‘राष्ट्रिय जलवायु सम्मेलन २०७५’ राष्ट्रपतिबाट उद्घाटन

 पुस १६, २०७५ सोमबार १३:३५:४२ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – ‘राष्ट्रिय जलवायु सम्मेलन २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा पर्ने गुफाडाँडामा भएको सम्मेलनमा ७७ ओटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, विषय विज्ञहरुको सहभागिता रहेको छ । जिल्लाका १२ वटा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले पनि कार्यक्रममा सहभागिता जनाएका छन् ।

समुद्री सतहबाट २ हजार ५ सय मिटर उचाइमा रहेको स्थानमा सम्मेलन भैरहेको छ । पश्चिम र दक्षिणतिर जुगल हिमशृंखला टल्केको देख्न सकिन्छ । हिउँ भरिँदै गरेका हिमशृंखलाका दोर्जे लाक्पा, थाङपालछ्यो, जुगल र लाङटाङ टाकुरा झन् खुल्दै गएका छन् ।

सँधैजसो सिरेटो चल्ने गुफाडाँडामा भेला भएर  ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुख दुई दिनसम्म जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरका बारेमा छलफलमा जुट्दै छन् । 

सम्मेलनमा भाग लिन टोलीसहित सबै जिल्लाका प्रमुख, उपप्रमुखलगायत सहभागीहरु मेलम्ची खानेपानीको मुहानको अवलोकन गरेर गुफाडाँडा आइपुगेका हुन् । यहाँ जलवायु परिवर्तनको असर झल्कने मानव ‘स्ट्याचु’ बनाइएको छ । सम्मेलन स्थलमा मान्छेले पृथ्वी उचालेको मूर्ति हिमालतिर फर्केको छ । आयोजकका अनुसार मूर्तिको सन्देश हुन्छ, ‘मान्छेले नै मिलेर पृथ्वी बचाउने हो । अन्यथा पृथ्वीले नै मान्छेलाई थिच्छ ।’ 

मूर्तिसँगै ७७ वटा राष्ट्रिय झण्डा फहराएको छ । यी झण्डा ७७ जिल्लाका प्रमुखले एकसाथ झण्डोत्तोलन गरेर सम्मेलन सुभारम्भ गर्नेछन् । हरेक झण्डामा नेपाली वर्णानुक्रम अनुसार जिल्लाको नाम लेखिएको छ । 

औद्योगिक मुलुकहरुले कार्बन उत्सर्जन गर्दा त्यसको मार खेप्ने राष्ट्रहरुलाई शुल्क तिर्नुपर्ने व्यवस्थाका लागि सम्मेलनमार्फत दबाब दिने सम्मेलन मूल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमूख कृष्णगोापाल तामाङले जानकारी दिनुभयो । गुफाडाँडा आएका जनप्रतिनिधिहरु जलवायु परिवर्तनसम्बन्धी विषयमा छफलफलमा जुट्दै छन् । विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । २२ जनाभन्दा बढीको विज्ञ समूहले कार्यपत्र र छलफलमाथि प्राविधिक सहजीकरण गर्नेछन् ।

वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, वातावरण मन्त्रालयका उच्च अधिकारी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री, मन्त्रीसमेत सम्मेलनमा सहभागी हुनुभएको छ । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सांसद अग्नि सापकोटा, क्षेत्र नम्बर २ का सांसद शेरबहादुर तामाङ तथा प्रदेश सांसदहरुको सहभागिता रहेको छ ।

छलफलको निष्कर्षको रुपमा भोलि सिन्धुपाल्चोक घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने छ । सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनिकरण गर्न टेवा पुग्ने विश्वास लिएका संयोजक तामाङले बताउनुभयो । त्यसका साथै जिल्लाको पर्यटन प्रवर्द्धनमासमेत सघाउ पुग्ने उहाँको विश्वास छ ।

‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराकासाथ आयोजना हुन लागेको सम्मेलनको वातावरण अनुकुलन दर्शाउने लोगो आयोजकले यसअघि नै सार्वजनिक गरिसकेको छ । सम्मेलनमा झण्डै एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया