दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
कञ्चनपुर – भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरसको जोखिम कायमै रहेको छ ।
पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट हिजो फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ ।
सीमा नाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो । भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या रहेको र एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताउनुभयो ।
नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा मात्रै पोजेटिभ देखिएको हो ।
भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले मास्क तथा स्यानिटाइजरको प्रयोगसँगै स्वास्थ्यसम्बन्धीका सावधानी अपनाउन डाक्टरको सुझाव छ ।
समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन कोरोनाको सङ्क्रमणमा परेका व्यक्तिहरुले क्वारेन्टिन वा होमआइसुलेसनमा इमान्दारिपूर्वक बस्न महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टको सुझाव छ ।
भारतसँग सीमा जोडिएका प्रदेशका पाँचवटा क्षेत्रमा ‘हेल्थ डेस्क’ मार्फत शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमा नाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको काम गर्दै आएका छन् ।
गएको जेठ २१ देखि हिजोसम्म सीमानाका हुँदै फर्केका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ जना निको भएका छन् भने अझै सात जना होम आइसुलेसनमा बसेर उपचार गरिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।