सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कामलाई थप प्रभावकारी बनाउन का...
मंसिर २५, २०८१ मंगलबार
विश्व मानचित्रमा नेपाल जति सानो छ, त्यति नै सुन्दर छ , लक्ष्मीप्रसाद देवकोटाले के नेपाल सानो छ ? भन्ने निबन्धमार्फत नेपाललाई आँखाको नानी, सुन्दर हिराको रुपमा जुन तवरले वर्णन गरेका छन् । साँच्चै नेपाल सानो भएता पनि सुन्दर र आकर्षक नै छ । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका दजर्नौ हिमश्रृङ्खला लगायत अन्य प्राकृतिक बनोटले विश्वमै धनी देशको रुपमा नेपाल रहेको छ ।
नेपालको कोशी प्रदेश अन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकको सिमानामा रहेको पिके पिक एक त्यस्तै सुन्दर हिराको रुपमा रहेको छ । समुद्र सतहबाट ४ हजार ७० मिटरको उचाइमा रहेको पिके पिकको यात्रा साँच्चै सुन्दर र अलौकिक रहेको छ । सोलुखुम्बु जिल्लाको सदरमुकाममै बसेर पनि नजिक रहेको पिके पिक नपुग्दा मन खिन्न भइरहन्थ्यो । पारिवारिकरुपमा सरसल्लाहपछि पिके जाने टुङ्गोमा पुग्यो ।
हामी ८ जना पिके जाने तयारी गयौँ । सदरमुकाम सल्लेरीबाट पिके पुग्न २ वटा विकल्पहरु रहेका थिए । एक तामाखानी हुँदै जसमाने भन्ज्याङ्ग पुगेर पिके पिक पुग्ने अर्को सल्लेरी, पताले, धाप हुँदै जाने । दुई विकल्पमध्ये हाल सडक सुविधा भएको हुँदा हामीलाई धाप, सिगाने, टाडापानी, झाप्रेकै बाटो उपयुक्त लागि त्यही बाटो सडक पुग्ने अन्तिम बिन्दुसम्म गाडीमार्फत र त्यसपछि पैदल जाने सल्लाहबमोजिम यात्रा अघि बढायौँ ।
दाइको निजी गाडीमार्फत बिहान ८ बजे सल्लेरीबाट यात्रा शुरु गरियो । पताले नजिकैको धापबाट पिके जाने कच्ची सडक करिब २ घण्टामा आइपुगियो । राजु दाई र पुष्पा भाउजु बाइकमा आउने भएपछि केही क्षण धाप मुनिको सुन्दर डाँडामा बसेर फोटो कैद गर्ने, बालबच्चाहरु पनि भएकाले थकाइ मार्दै रमाइलोसँग समय व्यतित गर्यौं । केही समय अगाडि यस ठाउँहरुमा बाटोको सुविधा पनि त्यति धेरै राम्रो थिएन, अहिले भने सडक पनि दुर्त गतिमा विकास हुँदै गएको रहेछ । केही समयपछि यात्रालाई अगाडि बढायौँ । टाँडपानीमा अहिले आधुनिक सुविधासहितको होटलहरु सञ्चालनमा आइसकेछन् ।
काठमाण्डौबाट पिके पिक यात्रामा आउनेको लागि पनि पहिलो दिन बास बस्ने ठाउँ टाडपानी वा झाप्रे नै उपयुक्त हुने गर्दछ । धापबाट करिब १ घण्टामा झाप्रे आइपुगियो । दुई हजार आठ सय २० मिटरको उचाइमा रहेको झाप्रे सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० मा पर्दछ । यहाँ सुन्दर गुम्बा, शेर्पा तथा मगर समुदायको बसोबास रहेको सुन्दर गाउँ रहेको छ । यहाँबाट सुन्दर नुम्बुर, कर्लुङ्ग लगायत सगरमाथा हिमश्रृङ्खला पनि प्रष्टै देखिने हुँदा अत्यन्तै मनमोहक ठाउँको रुपमा रहेको छ ।
सुन्दर वातावरण भएकाले यात्रा अत्यन्तै सहज भइरहेको थियो । स–साना बालबालिकाहरु साथमा भएको हुँदा लेक लाग्छ कि भन्ने डर पनि अलिअलि थियो । नानीहरु सोलुमै जन्मिएको हुँदा त्यहाँको वातावरणसँगको सामन्जस्यताको कारण लेक लाग्दैन भन्नेमा ढुक्क थियौं । नानीहरु पनि सुन्दर वातावरणमा यात्रामा निस्कन पाएकोमा खुशी थिए । झाप्रे र भुलभुलेको बीच भाग अत्यन्तै नाङ्गो थुम्कै थुम्का भएको ठाउँमा पुग्यौ, यहाँ धेरै रमाइलो भयो कि हामी मरुभूमिको यात्रामा निस्किएजतिकै रमाइलो भयो ।
यहाँबाट पनि सगरमाथा लगायतका हिमश्रृङ्खलाहरु अत्यन्तै मनमोहक देखिन्थ्यो । पिके पिक पनि यहाँबाट स्पष्ट देखिएको थियो । करिब तीन हजार पाँच सय मिटरको उचाइमा रहेको भुलभुले भन्ने ठाउँमा पनि स–साना चिया पसलहरु थिए । झाप्रेबाट करिब आधा घण्टामा गाडीमार्फत यहाँ आइपुगिने रहेछ । हाम्रो आजको बास पिके बेसक्याम्प मात्र भएकाले गाडीमै यात्रा भएता पनि अत्यन्तै विस्तारै यात्रा गरिरहेका थियौं । हिंड्न सक्नेहरु धापबाट एक दिनमै पिके सहजै पुग्न सक्दछन् । हामी चाहिँ सडकको अन्तिम बिन्दु भुलभुले भन्दा केही माथि बौद्धसम्म गाडी पुग्ने भएकाले त्यो ठाउँसम्म गाडीमै जाने निधो गरेर क्रमशः यात्रा अगाडि बढायौँ ।
यात्राको क्रममा गाडी र बाइकको प्रशस्तै भीड देखिन्थ्यो । बौद्धबाट भने पैदल यात्रा गर्नु थियो । त्यही भएर गाडीलाई पार्किङ्गमा राखेर हामी हिंड्ने तरखर गर्न लाग्यौं । त्यहाँ चिया पिएपछि नानीहरु, जेठानदाइ, दिदी, श्रीमती , राजु दाइ, भाउजुले टेक्ने लौरो तयार पारेर यात्रालाई अघि बढायौं । तीन हजार पाँच सय ५० मिटरको उचाइमा रहेको बौद्ध भन्ने ठाउँसम्म पुग्दा स्वास्थ्यमा कसैलाई पनि केही असर पुगेको थिएन ।
त्यहाँबाट गोराखानी, टाप्टिंगका रमाइला गाउँहरु सबै स्पष्ट देखिन्थे । दाइले यी ठाउँहरुको बारेमा वर्णन गर्दै हुनुहुन्थ्यो । रमाइला गफगाफ गर्दै साथमा पोर्टेबल ग्यास समेत भएकाले कफि, चिया, खाजा तयार पार्दै खादै हामी सासिंग्मा हुँदै अघि बढिरह्यौ ।
बौद्धबाट करिब १ घण्टा तेस्रो बाटो हिंडिरहँदा यात्रा अत्यन्तै सहज भइरहेको थियो । हामी लामोमाने पुग्यो दिउँसोको ३ बजेतिर । यहाँबाट भने पिके पिकको उकालो यात्रा शुरु हुन्थ्यो । लामोमानेबाट हिंड्न सक्नेहरु करिब डेढ घण्टामा पिके पिक नै पुग्न सक्दछन् हामी भने बालबालिकासहित भएको कारण विस्तारै उकालो चढ्याैं । उकालोमा भने श्वासप्रश्वासको गति सबैको बढिरहेको थियो । प्रशस्त पानी, चक्लेट खाँदै हामी बेलुकी ५ बजे पिके बेसक्याम्प पुग्यौं । यहाँ धेरै नै होटलहरु रहेका छन् । करिब १ दर्जन होटल रहेको यस स्थानमा बासका लागि समस्या हुँदैन । हामीले भने सल्लेरीबाटै होटल बुकिङ्ग गरिसकेको हुँदा सांग्रिला होटल तर्फ लाग्यौं ।
सदरमुकामबाट केही कर्मचारी साथीहरु पनि आएका रहेछन् । उहाँहरु पनि हामीसँगै लाग्नुभयो । होटलमा व्यवस्थित कोठाहरु रहेछन् । हामीले करिब दुई हजार पाँच सय पर्ने २ वटा कोठाहरु लियौं । ती कोठाहरुमध्ये एउटा कोठामा पुरुष समूह, अर्कोमा महिला तथा बालबालिका रहने गरी लियौं । एउटा कोठामा ६ वटा कोठा रहेछन् । बेलुकी रमाइलो गफगाफ गर्दै खानपिन गरी सुत्ने तरखर गर्यौं । राति हामीले सुत्नेबेला सबै झ्यालहरु बन्द गरेर सुतेका थियौं । त्यही भएर राति १२ बजेतिर श्वास लिन गाह्रो भएजस्तो महशुस भयो । एउटा झ्याल खोलेपछि अलि सहज भयो ।
बिहानको सूर्योदय हेर्न तथा बाहिरको भ्यू पनि हेर्न चार बजे नै सबैजना उठ्यौं । नानीहरुलाई तयार गरेर होटलबाट तातोपानी तथा खाजा समेतको प्रबन्ध गरी होटलबाट निस्क्यौं । पिके बेसक्याम्पबाट निस्कंदा पारीपट्टी टर्चलाइटको लाइन देखिन्थ्यो । सबै जना सूर्योदय र सुन्दर हिमालको दर्शनका लागि बिहानै निस्किएका थिए ।
बिहान अँध्यारो नै भएको केही चिसो पनि भएकाले बालबालिकाहरुलाई डोर्याउँदै अघि बढिरहेका थियौं । सिंढीसहितको उकालो बाटो थियो । बेसक्याम्पबाट करिब १ घण्टामा हामी पिके पिक पुग्यौं । शुरुमा भदैनी दिपिका, अनामिका, छोरी गृष्मासहित म र सुरेश भाइ पिकमा पुग्यौं । हामी पिकमा पुग्दा पिकभरी मानिसहरुको ताँती थियो । केहीबेरमै सूर्योदय पनि भयो, बादलको घेरा पिकमुनिको दृश्य निकै मनमोहक थियो । जसको वर्णन गरेर साध्य नै छैन । हामी बादल भन्दा पनि माथि थियौं । हिमालहरुको तीन सय ६० भ्यू देखिन्थ्यो ।
सगरमाथा हिमश्रृङ्खला, रोल्वालिङ उपत्यकाका सबै हिमालहरु, पश्चिम तर्फका विभिन्न हिमालहरु सबै आँखै अगाडि थिए । एकै ठाउँबाट सबै हिमाल देखिने नेपालको एकमात्र ठाउँ पिके पिक नै हो । यस ठाउँमा पुग्दा साँच्चै स्वर्गकै आभाष हुन्छ । नेपालभरीका उत्कृष्ट हिमाल, छिमेकी देश चीन लगायतका हिमालहरु हेर्ने हो भने पिके नै एक उपयुक्त ठाउँ हो ।
शेर्पा भाषामा सुनपाती धुप पाइने ठाउँलाई पोक्याप भनिन्छ, पोक्यापबाट पोक्याल्पा हुँदै अपभ्रंश भएर हाल पिके भनिदै आएको छ । पिके पिक पनि यहाँ दुई वटा रहेका छन् । करिब चार हजार ७० मिटरको उचाइमा रहेको लिखुपिके तर्फको पिके पिकमा हामी उभिएका थियौं । अर्को पिक भने सोलुदुधकुण्ड नगरपालिकामा पर्ने गर्दछ ।
लिखुपिके पट्टी भएको पिकलाई बौद्ध धर्मअन्तर्गत शेर्पा जातिले गोले पिके र नगरपालिका पटटी रहेको पिकलाई च्यावा पिके भनिदो रहेछ । शेर्पा जाति अन्तर्गत पर्ने गोले र च्यावा जातिले त्यो स्थानलाई कुलदेवताको रुपमा पूजाआजा गर्दै आइरहेका छन् ।
त्यस्तै यहाँ श्रावण १ गते भव्य मेला लाग्ने गर्दछ । हिन्दु धर्मावलम्बीहरुले न्वागी चढाउने ठाउँका रुपमा देवीको रुपमा पूजाआजा गर्ने गर्दछन् । तामाखानीमा रहेको ज्वालामाई देवीको दिदीको बसोबास रहेको भनेर पनि यहाँ श्रद्धापुर्वक पूजाआजा गर्ने गर्दछन् । समग्रमा पिके पिक नेपालको एक लुकेको हिरा हो, यस क्षेत्रको प्रचार–प्रसार नहुँदा यो क्षेत्र पनि गुमनाम रहेको छ ।
हाम्रो पारिवारिक धार्मिक यात्रा साँच्चै रमाइलो रह्यो । यात्रामा सानो भाइ रितेशलाई लेक लागेर थोरै समस्या भएता पनि समग्रमा यात्रा रोमाञ्चकारी थियो । पिके पिकबाट देखिने दृश्य सम्झिँदा सधैं नै गइरहन मन लाग्दछ । हामी गाडीमार्फत पुगेको हुँदा हिजो आएकै बाटो भएर पुन सल्लेरी जानु थियो । पैदल हिंडेर हो भने च्यावा पिकेको फेद हुँदै जसमाने भन्ज्याङ्ग, तामाखानी भएर पनि सल्लेरी पुग्न सकिन्थ्यो ।
सोलुखुम्बु जिल्ला पर्यटकीय जिल्लाको रुपमा परिचित छ । सगरमाथा लगायतका हिमश्रृङ्खला हेर्न पर्यटकहरु विमानबाट लुक्ला हुँदै जाने र त्यही मार्ग अपनाएरै फर्किने जुन चलन छ, जसले गर्दा तल्लो सोलुको पर्यटन खस्कंदो अवस्थामा रहेको छ ।
तल्लो सोलुका विविध रमणीय ठाउँहरु निकै आकर्षक र मनमोहक छन् । जुन प्रचार अभावका कारण गुमनाम छन् । काठमाण्डौबाट सहजरुपमा गाडीको माध्यमबाट पताले पुगेर पिके, जुनवेशी हुँदै दुधकुण्ड पुगेर रात्नाङ्गी, सल्लेरीका मनमोहक दृश्यावलोकन सहजै गर्न सकिन्छ ।
हाल दुधकुण्ड क्षेत्रमा व्यवस्थित होटलहरु सञ्चालनमा आउँदैछन् प्याकजेका रुपमा यस ठाउँहरुको सहजरुपमा यात्रा गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुरेश खड्का सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।