प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल शुरू, आजै पारित गर्ने तयारी

शान्तिका पक्षधरका लागि खुशीकाे विषय : प्रधानमन्त्री ओली

 साउन ३०, २०८१ बुधबार १४:३८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रतिनिधिसभामा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल शुरू भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो ।

प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको छ । प्रस्तावमाथि राजनीतिक दलका शीर्ष नेताको सम्बोधनसहित दलीय आधारमा छलफल भइरहेको छ । विधेयक आजै प्रतिनिधिसभाबाट पारित गर्ने कार्यसूची छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुशीको विषय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सहमतिका साथ कानून पारित हुने चरणमा पुगेकाले पारित भएका कानूनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले १० वर्षे द्वन्द्वलाई पनि नेपालले मौलिक हिसाबले शान्ति प्रक्रियाको काम टुङ्गो लगाउँदै आएको बताउनुभयो । उहाँले यो देशमा पुनः द्वन्द्व नहोस् भन्ने तरिकाबाट शान्ति प्रक्रियाको काम भएको पनि उल्लेख गर्नुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरू बनाउने पनि उहाँले बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रचलित कानून, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल रहेको बताउनुभएको छ । विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै उहाँले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने विन्दुमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको पनि बताउनुभयो । समग्रमा शान्ति प्रक्रियाको बाँकी रहेको अध्यायलाई विश्वसनीय प्रक्रियाबाट पूरा गर्ने काम गरेको सभापति देउवाको भनाइ छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिपछि हजारौँ शहीदको सपना पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले पूर्णता पाएको बताउनुभयो । अब परिवर्तनका उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको महान् यात्रामा अघि बढ्ने बाटो पाएको प्रचण्डकाे भनाइ छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया