दैलेखमा नक्कली परीक्षार्थी दाइलाई १० र भाइलाई ६ दिन कैद सजाय

 असार ७, २०८१ शुक्रबार १८:४०:१४ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेख जिल्ला अदालतले दुई जना नक्कली परीक्षार्थीलाई कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले भाइकाे सट्टामा परीक्षा दिने दाइलाई १० दिन र दाइलाई परीक्षा दिन लगाउने भाइलाई छ दिन कैद सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

प्रहरी प्रतिवेदन र अदालती तहकीकात अर्थात् जाँच अनुसन्धानका क्रममा समेत नक्कल परीक्षार्थी बन्ने र बनाउने कसूर गरेको ठहर भएकाले उनीहरू दुवै जनालाई कैद र जनही दुई सय रुपैयाँ पीडित राहत कोषमा तिर्न फैसला भएको स्रेस्तेदार लामिछानेले बताउनुभयो ।

गैडाबाज मावि रानीवनका नियमित माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षार्थी १५ वर्षीय भाइका लागि नक्कली परीक्षार्थी बनेका १७ वर्षीय दाइले परीक्षाका बेला मुखमा मास्क लगाई आएको र प्रवेशपत्रको फोटो पछि टाँसेको देखेर केन्द्राध्यक्षले सोधीखोजी गर्दा नक्कली भएको भेटिएको थियो ।

गएको चैत १५ गते एसईईको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षामा सहभागी भएका बेला नक्कली परीक्षार्थी दाइलाई प्रहरीले पक्राउ गरेको थियो । दाइलाई परीक्षा दिन पठाउने भाइलाई प्रहरीले चार दिनपछि पक्राउ गरेको थियो ।

भाइको पढाइ कमजोर भएकोले पास गराउन परीक्षा दिन गएको नक्कली परीक्षार्थी बनेका दाइले बताएका थिए । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालयले गएको चैत २७ गते दैलेख जिल्ला अदालतमा परीक्षा कसूरमा मुद्दा दर्ता गरेको थियो ।

अन्तिम अपडेट: साउन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया