हेटाैँडा उपमहानगर : कर्मचारीकाे तलबमै सकियाे नागरिकले तिरकाे कर

 जेठ २८, २०८२ बुधबार १२:२४:१५ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकामा राजस्व सङ्कट देखिएको छ । हरेक वर्ष असारको नगरसभाबाट नागरिकले तिर्ने कर रकम वृद्धि गर्दा पनि अवैधानिक तरिकाले नियुक्त गरेका करार र ज्यालादारीका कर्मचारीलाई तलब खुवाउन पनि अपुग भएको छ । नागरिकले तिरेको कर रकमबाट विकास होइन, तलबमै सकिएको छ । र अझै अपुग भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भएअनुसार हेर्ने हो भने हेटौँडाका १९ वटा वडा कार्यालयबाट विभिन्न शीर्षकमा ७ करोड ७७ लाख ६५ हजार रुपैयाँ कर सङ्कलन भएको छ । तर विभिन्न बहानामा नियुक्त गरिएका २ सय ६७ जना करार र ज्यालादारी कर्मचारीको तलबमै ८ करोड १६ लाख रुपैयाँ खर्च गरिएको उल्लेख छ ।

हेटौँडा उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी कर्मचारी नियुक्ति, करार प्रणालीको दुरुपयोग र कानून विपरीत महँगी, स्थानीय तथा प्रोत्साहन भत्ता वितरण भएको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाको पछिल्लो तथ्याङ्क अनुसार उपमहानगरको सबै क्षेत्रबाट उठ्ने कुल आन्तरिक राजस्वको झन्डै ७० प्रतिशत हिस्सा कर्मचारीको पारिश्रमिक र भत्तामा खर्च भएको छ ।

सामान्य प्रशासन मन्त्रालयबाट २०७५ सालमा स्वीकृत दरबन्दी २ सय ३१ रहेकोमा त्यसपछिका सर्वेक्षणहरूबाट दरबन्दी क्रमशः ५ सय ५० र अहिले ७ सय ४५ जनामा पुर्‍याइएको छ । तर महालेखाको प्रतिवेदन अनुसार स्थायी २ सय ८७ र करार तथा ज्यालादारी २ सय ६७ गरी जम्मा ५ सय ५४ जना कर्मचारी कार्यरत देखिन्छन् ।

करार र ज्यालादारीका कर्मचारी धेरै हुँदा ठूलो राजस्व रकम खर्च भएको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीलाई पनि लागेको हो । यतिका धेरै करारका कर्मचारी हुँदा राजस्व रकमले समस्या भोग्नुपरेको छ । अब यसलाई हामी नियन्त्रण गर्दै जानेछौँ ।’ महालेखा परीक्षकको कार्यालयले दिएको सुझावलाई कार्यान्वयन गरेर लैजाने उहाँकाे भनाइ छ ।

आयभन्दा बढी खर्च

उपमहानगरपालिकाको चालू आर्थिक वर्ष २०८०/८१ को विवरण अनुसार कुल २४ करोड ५ लाख ७० हजार रुपैयाँ कर्मचारीकाे पारिश्रमिकमा खर्च भएको छ । यसमध्ये करार तथा ज्यालादारी कर्मचारीका लागि मात्रै ८ करोड १६ लाख खर्च भएको छ, याे रकम वडाबाट सङ्कलित कुल राजस्व ७ करोड ७७ लाख ६५ हजार रुपैयाँभन्दा धेरै हाे ।

महँगी भत्तामा कानूनको अवहेलना

अर्थ मन्त्रालयको स्पष्ट निर्देशन अनुसार करारका कर्मचारीलाई महँगी भत्ता दिन नपाइने व्यवस्था रहे पनि उपमहानगरले १ सय ५० जना करार कर्मचारीलाई प्रतिमहिना २ हजारका दरले ३६ लाख रुपैयाँ वितरण गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यद्यपि पालिकाले पछिल्लो समय सम्झौताबाट याे भत्ता हटाइसकेको बताएको छ ।

स्थानीय भत्ता वितरणमा पनि त्रुटि

नेपाल सरकारद्वारा जारी वर्गीकरण अनुसार मकवानपुर जिल्ला ‘ङ’ श्रेणीमा पर्ने भएकाले स्थानीय भत्ता दिन नमिल्ने भए पनि उपमहानगरले स्थायी र करार गरी ४ सय ६० जना कर्मचारीलाई मासिक तलबको १० प्रतिशतको दरले १ करोड ३२ लाख रुपैयाँभन्दा धेरै वितरण गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । यस विषयमा हरेक वर्ष महालेखाले प्रश्न उठाएको छ तर कार्यान्वयन भएको छैन ।

अवैधानिक नियुक्ति र प्रोत्साहन भत्ता

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विशेष सेवाका केही पदबाहेक अन्य पदमा करार नियुक्ति गर्न नपाइने व्यवस्था रहे पनि उपमहानगरले अधिकृतस्तरका ४ र सहायकस्तरका ४३ गरी ४७ जना कर्मचारीलाई करारमा नियुक्त गरेको छ । यसरी २ करोड १९ लाख ९६ हजार रुपैयाँ तलबमा खर्च भएको महालेखाले जनाएको छ ।

त्यसैगरी कार्यसम्पादन सूचक वा प्रमाणीकरण नहुँदै प्रोत्साहन भत्ताका रूपमा मासिक ५ हजार रुपैयाँका दरले १० जना कर्मचारीलाई रकम प्रदान गरिएको छ । यस क्रममा १ लाख ८ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

दरबन्दीबाहिर पनि नियुक्ति

हेटौँडा उपमहानगरपालिकाले दरबन्दीबाहिर १२ जना स्थायी र २३ जना दैनिक ज्यालादारी कर्मचारी नियुक्त गरी १ करोड १८ लाख ५२ हजार रुपैयाँ तलब भत्ताका रूपमा भुक्तानी गरेको छ । यो कार्य स्पष्ट रूपमा प्रशासनिक कार्यविधि र कानूनी प्रक्रिया विपरीत रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

जवाफदेहिताको माग

सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र विधिसम्मत कार्यान्वयनको अपेक्षा गरिँदै आएको अवस्थामा हेटौँडा उपमहानगरपालिकाबाट यस्ता कार्य हुनु गम्भीर चिन्ताको विषय भएको उपमहानगरवासीहरू बताउँछन् । नियम, ऐन, र निर्देशनको उपेक्षा गरेर गरिएका नियुक्ति र भत्ता वितरणले पालिकाको आर्थिक अनुशासनमाथि प्रश्न उठाएको छ । यसले दीर्घकालमा सेवा प्रवाहमै असर पुर्‍याउने उपमहानगरका कर्मचारीहरू नै बताउँछन् ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया