सगरमाथा संवादः शहरीकरणको प्रमुख समस्या वायु प्रदूषण

 जेठ ३, २०८२ शनिबार १६:५०:२६ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – सरोकारवालाहरुले पछिल्लो समय बढ्दै गइरहेको शहरीकरणसँगै वायु प्रदूषण प्रमुख समस्या रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । हिजाेदेखि शुरु भएको सगरमाथा संवादको आज दोस्रो दिन ‘दिगो शहरहरु र समुदायहरु’ विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनसँग थपिएको वायु प्रदूषण शहरको ठूलो समस्या बनेको र यसले विशेषगरी बालबालिका तथा वृद्धहरुको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेको भन्दै चिन्ता जनाउनुभएको हो ।

सत्रका वक्ताहरुले जलवायुजन्य विपद्का कारण शहरहरु असुरक्षित रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गत असोजमा भएको ठूलाे वर्षाका कारण काठमाण्डौ उपत्यकामा अकल्पनीय विपद्का घटना भएको भन्दै यसले अनुकूलनको पाठ सिकाएको बताउनुभयो ।

काठमाण्डौ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले पनि पछिल्लो समयमा जलवायु परिवर्तनले नसोचिएको विपद् निम्त्याएको भन्दै अब समयमा नै सचेत हुनुका साथै जलवायु न्यायका लागि आवाज बुलन्द बनाउनुपर्नेमा जोड दिनुभयो । शहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले नयाँ शहर विकास गर्दा विपदमैत्री शहर बनाउनुपर्ने र यसका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

ग्लोबल ग्रीन ग्रोथ सेन्टरका मुख्य सल्लाहकार डा. बिन्धुनाथ लोहनीले विश्वको तापमान वृद्धि दुई डिग्री सेल्सियसमा कायम राख्नुपर्ने र यसो गर्न नसकेमा शहरहरुले जलवायुजन्य चर्को समस्या भोग्नुपर्ने बताउनुभयो । शहरी योजना बनाउँदा जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिनका लागि उहाँले आग्रह गर्नुभयो ।

एग्रो फाउन्डेसन भारतका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक निर्देशक चरण सिंहले शहरी योजनामा हरित हाइड्रोजन, बायोमासलाई ऊर्जा र विपदमैत्री पूर्वाधारका योजना समावेश गर्न जरुरी रहेकामा जोड दिनुभयो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सत्रको सहजीकरण गर्नुभएको थियो । 

अन्तिम अपडेट: जेठ ३०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया