन् ।

आर्थिक वर्ष २०७८/७९ मा संस्थानको कुल सञ्चालन आय पाँच खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेकोमा आर्थिक वर्ष २०७९/८० मा १४ दशमलव ८७ प्रतिशतले वृद्धि भइ ६ खर्ब ६१ अर्ब एक करोड २९ लाख पुगेको छ । नेपाल सरकारले प्राप्त गरेको कुल आयकरमा संस्थानको योगदान ६ दशमलव ९७ प्रतिशत पुगेको छ ।

गएको वर्ष सार्वजनिक संस्थानबाट १७ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ आयकर प्राप्त भएको सरकारले जनाएको छ । यस्तै सार्वजनिक संस्थानमा ३२ हजार एक सय ८० जनाले रोजगारी पाएको पनि अर्थ मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: असार २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया