दैलेखकाे जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि

 असार ५, २०८२ बिहीबार १३:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – दैलेखको जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भएको पत्ता लागेको खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले जानकारी दिनुभयो ।

तर यो परिमाण दैलेखका ४ वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी ३ कुइँकानको प्रारम्भिक अनुमान अनुसार जलजले क्षेत्रमै कुल ४ सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले झन्डै ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्नसक्ने सम्भावना देखिएको छ ।

चिनियाँ कम्पनीले प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको र अन्तिम प्रतिवेदन आउँदो डिसेम्बरमा दिने बताएको नापितले बताउनुभयो । २०७८ साल वैशाख २८ गतेदेखि शुरू भएकाे पहिलो ड्रिलिङ कार्य ४ हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमूनाको परीक्षणमा मिथेन ग्यासको भण्डारणबारे थाहा भएको हो । यो नेपालमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न भएको अन्वेषण परियोजना हो ।

नापितका अनुसार ग्यासको गुणस्तर, व्यावसायिक उत्पादनको सम्भाव्यता र आर्थिक लाभांशका विषयमा विस्तृत परीक्षण भइरहेको छ । चिनियाँ कम्पनीले अन्तिम प्रतिवेदन दिएपछि व्यावसायिक उत्पादन परीक्षण शुरू गर्ने योजना रहेको विभागले जनाएको छ ।

मिथेन ग्यास पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । दैलेखका विभिन्न ठाउँहरूमा आगोको ज्वाला बल्ने गरेको छ । स्थानीय बासिन्दाले दैवी शक्ति भन्दै पूजा गर्दै आएकामा वैज्ञानिक अध्ययनबाट मिथेन ग्यास भएको पुष्टि भएको हो ।

अन्तिम अपडेट: साउन १, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया