सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही अदालतमा लामिछानेको थुन...
माघ १०, २०८१ बिहिबार
काठमाण्डौ – पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाउनुभयो । बीबीसीले यो सूची मङ्गलवार सार्वजनिक गरे पनि त्यसबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो ।
नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । उहाँले भन्नुभयो, ‘मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।’
बाग्लुङकी आचार्यलाई नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी ‘अभनी भेन्चर्स’ नामको संस्था चलाएर सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीले विश्वभरबाट विभिन्न क्षेत्रमा उल्लेखनीय काम गरिरहेका सय प्रेरक र प्रभावशाली महिलाको सूची मङ्गलवार सार्वजनिक गरेको थियो ।
‘यसबाट नेपालले झेलिरहेको वातावरणीय समस्याको पहिचान र उजागर गर्न थप मद्दत पुग्नेछ ।’, उहाँले भन्नुभयो, ‘मानिसको कम प्राथमिकतामा परिरहेको वातावरणको मुद्दामा संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई प्रेरित गरेको छ ।’ कठिन परिस्थितिमा पनि विचलित नभई पर्यावरणको क्षेत्रमा आफूले गरेको कामको सम्मान भएकामा उहाँले खुशी व्यक्त गर्नुभयो । ‘यो उपलब्धि नेपालकै लागि गौरवको विषय हो, नेपालको पर्यावरणीय मुद्दालाई विश्वमञ्चमा स्थापित गर्न यसले सघाउ पुर्याउनेछ’, आचार्यले भन्नुभयो, ‘वातावरण संरक्षणका क्षेत्रमा नीतिगत सुधार गर्न सरकारलाई पनि सकारात्मक दबाब पुगेको छ ।’
चिकित्सा विषय अध्ययनका लागि छात्रवृत्तिमा नाम निक्ले पनि आचार्यले पछि वातावरण विज्ञान रोज्नुभएको थियो । काठमाण्डौ विश्वविद्यालयमा वातावरण विज्ञानमा स्नातकसम्म पढ्नुभएकी आचार्यले नर्वेबाट ‘बायो–डाइभर्सिटी इन्भाइरोमेन्ट साइन्स’ मा स्नातकोत्तर गर्नुभएको थियो । स्नातकोत्तर अध्ययनका लागि उहाँले नेपाल र नर्बेजियन सरकारबाट छात्रवृत्ति पाउनुभएको थियो ।
स्नातकोत्तर सकेर नेपाल फर्केपछि उहाँले फोहरमैला व्यवस्थापनमा काम शुरू गर्नुभएको थियो । प्लास्टिक झोलाको प्रयोगलाई निरूत्साहित गर्न आचार्यले सन् २०१४ मा ‘धन्यवाद ! म आफैँ झोला बोक्छु’ अभियानको नेतृत्व गर्नुभएको थियो ।
पर्यावरण अभियन्ताका रूपमा उहाँले नेपालका धेरै ठाउँमा काम गरिसक्नुभएको छ । आचार्यले केही वर्षअघि स्थापना गर्नुभएको ‘अभनी भेन्चर्स’ ले महिला र सीमान्तकृत समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको छ ।
फोहरको पुनःप्रयोगमार्फत उद्यमशीलता र दिगो विकासमा काम गर्दै आउनुभएकी आचार्यले जलवायु परिवर्तनको असर न्यूनीकरणमा नीतिगत तहमै रहेर काम गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।
‘फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरूसँग मिलेर नमूनायोग्न काम गर्ने योजना छ’, उहाँले भन्नुभयो, ‘पर्यावरण उद्यममार्फत महिला र सीमान्तकृत समुदायलाई आयआर्जनसँग जोड्ने अभियान पनि निरन्तर चलिरहन्छ ।’ उहाँले फोहरमुक्त समाज र देश निर्माणको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो ।
हरेक घरबाटै फोहर व्यवस्थापनको काम शुरू गर्नुपर्ने भन्दै पर्यावरण जोगाउन सबैले हातेमालो गर्नुपर्ने आचार्यको भनाइ छ । उहाँ ‘अभनी भेन्जर्स’को सह–संस्थापक र निर्देशक हुनुहुन्छ । पर्यावरण उद्यमी आचार्य हिमालहरूलाई प्रदुषणमुक्त बनाउने अभियानसमेत सक्रिय रहँदै आउनुभएको छ ।
आगाामी दिनमा हिमाल र पानीका स्रोत संरक्षणको मुद्दामा केन्द्रित भएर काम गर्ने सोच बनाएको उहाँको भनाइ छ । आचार्यले आरोहीहरूले हिमालमा छाडेको फोहर सङ्कलन गरी त्यसको प्रशोधनमार्फत विभिन्न सामग्री उत्पादन गरी आदिवासी महिलालाई उद्यमशीलतासँग जोड्नु भएको थियो ।
सरकारले देशभर रहेको प्लास्टिकको मात्रा र व्यवस्थापनबारे गरिरहेको अध्ययनमासमेत आचार्य नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । आचार्यले प्लास्टिकमुक्त अभियानलाई निरन्तरता दिने जनाउनुभयो ।
उहाँ नेपाल खबरले गत वर्ष सार्वजनिक गरेको नेपालका ५० प्रभावशाली महिलाको सूचीमा समेत पर्नुभएको थियो । हिमाल सफाइ अभियानमा पुर्याएको योगदानबापत नेपाली सेनाबाट पनि उहाँ सम्मानित भइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।