कम्बोडियाका पूर्वनेतासँगको फोन वार्ता 'लिक' भएपछि थाई प्रधानमन्त्री सङ्कटमा

 असार ५, २०८२ बिहीबार १८:२०:५८ | एजेन्सी
unn.prixa.net

तस्वीर : एपी

कम्बोडियाका पूर्वनेता हुन सेनसँगको फोन वार्ता चुहावट भएपछि थाइल्यान्डकी प्रधानमन्त्री पेतोङतार्न शिनावात्रा सङ्कटमा पर्नुभएको छ । कम्बोडियाका पूर्वनेता सेनसँग गरेको सीमा विवादबारेको कुराकानी सार्वजनिक भएपछि शिनावात्रा नेतृत्वको गठबन्धन सरकार पतनको सङ्घारमा पुगेको बीबीसीले जनाएको छ ।

फोन वार्ता चुहावटका कारण नागरिकमा आक्रोश बढेपछि ३८ वर्षीया प्रधानमन्त्री शिनावात्राको पिउ थाई पार्टीको प्रमुख गठबन्धन साझेदारले राजीनामा दिने घोषणा गरेका छन् । उहाँले थाई सेनाको उत्तरपूर्वी कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा उल्लेख गरेको र हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको कुराकानीले नागरिकमा आक्रोश निम्तिएको खबरमा उल्लेख छ । थाई प्रधानमन्त्रीले कम्बोडियाली नेतासँगको आफ्नो कुराकानी चुहावट भएकोमा माफी माग्नुभएको छ ।

यसैबीच पेतोङतार्नको गठबन्धन सरकारमा दोस्रो ठूलो दल भुमजाइथाईले गठबन्धन छाडेपछि पिउ थाई पार्टीलाई ठूलो धक्का पुगेको छ । पेतोङतार्नको गठबन्धनसँग अहिले झिनो बहुमत छ । गठबन्धनका थप साझेदारले सरकार छोड्ने निर्णय लिए उहाँले बहुमत गुमाउने सम्भावना छ । अन्य दुई गठबन्धन साझेदारले यस विषयमा छलफल गर्ने बताएका खबरमा उल्लेख छ ।

आलोचकहरूले थाई प्रधानमन्त्रीले हुन सेनलाई काका भनेर सम्बोधन गर्नु र उहाँको माग पूरा गर्ने वाचा गर्नु आपत्तिजनक रहेको बताएका छन् । उनीहरूले पेतोङतार्नले राजनीतिक रूपमा देशको प्रभावशाली सेनालाई कमजोर पार्न खोजेको आरोप लगाएका छन् । हुन सेनले अडियो क्लिप ८० नेतालाई दिएको र तीमध्ये एक जनाले चुहाएको बताउनुभएको छ ।

अन्तिम अपडेट: असार २५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया