४ महिनामा भित्रियाे ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स

 मंसिर २७, २०८१ बिहीबार १७:२२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्वीर

काठमाण्डाै – चालू आर्थिक वर्षको चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको चार महिनाको तुलनामा रेमिट्यान्स ९ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यस्तै अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ ।

चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४७ हजार चार सय ७८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ९४ हजार एक सय पाँच जना रहेको छ ।

गएको वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३७ हजार चार सय ७५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ६८ हजार आठ सय ४१ जना रहेको थियो ।

यसैबीच कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि पाँच दशमलव ६० प्रतिशत रहेको छ । अघिल्लो वर्ष कात्तिकमा यस्तो मुद्रास्फीति पाँच दशमलव ३८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति नाै दशमलव १० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष यही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ९८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको चार दशमलव ९९ प्रतिशत रहेको थियो ।

यस्तै चार महिनामा देशकाे विदेशी मुद्रा सञ्चिति साढे १० प्रतिशतले बढेर २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गएकाे असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया