नेताहरू ‘राजा महाराजा’ जस्ता हुँदा पार्टी सकिँदै गयाे, सङ्गठनकाे नेतृत्व प्रचण्डले छाड्नुपर्छ : शर्मा

 साउन २७, २०८१ आइतबार १३:५२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डकै कारण पार्टी कमजोर भएको भन्दै नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । काठमाण्डौमा चलिरहेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा उपमहासचिव शर्माले १४ पृष्ठ लामो प्रस्ताव पेश गर्दै प्रचण्डले पार्टीलाई सही ढङ्गले चलाउन नसकेको आरोप लगाउनुभएको छ ।

जनार्दन शर्माले अध्यक्ष प्रचण्डको अहिलेसम्मको योगदानलाई स्थापित गर्न वैचारिक काम, सत्ताको नेतृत्व प्रचण्डले नै गर्ने र सङ्गठनको नेतृत्व उहाँले चाहेको व्यक्ति वा पुस्ता हस्तान्तरण गरेर युवालाई दिन माग गर्नुभएको छ । अहिलेको केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाएर महाधिवेशनबाटै प्रत्यक्ष चुनावमार्फत नयाँ नेतृत्व चयन गर्न पनि शर्माको माग छ । उहाँले पार्टी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध तथा जनआन्दोलनमा लागेको वर्ग, समुदाय अहिले माओवादीबाट टाढिँदै गएको भन्दै विभिन्न सुझाव दिनुभएको छ ।

कूटनीति, स्वास्थ्य, सार्वजनिक शिक्षा, औद्योगिकीकरण, श्रम संस्कृति लगायतका पार्टीले लिएका कैयौं नीति र कार्यक्रम अलपत्र परेको भन्दै जनार्दन शर्माले यसको जवाफ अध्यक्ष प्रचण्डसँग माग्नुभएको छ । नागरिकका एजेन्डा छाड्दै गएकाले अहिले माओवादी योजना र सङ्गठनविहीन बन्न पुगेको भन्दै शर्माले २०६४ सालको संविधानसभा चुनावमा पाएको ३१ लाख जनमत अहिले घटेर ११ लाखमा झरेको उल्लेख गर्नुभयो । पार्टी नेतृत्वकै कमजोरीले गर्दा माओवादी शून्यमा झर्न लागेको र पार्टीमा भएकाहरू पनि असन्तुष्टि बोकेर बाँचिरहेको उहाँले बताउनुभएको छ ।

माओवादीका नेताहरूको राजा महाराजाको जस्तो जीवनशैली नागरिकले मन नपराएको उहाँको प्रस्तावमा उल्लेख छ । अरू पार्टी र माओवादीबीचको फरक के हो त भनेर सोध्दा जवाफ दिने ठाउँ नरहेको जनार्दन शर्माको विचार छ । पार्टीलाई सुधार गर्न सुझाव दिँदा र फरक मत राख्दा पार्टी फुटाउँदैछन् भन्ने हल्ला चलाएर आफ्नो अभियानलाई बदनाम बनाउन खोजिएको भन्दै उहाँले आफूलाई तह लगाउन राज्य शक्तिको समेत दुरुपयोग भएको आरोप लगाउनुभएको छ ।

पार्टी सञ्चालनको मूल्य मान्यता तोडेको, विधि विधान र प्रणालीको धज्जी उडाइएको भन्दै जनार्दन शर्माले सामूहिक नेतृत्वको कम्युनिस्ट अवधारणालाई हटाएर एकलौटी नेतृत्वको अभ्यास भएको भन्दै असन्तुष्टि पोख्नुभएको छ । अब गाउँगाउँमा गएर माओवादीले गरेका राम्रा कामको प्रचार गर्ने, पार्टीमा भएको विभेद हटाउने, कृषि उत्पादन र औद्योगिकीकरण बढाउने, निःशुल्क स्वास्थ्य र शिक्षाको नारालाई जोडतोडले उठाउने, पार्टीले जितेका पालिकामा उत्पादन र रोजगारी बढाउने, गरिबी हटाउने लगायतका नमूना काम गर्ने शर्माको सुझाव छ । उहाँले संसदमा सशक्त प्रतिपक्षको भूमिका खेलेर २०८४ सालसम्म सरकारमा नजाने, माओवादीका सबै नेताहरूको सम्पत्तिको यथार्थ विवरण सार्वजनिक गर्न माग गर्नुभएकाे छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया