पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब विश्वकपको फाइनलमा
असार २६, २०८२ बिहिबार
मनोज दाहाल
नेपाली चलचित्र उद्योग फेरि एकपटक इतिहास र वर्तमानको सङ्गम बन्दैछ । दशैँको फूलपातीमा दुई चर्चित नामहरू– ‘माइतीघर’ र ‘बलिदान’ नयाँ स्वरूपमा रङ्गमञ्चमा उत्रने तयारीमा छन् । विगतका कालजयी नामलाई आधुनिक कथा र नयाँ कलाकारहरूको प्रस्तुतिमा पुनः जीवन दिने साहसी प्रयत्नले दर्शकहरूमाझ गहिरो कौतुहलता र उत्सुकता जागृत गराउँदैछ ।
चलचित्रघरमा एउटै मितिमा प्रदर्शनमा आउन लागेका यी दुई चलचित्रले सिने क्षेत्रमा अनौठो तर रोमाञ्चक प्रतिस्पर्धा जन्माएको छ । यद्यपि त्यही मितिमा अन्य केही चलचित्रहरू पनि प्रदर्शनमा आउने तयारीमा छन्, दर्शकको ध्यान भने यतिखेर ‘माइतीघर’ र ‘बलिदान’ माथि नै केन्द्रित देखिन्छ ।
‘हामीले कन्टेन्ट राम्रो दिने हो । हामीलाई हाम्रो कन्टेन्टप्रति विश्वास छ । तर हामीलाई राम्रो लागेको कुरा दर्शकलाई राम्रो लाग्छ नै भन्ने हुँदैन । राम्रो रहेछ भने दर्शकलाई चलचित्र हेर्नबाट जति चलचित्रसँगै आए पनि फरक पर्दैन,’ चलचित्र ‘माइतीघर’ का निर्माता रोहित अधिकारी भन्नुहुन्छ ।
दशैँको फूलपातीमा जति वटा चलचित्र प्रदर्शनमा आए पनि, जति शो पाए पनि, आफू अघि पछि नहुने निर्माता अधिकारीले बताउँदै आउनुभएकाे छ ।
यता निर्माता तथा निर्देशक सन्तोष सेनको कुरा पनि उस्तै छ । ‘फूलपातीमा प्रदर्शन गर्नेगरी प्रचारप्रसार धेरै अघि बढिसकेको छ । अब प्रदर्शन मिति सार्ने विषयमा सोच्न सकिँदैन । पहिलेका आफ्ना सफल चलचित्र र समीर भट्टको फ्यान फलोइङका कारण पनि बलिदान युनिट उत्साहित छ’, निर्माता सेनले भन्नुभयो ।
‘माइतीघर’ सम्वेदनाका पानाहरूमा नयाँ स्पर्श
नेपाली चलचित्र इतिहासमा ‘माइतीघर’ को विशेष स्थान छ । २०२२ सालमा असोजमा छायाङ्कन शुरू भई २०२३ साल पुस १ गते मङ्गलवार प्रदर्शनमा आएको यस चलचित्रले नेपाली निजी क्षेत्रबाट निर्मित पहिलो कथानक चलचित्रको पहिचान बनाएको थियो । बीएस थापा (भीमसिंह थापा) द्वारा निर्देशित यस चलचित्रले तत्कालीन सामाजिक परिवेशलाई मर्मस्पर्शी ढङ्गले उतारे पनि व्यावसायिक सफलताको स्वाद चाख्न सकेन । तर चलचित्रमा समावेश कालजयी गीतहरू भने आजसम्म पनि जनमानसमा जीवित छन् ।
चलचित्रमा माला सिन्हा, सीपी लोहनी, टीकाभूषण दत्त, केशव राणा, केबी लामिछाने, राजेन्द्र थापाजस्ता कलाकारको अभिनय रहेको थियो ।
यही ऐतिहासिक विरासतलाई रोहित अधिकारी फिल्म्सले पुनः जिउँदो पार्ने प्रयास गर्दैछ । मिलन तामाङको निर्देशनमा निर्माण भइरहेको नयाँ ‘माइतीघर’ मा अभिनेता धीरज मगर, केदार घिमिरे, प्रकाश सपुत, बुद्धि तामाङ, उपासना सिंह ठकुरी, श्यामा शेर्पालगायत चर्चित र नवोदित कलाकारहरूको समावेश छ । पुरानो चलचित्रको शीर्ष गीतलाई समेत समेटेको यो चलचित्रले नयाँ पुस्तालाई पुरानो कथावस्तुसँग भावनात्मक सम्बन्ध गाँस्ने प्रयास गरेको छ ।
‘बलिदान’ नयाँ स्वर, नयाँ दृष्टिकोणमा राष्ट्रियता र विद्रोहको गाथा
सन् १९९७ अर्थात् २०५३ सालको चैत २८ गते प्रदर्शनमा आएको ‘बलिदान’ नेपाली चलचित्रको इतिहासमा एउटा माइलका ढुङ्गा हो । निर्देशक तुलसी घिमिरेको कुशल निर्देशनमा निर्मित चलचित्रमा समाज परिवर्तनको सङ्घर्ष, विद्रोह र बलिदानको कथा मार्मिक ढङ्गले प्रस्तुत गरिएको थियो । ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ जस्ता क्रान्तिकारी गीतहरूले आज पनि जनचेतनाको झङ्कार बनिरहेकै छन् ।
चलचित्रमा शान्ति मास्के, नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सुनील पोखरेल, केशव भट्टराई, रामकृष्ण बजगाईं, मोनिका लामाजस्ता कलाकारहरूले अविस्मरणीय अभिनय प्रस्तुत गरेका थिए ।
अब त्यही नाममा सन्तोष सेनको निर्माण र निर्देशनमा नयाँ ‘बलिदान’ निर्माण भइरहेको छ । समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय रहने अपेक्षा गरिएको छ । अहिले चलचित्रको सम्पादन कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । कथा नयाँ भए पनि नाम पुरानो, यही तत्त्वले दर्शकहरूलाई भावनात्मक रूपमा बाँध्ने प्रयास स्पष्ट देखिन्छ ।
दशैँको फूलपाती चलचित्रको प्रतिस्पर्धा कि दर्शकलाई दोहोरो उत्सव
युग परिवर्तनसँगै दर्शकको दृष्टिकोण पनि परिवर्तन हुँदै गएको छ । अब दर्शक केवल कथावस्तु होइन, त्यसमा लगाइएको परिश्रम, प्रस्तुतिको शैली, भावनाको गहिराइ र प्रविधिको प्रयोगलाई पनि सूक्ष्म रूपमा हेर्ने अवस्थामा पुगेका छन् । माइतीघर र बलिदान दुवै चलचित्र यस्ता नाम हुन् जसले नेपाली चलचित्रलाई आफ्नो मौलिकताको गन्ध दिएको थियो । अब यही नाम पुनः प्रयोग भएर नयाँ कथा, पात्र र सन्देश लिएर दर्शकमाझ आउँदा त्यसको प्रभाव गहिरो हुनेमा शङ्का छैन ।
यस्तोमा एउटै प्रदर्शन मिति–दशैँको फूलपातीले यी दुई चलचित्रलाई सीधा प्रतिस्पर्धाको मोडमा ल्याइदिएको छ । दर्शकका लागि भने यो अवसर ‘दुई स्वर्णिम नामहरूको पुनर्जन्म’ सँग प्रत्यक्ष साक्षात्कारको हो ।
चलचित्रका नामहरू केवल चिनारी मात्र होइनन्, ती देश, समय, समाज र चेतनासँग गाँसिएका कथाहरू हुन् । ‘माइतीघर’ र ‘बलिदान’ जस्ता नामहरूले दर्शकको स्मृतिमा जुन स्थान ओगटेका छन्, त्यो इतिहासमा लेखिएको छ । अब ती नामहरू नयाँ पात्र, नयाँ परिवेश र नयाँ सन्देश लिएर पर्दामा आउँदैछन् । दशैँको चाड अब चलचित्र प्रेमीहरूका लागि दोहोरो उत्सव सावित हुन सक्ने सम्भावना बलियो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।