काठमाण्डौ महानगरबाट दश जना स्रष्टा जनही १ लाख ५० हजार पुरस्का...
मंसिर २९, २०८१ शनिबार
बङ्गलादेशी प्रधानमन्त्रीले देश छोडेपछि मान्छेले भने, नेपालले पनि बङ्गलादेशबाट सिक्नुपर्छ । योभन्दा पहिले अफगानिस्तान र श्रीलङ्काका राष्ट्रपति उसैगरी भागेका थिए । त्यो बेला पनि नेपालले अफगानिस्तान र श्रीलङ्काबाट सिक्नुपर्छ भन्ने सुनिएकै थियो । कोही भागे त्यहाँबाट सिक्नुपर्छ भन्नेहरू कोही नभागे भारत र चीनबाट सिक्नुपर्छ भन्छन् । सिक्ने कुरा पहिल्यै सिकिसकेर नेपालले आफूलाई स्विट्जरल्यान्ड बनाउन थालेकै ५० वर्ष भैसक्यो । तै पनि चर्पीबाट निस्केर हात धुन नजानेको बालकलाई झैँ मान्छेले भन्न छाडेनन् ‘नेपालले सिक्नुपर्छ ।’
तर सिक्ने कुरामा नेपाल आत्मनिर्भर छ, परनिर्भर हुनै पर्दैन । चुनावमा नयाँ पार्टीको लहर चल्न थालेपछि पुरानाले सिक्नुपर्छ भनेर मान्छेहरू बुरुकबुरुक उफ्रे । तर पुरानाले नयाँबाट के सिक्ने भन्ने थाहा नहुँदै पुरानाबाट सिकेर नयाँ भनिनेहरू पुराना भन्दा पुरातन भैसके । त्यसैले नेपालले विदेशबाट सिक्नुपर्ने कुरो पनि पुरानो भैसक्यो । यो जमाना त नेपालबाट अरू देशले सिक्ने पो हो । किनकि नेपालबाट अरू देशले सिक्नुपर्ने कुरा अनगिन्ति छन् ।
वर्षमा दुई/तीनफेर सरकार फेरबदल नेपालमै हुन्छ । केन्द्र र प्रदेशमा पटकैपिच्छे सरकार फेरिँदा चुनाव जित्नेमध्ये लगभग प्रायः सबैजसो नेताको मन्त्री हुने पालो पुग्छ । कतिले दोहोर्याएर, तेहेर्याएर समेत झण्डा हल्लाउन पाइरहेकै छन् । तेस्रो/चौथो पार्टी मात्रै होइन, मुश्किलले एउटा मात्र सिट जितेको पार्टीसमेत सरकारमा निर्णायक भैरहेको छ । सङ्घीयता कस्तो हुन्छ भनेर प्रदेशहरूले मज्जाले देखाइरहेकै छन् । उथलपुथल र उलटफेरको जन्म यहीँ भएको छ । सत्ता समीकरणको अनौठो सूत्र र गणितको खेल पनि नेपालमा जति अरू देशमा हुँदैन । बाहिरबाट हेर्दा काटाकाट र मारामार गरेजस्तो देखिए पनि भित्रभित्र गला र गाला जोडाजोड गर्ने नेताहरूबाट विदेशीले धेरै कुरा सिक्न सक्छन् ।
वर्षाैँसम्म खेती गरेर दुईछाक टार्न मुश्किल भएको मान्छे राजनीतिमा लागेको दिनदेखि नै मालामाल हुन्छ । नागरिक झन्झन् गरीब भएर के भो त, भएभरका नेता दिनदिनै धनी भैरहेका छन् । अहिलेसम्म शासनसत्तामा पुगेका पुराना हुन् कि नयाँ, युवा हुन् कि वृद्ध, जीउबाट हरक्कै भ्रष्टाचारको गन्ध आइहाल्छ । आफ्नो र आफू वरपरको गन्धमा सुनपानी छर्कँदै अर्कोको गन्ध सुँघ्दै हिँड्न सबै खप्पिस भैसकेका छन् । राजनीतिमा लाग्नेबित्तिकै धनी हुन र भ्रष्टाचारमा डुबेपछि भ्रष्टाचारको अन्त्य गर्छु भन्ने नेता पनि नेपालमै मात्र पाइन्छन् । विश्वका अरू नेताले नेपालबाट सिको गर्नुपर्ने यो अति महत्त्वपूर्ण कुरा हो ।
भ्रष्टाचार, अनियमिता, ढिलासुस्ती, महँगी, बेरोजगारी जति बढे पनि नागरिकले सहेकै छन् । अर्थतन्त्र तहसनहस हुँदासमेत म भोकै भएँ भनेर अहिलेसम्म कसैले रित्तो थाल बजाउँदै हिँडेको छैन । प्रायः सबै नागरिक कुनै न कुनै दल र नेताका नजिक छन् । नेताको पछि लाग्न पाइयो र सकियो भने दुःखकष्ट नगरिकन आफ्नो र परिवारको गुजारा चल्छ । भ्रष्ट र खराब भए पनि आफ्नो दल र नेता राम्रो मात्रै लाग्छ । नराम्रोलाई पनि राम्रो देख्नु मान्छे सकारात्मक बन्नु हो । सकारात्मक बन्नु भनेको सन्तोषी र सुखी हुनु हो । जस्तोसुकै अवस्थामा पनि खुशी र सुखी बन्न सक्नुपर्छ भन्ने सन्देश अरू देशका नागरिकले पनि नेपालीबाट लिन सक्नुपर्छ । यसो भएमा कुनै देशमा पनि अशान्त हुँदैन ।
राजनीतिमा जस्तै हाम्रो देश अरू धेरै कुरामा सक्षम र सबल छ । प्रायः सबै नेपाली विद्वान्, विश्लेषक, न्यायाधीश र सृजनशील भैसकेका छन् । नपत्याए सामाजिक सञ्जाल हेर्नुहोस् । भएजति सबै कुरामा तर्क, बहस र विश्लेषण गर्ने क्षमता सबैसँग छ । कुन सही, कुन गलत भन्ने कुरा किन बुझिराख्नु पर्याे ? एकपटक हेरेको र सुनेको भरमै धारणा बनाउन सक्ने अद्भुत खुबी भएकाहरू कति छन् कति । अरू देशका मान्छेलाई काम गरेर फुर्सद हुँदैन, विदेश काम गर्न पुगेका धेरै नेपालीलाई समेत यसको राम्रो अनुभव छ । तर नेपालमा त फुर्सद नै फुर्सद हुन्छ । त्यही फुर्सद भएरै मान्छेहरू मोबाइलमा मात्रै झुण्डिरहन्छन्, सामाजिक सञ्जालमा चाहिनेभन्दा नचाहिने कुरा धेरै हेर्छन् । सकारात्मक कुरामा भन्दा नकारात्मक कुरामा बढी विश्वास गर्छन् । आफूले गर्नुपर्ने योगदान बिर्सन्छन् र यसो भएन, उसो भएन भनेर अर्ति, उपदेश दिन्छन् । यति धेरै फुर्सदिलो भएर अरूलाई अर्ति, उपदेश कसरी दिन सकिन्छ भन्ने कुरा अरू देशले नेपालबाट सिक्न सक्छन् ।
हाच्छ्युँ गर्दा नाकमुख छोप्नुपर्छ भनेर अरूले सिकाउनु परे पनि देश कसरी चलाउनुपर्छ भनेर सिकाउन सक्ने क्षमता हरेक नेपालीसँग छ । आफ्नो निजी गाडी थन्काई सार्वजनिक गाडीमा चढेर अभिनय गर्न सक्ने नेताहरू विश्वमा कमै होलान् । उथलपुथलको जादू बेकामे भएपछि अब प्रधानमन्त्री बन्दिनँ भनेर घोषणा गर्न सक्ने आँट अरू कुन देशका नेतासँग होला ! अन्त त यस्ता मान्छे खोजे पनि पाइँदैन । खोज्दा नपाइने यो कला पनि विदेशीले सिकेकै राम्रो हो । सरकारमा पुग्नेबित्तिकै निर्देशनका चाङ लगाउन सक्ने क्षमता भएका प्रधानमन्त्री र मन्त्रीहरू अरू देशमा कति होलान् ? अनि यिनै नेताको पक्ष, विपक्षमा उभिएर देश खत्तम भयो भन्दै सामाजिक सञ्जाल भर्ने नागरिक पनि अरू देशमा भेट्न मुश्किल छ । त्यसैले नेपालजस्तै बन्नु छ भने विश्वका विकसित भनिने देशहरूले एकपटक नेपालबाट सिक्नुपर्छ ।
यति पढिसक्दा तपाईँले पनि पक्कै केही न केही सिकिसक्नु भो भन्ने हाम्लाई लागेको छ । तर अझै केही सिक्नु भएको छैन भने पनि केही छैन, अरूलाई सिकाउन तपाईँलाई कसैले सिकाउनु पर्दैन भन्ने मैले चाहिँ राम्रैसित बुझिसकेँ । त्यसैले अब मबाट सिक्नुपर्छ भन्ने कुरा सिक्नोस् र मुसुक्क हाँस्नोस् । त्यसो गरे कसो होला !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।