नेपालमा एमसीसी निरन्तर रहने अमेरिकी दूतावासको सङ्केत

 असार ५, २०८२ बिहीबार ७:३५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डौ – नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदानमा सञ्चालन भइरहेको परियोजनाले निरन्तरता पाउने सम्भावना देखिएको छ ।

एमसीसी सहयोगका विषयमा नेपालमा रहेको अमेरिकी दूतावासले हिजो निकालेको विज्ञप्तिमा एमसीसीले निरन्तरता पाउने भनेर प्रष्ट नभने पनि सकारात्मक सङ्केत भने गरेको छ ।

‘एमसीसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसीए–नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्टअन्तर्गत गरिएका वा शुरु गर्न लागिएका गतिविधिहरू (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको छ,’ दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

चार महिनाअघि अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने रोकमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसिसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिएको र यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको अमेरिकी दूतावासले जनाएको छ ।

एमसीसी र नेपालमा रहेको अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य तथा संवाद गर्दै यस समीक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत रहेको दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली नागरिकको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवर्द्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको दूतावासले जनाएको छ ।

अमेरिकी अनुदान अन्तर्गत नेपालमा प्रसारणलाइन र सडकमा लगानी रहेको छ । 
 

 

 

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया