बीपी राजमार्ग भोलिदेखि खुल्ने, पूर्वी नेपालबाट काठमाण्डौ आउजाउ गर्न सहज

 असोज २४, २०८१ बिहीबार १६:३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको बीपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ ।

यही असोजको १०, ११ र १२ गतेको बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटर भन्दा धेरै भाग बगाएको थियो । तर रातदिन र चाडपर्व नभनी काम भइरहेकाले भोलिदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले उज्यालोलाई जानकारी दिनुभएको छ ।

आज फूलपातीको दिन पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएका छन् । आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाउने उहाँको भनाइ छ । देशका अरु ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताउनुभयो ।

केही मेसिन भाडामा पनि लिइएको उहाँको भनाइ छ । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपालसँग जोड्न बीपी राजमार्ग निकै महत्त्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिनुभयो । आफू पनि आजसम्म तीन पटक यो सडकको अनुगमनमा गएको शर्माले बताउनुभयो ।

काठमाण्डौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुख पाएका छन् ।

अब भोलिदेखि नै सडक खुल्ने भएकाले टीका लगाउन जान सजिलो हुने र टीकापछि पूर्वी नेपालबाट साना गाडी बीपी राजमार्ग हुँदै काठमाण्डौ आउजाउ गर्न सक्ने सचिव शर्माले उज्यालोलाई जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: कात्तिक १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया