कान्ति लोकपथ सञ्चालनमा आएसँगै काठमाण्डौ आउजाउमा सहज

 असोज २३, २०८१ बुधबार ८:०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौलाई बाहिरी जिल्लासँग जोड्ने विभिन्न नाकामध्ये कान्ति लोकपथ खुलेको छ । लोकपथअन्तर्गत बाग्मती पुलको एउटा स्पान बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । पाइपमार्फत पानी डाइभर्ट गरेर पुल बगाएको खण्डमा माटो भरेर सडक सञ्चालनमा ल्याइएको हो ।

यस्तै त्रिभुवन राजपथ–नौबिसे सडकखण्ड, कुलेखानी–फाखेल–मातातीर्थ, कुलेखानी–फाखेल–फर्पिङ, कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्डहरु पनि अस्थायी रूपमा सञ्चालनमा आइसकेका छन् । अब काठमाण्डौ आउजाउका लागि यात्रुलाई केही सहज भएको छ । तर पूर्वलाई काठमाण्डौसँग जोड्ने बीपी राजमार्ग भने तत्काल खुलाउन समस्या छ ।

सडक विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले बीपी राजमार्ग पनि सकेसम्म छिटो नै सञ्चालनमा ल्याउने गरी काम थालिएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोशी खोलाको बाढीले दुई सय मिटर सडक बगाएपछि अवरुद्ध सडक अस्थायी रुपमा एकतर्फी सञ्चालन हुनेगरी निर्माण गरिएको छ ।

रोशी खोलाको बहावलाई सोझ्याएर खोला किनारमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी निर्माण गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको हो ।

गएको असोज ११ र १२ गतेसम्म निरन्तर परेको पानीका कारण अवरुद्ध र समस्या रहेका अन्य सडक खण्डलाई पनि सहज बनाउने प्रयास भइरहेको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्रिभुवन राजपथको नागढु्ङ्गा–नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन सडक खण्डमा यात्रा सहज छैन । पहिरो झर्नसक्ने र ढुङ्गा खस्न सक्ने जोखिम भएकाले यात्रामा सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह छ ।

यसैबीच पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ माईखोला छेउमा सडक पुनःनिर्माणपछि हिजो बेलुका ६ बजेदेखि सञ्चालनमा आएको छ । 
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया