दिउँसो कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठ...
असार २६, २०८२ बिहिबार
काठमाण्डौ – नारायणगढ–बुटवल सडकको नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दाउन्ने–दुम्कीवास विनयी खोला खण्डमा रातमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निर्माणाधीन सडकको दुम्कीवास विनयी खोला क्षेत्रमा आजदेखि अर्को सूचना नआउन्जेलसम्मका लागि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका गाडी चलाउन रोक लगाउने निर्णय गरेको र त्यसै अनुसार आजदेखि कार्यान्वयन गरिने सडक आयोजना निर्देशनालयले सूचना निकालेर जानकारी दिएको छ ।
विनयी खोलामा छिट्टै नयाँ पुल सञ्चालनमा ल्याउने र दाउन्ने क्षेत्रमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेको आयोजनाले जनाएको छ । यो खण्डमा यसअघि नै ठूला तथा मालवाहक गाडी चलाउन रोक लगाइएको छ ।
सडक बन्द हुँदा सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ । दुम्कीवासमा विकल्पको रूपमा साना गाडीले होङ्सी सिमेन्ट गेट हुँदै सर्दीबाट दुम्कीवास बजार निस्कने सडक प्रयोग गर्न सक्छन् ।
विनयी खोलामा डाइभर्सन निर्माण नगरिने भएको छ । पानी पर्ने बित्तिकै खोलामा बाढी आउने र डाइभर्सन बगाउने समस्या छ ।
गएको पुस अन्तिम हप्ता दुम्कीवास पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो ।
अस्ति बिहीवार राति विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै खोलाले बगाएपछि अब डाइभर्सन निर्माण नगर्ने निर्णय भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार विनयी खोलामा अब नयाँ बन्दै गरेको पुललाई नै छिटो सञ्चालन गर्ने निर्णय भएको छ । रातिको समयमा ठूला साना कुनै पनि गाडी यो खण्डमा चलाउन नसकिने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । दाउन्ने सडक मर्मत र विनयी खोलामा पुल सञ्चालनपछि मात्रै पूर्ववत् रूपमा गाडी चलाउन सकिने उहाँको भनाइ छ ।
देशकै प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्गको यो क्षेत्र अहिले जोखिमपूर्ण र अस्तव्यस्त हुँदा यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।
२०७५ देखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने/दुम्कीवासमा बर्खा लागेसँगै समस्या थपिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।