प्रहरी थापाको मृत्युबारे छानबिन गर्न परिवारको माग

 जेठ २८, २०७५ सोमबार १३:५९:३७ | उज्यालो सहकर्मी


भक्तपुर – चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथली घर भएका २६ वर्षका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) अनुपराज थापाको रहस्यमय मृत्यु भएको भन्दै परिवारले निष्पक्ष छानबिन गर्न माग गरेको छ । 

प्रहरी पहरा गणबाट काठमाडौंको लाजिम्पाटमा रहेको इजरायली राजदूतावासमा कार्यरत थापाले आइतबार डियूटी मै आफैंलाई निधारमा गोली हानी आत्महत्या गरेको भन्दै प्रहरीले परिवारलाई खबर नै नगरी पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगेपछि परिवारले आत्माहत्या नभई हत्या भएको आशंका गर्दैै छानबिनको माग गरेका छन् । 

दूतावासमा रहेको ब्यारेकमा असई अनुपराज थापाले आफैंलाई निधारमा गोली हानी आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो । 

मृतक थापाका पिता ज्ञानेन्द्र थापाले कुनै तनाव, समस्या र घटनाको कारण नै नभएको अवस्थामा छोराको आत्माहत्या गर्यो भन्नु अविश्वसनीय भएको बताउनुभयो । 

‘छोराले आत्महत्या गरेको भन्दै शिक्षण अस्पतालमा आउन प्रहरीले खबर गरे, छोराले आत्महत्या गर्नुको कुनै कारण छैन’, मृतकका बुवा ज्ञानेन्द्रले भन्नुभयो, ‘घटनापछि परिवारलाई जानकारी नै नदिई सिधैं किन पोष्ट मार्टमका लागि अस्पताल ल्याइयो ?, यो आत्महत्या नभई हत्या हो, निष्पक्ष छानबिन हुनुपर्छ ।’

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले घटनाको सत्यतथ्य सार्वजनिक गर्न छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया