म्याग्दीको पात्ले गाउँमा विद्युतीय सेवा विस्तार
असोज २८, २०८१ सोमबार
काठमाण्डाै – पछिल्लो झन्डै साढे पाँच महिनामा देशभर १० हजार ६ सय ७० वटा गाडी दुर्घटना भए । यी दुर्घटनाबाट सात सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । दुई हजार जनाभन्दा धेरै गम्भीर घाइते र नौ हजार जनाभन्दा धेरै घाइते भएका छन् । कम समयमा यति धेरै गाडी दुर्घटना हुनु दुर्भाग्यपूर्ण र दुःखको कुरा हो ।
विश्वभर गाडी दुर्घटनालाई न्यूनीकरण गर्न विभिन्न अभियान सञ्चालन भइरहेका छन् । नेपालमा पनि हामीले थुप्रै अभियान शुरू गरेका छौँ । नेपाल प्रहरीले समुदाय साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय, क्याम्पस, समुदायलगायतमा अभियान चलाइरहेको छ । जाँड–रक्सी र लागूपदार्थ खाएर गाडी चलाएका, सडक लेन अनुशासन पालना नगरेका, गाडी नियम उल्लङ्घन गरेकालाई ट्राफिक सचेतना कक्षामार्फत अभिमुखीकरण गरिएको छ ।
नेपालमा गाडी दुर्घटना हेर्दा सबैभन्दा धेरै दुर्घटना हुने क्षेत्र शहरहरू पर्दछन् । काठमाण्डौ उपत्यकासहित ठूला शहरमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन् । पछिल्लो चार महिनामा मात्रै ६ हजार ३ सय ८८ वटा मोटरसाइकल दुर्घटना भएका छन् । मोटरसाइकलपछि धेरै दुर्घटना हुने गाडीमा कार र जीप छन् । साढे चार महिनाको अवधिमा १४ सय ५८ वटा कार र जीप दुर्घटनामा परेका छन् । यस्तै पाँच सय १७ वटा बस, चार सय ६२ वटा ट्रक र ट्याङ्कर दुर्घटना भएका छन् ।
पहाडका सडक धेरै घुमाउरो, भिरालो र उकालो छन् । कतै भीर काटेर सडक बनाएको हुँदा पहिरो जाने समस्या पनि उत्तिकै छन् । मनसुन शुरू भएयता गाडी दुर्घटनाका घटना बढी भएको देखिन्छ । सडकमा हुने खाल्डाखुल्डी, सडक किनारा भत्किएका, साँघुरो सडक, जीर्ण गाडी, चालकले जाँड–रक्सी र लागूपदार्थ खाएर चलाएको, लापर्बाही तरिकाले ओभरटेक गर्ने, धेरै मानिस गाडीमा चढाउने लगायतका कारणले गाडी दुर्घटना भएको पाइन्छ । धेरैजसो ठूला गाडी राजमार्गमा दुर्घटना हुने गरेका छन् भने साना गाडी शहरी क्षेत्रमा दुर्घटना हुने गरेका छन् ।
गाडी चलाउँदा चालकले अपनाउनुपर्ने सावधानी
सडकमा गाडी आफैँ गुड्दैन । गाडीलाई चालकले गुडाउने भएकाले प्रमुख दायित्व चालकको हुन्छ । सबैभन्दा पहिले चालकले आफूले चलाउने गाडीको अवस्था हेर्नुपर्छ । गाडी यान्त्रिक रूपमा ठीक छ कि छैन भनेर हेर्ने तथा टायर, इन्जिनको अवस्था, इन्धनलगायतका कुराको जाँच गर्नुपर्छ । त्यसपछि गाडीमा चढेपछि चालकले पहिले सिट बेल्ट लगाउने, दुई पाङ्ग्रेमा भए हेल्मेट लगाउन नभुल्ने, गाडीमा भएका यात्रु सहज अवस्थमा छन् कि छैन हेर्ने, जाँड–रक्सी र लागूपदार्थ नखाने, साँघुरो सडकमा बढी गतिमा नचलाउने, तोकिएकोभन्दा बढी गतिमा गाडी नगुडाउने र आफूले चलाउने गाडीको रुटबारे जानकारी लिने गर्नुपर्छ । मनसुनको बेला सडक छेउ कमजोर भएको हुन्छ, सडक छेउबाटै ओभरटेक गर्दा पनि गाडी दुर्घटनामा परेको देखिन्छ । यस्तै कतिपय लाइसेन्स नभएका चालकले पनि गाडी चलाएको पाइन्छ । त्यसैले सडकका चिह्न र सडक हेरेर नमात्तिकन र नआत्तिकन गाडी चलाउनुपर्छ । गाडी चलाउँदा सडक नियमको पालना गर्नुपर्छ ।
यात्रुले अपनाउनुपर्ने सावधानी
व्यक्तिगत वा निजी गाडीमा यात्रा गर्दा आफू चढ्ने गाडीको अवस्था हेर्नुपर्छ । चालक आफैँ यात्रु पनि हो । चालकबाहेकका यात्रुले गाडीमा यात्रा गर्दा झुन्डिएर यात्रा गर्नु हुँदैन । गाडीमा चढ्दा र झर्दा ख्याल गर्नुपर्छ । गाडीभित्र सिट पाइएन भनेर छतमा चढ्नु हुँदैन । गाडी एक किसिमको यन्त्र भएकाले यन्त्रसँग जथाभाबी अथवा जबर्जस्ती गर्न मिल्दैन । यन्त्रले दिमाग लगाउँदैन, दिमाग लगाउने मानिसले हो । त्यसैले मानिस आफैँले आफ्ना लागि सचेत हुनुपर्छ ।
छिटो गन्तव्य ठाउँमा पुग्न गाडीको गति बढाउन दाबाब दिने गर्दा पनि गाडी दुर्घटना भएको छ । सडक पेटीमा गाडी गुडाउँदा दुर्घटना भएको देखिन्छ । आफू हिँड्ने सडक रुटको बारेमा जानकारी लिएर यात्रा गर्ने लगायतका कुरामा यात्रुले सावधानी अपनाउनुपर्छ ।
गाडी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले चालेका कदम
गाडी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले सडक विभाग र यातायात विभागसँग छलफल तथा अन्तरक्रिया गरिरहेको हुन्छ । सडक बनिसकेपछि सडक चिह्न, सडकका दायँबायाँ किनारामा सूचनामूलक तथा चेतनावनी चिह्न, सडक छेउमा राखिने रेलिङ, गति कम गर्न बनाइने सानो ढिक (स्पीड ब्रेकर), जेब्रा क्रस राख्ने लगायतका विषयमा ट्राफिक प्रहरीले समन्वय गरिरहेको हुन्छ । गाडी चालक अनुमतिपत्रको अहिलेको प्रणालीमा एउटा लिखित र अर्को प्रयोगात्मक परीक्षा हुन्छ । प्रयोगात्मक परीक्षा एउटा निश्चित तोकिएको ढाँचामा हुन्छ । यही ढाँचाले मात्रै सडकमा गाडी गुडाउन सक्ने क्षमता परीक्षण गर्न पर्याप्त छैन । प्रयोगात्मकपछि पनि चालकलाई परीक्षणका लागि सडकमा लगेर गाडी चलाउन लगाउनुपर्छ । यस्ता विषयमा पनि अहिले ट्राफिक प्रहरीले छलफल गरिरहेको छ ।
यस्तै नागरिकलाई सडकमा यात्रा गर्दा अपनाउनुपर्ने सुरक्षाका बारेमा ट्राफिक प्रहरीले सचेतना गराइरहेको हुन्छ । समुदाय प्रहरी साझेदारीअन्तर्गत विद्यालय, क्याम्पस, चालक र परिचालकसँग अन्तरक्रियात्मक कार्यक्रम गर्ने काम प्रहरीले गरिरहेको छ ।
यसैगरी ट्राफिक प्रहरीले सडकको अवस्थाका बारेमा सूचना निकालेर वा सञ्चारमाध्यमको सहयोगमा जानकारी गराएको हुन्छ । सडक सुरक्षाकाबारे सिकाउँदा सिकाउँदै, जान्दाजान्दै पनि जसले नियम उलङ्घन गर्छ त्याे व्यक्ति कारबाहीको भागेदार हुन्छ । सार्वजनिक गाडीले रुटपरमिट नलिएमा पनि प्रहरीले कारबाही गर्छ । सडक क्षेत्र ट्राफिक प्रहरीको अधिकार क्षेत्रभित्र निकै कम छ । सडकमा ट्राफिक प्रहरी देखिने हुँदा नागरिकलाई सबै व्यवस्था प्रहरीले गरेको हुन्छ भन्ने लागेको पाइन्छ । कतिपयले ट्राफिक कारबाही गरेबापत सङ्कलन हुने रकम प्रहरीको गोजीमा जान्छ भनेको पनि सुनिन्छ । तर चिट काटेको पैसा ट्राफिक प्रहरीले एक रुपैयाँ पनि पाउँदैन, त्यो पैसा राजस्वमा जान्छ ।
ट्राफिक प्रहरीले राजस्व उठाएको होइन, नियम नमान्नेलाई कारबाही गरेको हो
सडकमा खटिएको ट्राफिक प्रहरीले गाडी जाँचबाट राजस्व उठाएको होइन । गाडी चलाउँदा नियम उलङ्घन गर्ने, जथाभाबी गर्ने र उच्छृङ्खल गतिविधि देखाउने मानिसलाई कारबाही स्वरूप जरिबाना गरेको हो । हरेक मानिसले आफ्नो थैली ठीकसँग राखेपछि चोरलाई दोष दिनु पर्दैन । गाडी चलाउने चालकले ढङ्गले गाडी चलायो भने दुर्घटनामा पर्दैन र ट्राफिक प्रहरीको जरिबानामा पनि पर्दैन । सडकमा गाडी चलाउँदा ट्राफिक नियमको पालना गर्ने कोही पनि मानिस जरिबानाको दायरामा पर्दैन ।
आफू ठीकसँग नहिँड्ने, सडक लेनको पालना नगर्ने, गाडी परिचय पत्र नबोक्ने अनि ट्राफिकको कारबाहीमा पर्दा रिसाएर जे पायो त्यही बोलेर हुँदैन । ठीकसँग गाडी चलायो भने कोही कसैसँग रिसाउनु पर्दैन, न घरका परिवारलाई आफू दुर्घटनामा परेर रुवाउनुपर्छ । नियम मानेर गाडी लगाउँदा कोही रोकिनु पर्दैन, ठोक्किनु पर्दैन र कसैको अगाडि रातो मुख लगाउन पनि पर्दैन भन्ने कुरा नागरिकले बुझ्न जरुरी छ ।
दिनमा लाखौं गाडी देशभर सडकमा गुडिरहेका हुन्छन् । सबै गाडी चलाउने चालक कारबाहीमा त पर्दैनन् । जो नियम मान्दैन, आफूलाई नियमभन्दा माथि ठान्दछ, जाँड–रक्सी खाएर गाडी चलाउँछ त्यस्ता व्यक्तिमात्र ट्राफिक नियम उलङ्घनको कारबाहीमा पर्ने हुन् ।
ट्राफिक प्रहरीले नियम उल्लङ्घन हुन सक्ने ठाउँमा जाँच गर्छ
ट्राफिक प्रहरीले नियम उल्लङ्घन हुन सक्ने सम्भावना भएका ठाउँमा गाडी जाँच गर्छ । केही मानिसलाई ट्राफिक प्रहरी सडकमा नबसिदिए हुन्थ्यो, मजाले लापर्बाहीपूर्वक हेलमेट नलगाई चलाउन पाए हुन्थ्यो भन्ने लाग्न सक्छ । त्यस्ता मानिसले अरू नियमसङ्गत हिँड्ने मानिसलाई पनि समस्या पारेका हुन्छन् । त्यसैले ट्राफिक प्रहरी सडकमा लापर्बाही तरिकाले गाडी चलाउनेलाई जाँच गर्न बस्ने हो । जो मानिस आफैँलाई ट्राफिक नियम उलङ्घन गरेको थाहा हुन्छ ती मानिसले भन्छन्, ‘ट्राफिक प्रहरी देखेँ, तर्सेर दुर्घटनामा परेँ ।’
नियम उल्लङ्घन गरेको छु भनेर थाहा पाएको मानिस ट्राफिक प्रहरी देख्नासाथ डराउँछ । तर डराएर भीरतिर हाम फाल्नुभन्दा, अर्को गाडीतर्फ ठक्कर खानुभन्दा ट्राफिक प्रहरीसँग गएर आफ्नो गल्ती स्वीकार गर्नु उपयुक्त होला । त्यसैले सबैले गाडी चलाउँदा ठीकसँग र नियमपूर्वक चालाउनुपर्छ । आफू र आफ्ना नजिकका मानिसलाई ट्राफिक नियमका बारेमा जानकारी गराउने हो भने हामी सबै सुरक्षित हुन्छौँ ।
(नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीसँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रहरी नायव नायब महानिरीक्षक (डीआईजी) कार्की नेपाल प्रहरीका प्रवक्ता एवम् सूचना अधिकारी हुनुहुन्छ ।