रहेनन् वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटा

 असार ४, २०७५ सोमबार १९:३७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वरिष्ठ न्यूरोसर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ ।

पित्तथैलीको क्यान्सरबाट पीडित ६५ वर्षका उहाँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बेलुकी ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । उपचारका लागि बेलायत गए पनि डाक्टरहरुले निको नहुने भनेपछि डाक्टर देवकोटा नेपालमा नै प्राण त्याग्ने भन्दै फर्कनु भएको थियो ।
 

त्यसपछि उहाँलाई न्यूरो अस्पतालमा नै राखिएको थियो । गत हप्ता मात्र आफ्नो जन्मस्थान जाने इच्छा व्यक्त गरेपछि उहाँलाई हेलिकप्टरबाट गोरखा लगिएको थियो । डाक्टर देवकोटाकी ३ छोरी र श्रीमती छन् । डाक्टर देवकोटाको निधन भएको समाचार सुनेपछि उहाँको शुभचिन्तकहरु अहिले अस्पताल पुगेका छन् । 

डाक्टर देवकोटाको शवलाई श्रदाञ्जलीका लागि भोलि बिहान ८ बजेदेखि १ बजेसम्म न्यूरो अस्पताल बाँसबारीमा राखिनेछ । त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उहाँको काजकिरिया ७ दिनमै सक्ने परिवारले जनाएको छ ।

अध्ययनपछि बेलायतमा नै न्यूरो सर्जरी सुरु गरेका देवकोटा स्वदेशमा नै काम गर्ने भन्दै नेपाल फर्कनु भएको थियो । वीर अस्पतालमा न्यूरो अर्थात मष्तिस्कको शल्यक्रिया उहाँले नै सुरु गर्नुभएको थियो । पछि उहाँले बाँसबारीमा न्यूरो अस्पताल स्थापना गर्नुभयो । डाक्टर देवकोटा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा स्वास्थ्यमन्त्री पनि बन्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १२, २०८०

1 Comments

  • P.R. Bhattarai

    June 18, 2018, 9:09 p.m.

    The untimely demise of Dr Upendra Devkota can not be completed by any means. At this grievous moment I express my heartfelt condolences and pray the God for eternal serenity of his soul.

  •  0 Reply

तपाईको प्रतिक्रिया