दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
काठमाण्डाै – १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डको दोस्रो दिन आज एथ्लेटिक्समा ४ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् । आज छात्र ज्याभ्लिन थ्रो, छात्रा ८ सय मिटर दौड र छात्र/छात्राको ४ गुणा ४ सय मिटर रिलेमा कीर्तिमान बन्यो ।
पहिलो दिन हिजो २ कीर्तिमान बनेका थिए । हिजो बागमती प्रदेशका प्रवीण राना मगरले छात्र १ सय मिटर दौड तथा सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले छात्रा ४ सय मिटर दौडमा कीर्तिमान बनाएका थिए ।
दोस्रो दिनको खेल सकिँदा एथ्लेटिक्समा कुल ६ कीर्तिमान बनिसकेका छन् । तेस्रो तथा अन्तिम दिन भोलि ८ स्वर्णको टुङ्गो लाग्ने छ । पहिलो दिन १० र दोस्रो दिन ८ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनी प्रदेशका राहुल थारुले २७ वर्षअघिको कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमान रचे । उनले ५७ दशमलव ४० मिटर थ्रो गर्दै २०५५ सालमा धीरेन्द्रजङ्ग शाहले बनाएको ५५ दशमलव ५० मिटरको कीर्तिमान भङ्ग गरेका हुन् । कर्णाली प्रदशेका सुशान्त नेपाली दोस्रो र सुदूरपश्चिमका लोकेश एडी तेस्रो भए ।
छात्रा ८ सय मिटर दौड २ मिनेट १७ दशमलव ९ सेकेन्डमा तय गर्दै गण्डकी प्रदेशकी नारायणी भण्डारीले कीर्तिमान बनाइन् । नारायणीले २०८१ सालमा सरिता खड्काले बनाएको २ मिनेट २८ दशमलव ५ सेकेन्डको कीर्तिमान तोडिन् । बागमती प्रदेशकी भगवती खड्का दोस्रो र सुदूरपश्चिमकी सङ्गीता विक तेस्रो भए ।
छात्र ४ गुणा ४ सय मिटर रिलेमा बागमतीका प्रवीन राना मगर, निरज थारु, हस्त सुनार र शन्तबहादुर दराईको टोलीले कीर्तिमानी स्वर्ण जिते । यो टोलीले निर्धारित दुरी ३ मिनेट ३० दशमलव ९ सेकेन्डमा तय गरे । यसअघि २०८० सालमा चन्द्र बोहरा, अमित, कविर विक र सुक्वीरको टोलीको नाममा ३ मिनेट ३१ दशमलव ० सेकेन्डको कीर्तिमान थियो । गण्डकीको टोली दोस्रो र लुम्बिनीको टोली तेस्रो बने ।
यही स्पर्धाको छात्रामा बागमतीकै दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेल सम्मिलित टोलीले कीर्तिमान बनाए । यो टोलीले निर्धारित दुरी तय गर्न ४ मिनेट १२ दशमलव ८ सेकेन्ड लगाए । यसअघि २०८१ सालमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राणाले ४ मिनेट १७ दशमलव २ सेकेन्डको कीर्तिमान बनाएका थिए । सुदूरपश्चिम दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे ।
छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमकी पूजा साउदले स्वर्ण जितिन् । पूजाले ३० दशमलव ३२ मिटर थ्रो गरिन् । कोशीकी उर्मिला राईले रजत र बागमतीकी सिर्जना श्रेष्ठले कांस्य जिते । छात्र ८ सय मिटर दौडमा सुदूरपश्चिमका विक्रम विष्टले शीर्ष स्थान हात पारे । उनले २ मिनेट ०२ दशमलव ७ सेकेन्डमा निर्धारित दूरी पार गरे । कर्णालीका धीरेन्द्र विक दोस्रो र लुम्बिनीका आयुश थारु तेस्रो भए ।
छात्र लङजम्पमा गण्डकीका प्रदीप महतोले ६ दशमलव ६९ मिटर जम्प गर्दै पहिलो भए । सुदूरपश्चिमका विवेक चौधरी दोस्रो र बागमतीका दीपेन्द्र गिरी तेस्रो भए ।
यही स्पर्धाको छात्रामा बागमतीकी अनिशा थारुले स्वर्ण जितिन् । अनिशाले ५ दशमलव १८ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी पवित्रा चौधरीले रजत र सुदूरपश्चिमकै रेनुका ऐरले कांस्य जिते ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।