हुम्लीलाई घर फर्कन सास्ती, जहाजकाे पर्खाइमा सुर्खेतमै बास

 फागुन २५, २०७५ शनिबार १५:३५:३ | रमेश ऐडी
unn.prixa.net

सुर्खेत – औषधी उपचार गरी घर जान  तयार भएको हप्ता दिन भयो तर हवाइ जहाजको टिकट पाउनुभएन,  हुम्लाकाे खार्पुनाथ-५ ताक्ला गाउँका रामसिंह सार्कीले  ।

रामसिंह गएको मंसिरमा बिरामी भएर उपचार गर्न प्रदेश राजधानी सुर्खेत आउनुभएको थियो ।

उपचार भयो तर टिकट नपाउँदा घर फर्किन पाउनुभएन । उहाँ टिकट पाइएला र घर जाउँला भन्ने आशामा सुर्खेतमै हुनुन्छ । यो पीडा उहाँजस्तै सबै हुम्लीबासीको हो ।

हुम्लाबाट बिरामी उपचार गर्न र चिसो छल्नको लागि प्रदेश राजधानी सुर्खेत झरेका हुम्लीहरुलाई घर फर्कन धौ-धौ परेको छ । उपचारकै लागि सुर्खेत आउनुभएकी आफ्नी आमालाई घर पठाउन नसकेको सर्केगाड गाउँपालिका २ रिपका पासाग महताराले बताउनुभयो । ‘हामी त कालिकोट जिल्लाको जिते हुँदै पाँच दिनको पैदल हिँडेर हुम्ला पुगौँला तर वृद्ध र बिरामीहरुलाई कसरी घर लैजाने ?’ महतराले दुखेसो पोख्नुभयो ।

यातायातको एकमात्र साधन हवाइ सेवा सुर्खेतबाट सिमकोटसम्म नियमित नहुँदा हुम्लीबासीहरु निकै समस्यामा परेका छन् । दैनिक हुम्ला जाने यात्रुको संख्या वृद्धि भए पनि हवाइ उडान सहज र नियमित नहुँदा सुर्खेतमा हुम्ला जान पर्खीरहेका हुम्लीहरु पीडामा छन् । हवाइ सेवाको पर्खाइमा होटलको महंगो भाडा तिरेर बस्नुपर्ने बाध्यताले उनीहरुलाई पिरोलेको छ । 

गर्मी सुरु भएसँगै शिक्षक तथा कर्मचारीहरु पनि आ-आफ्नाे कार्यक्षेत्रमा फर्किने मौसम भएकाले दैनिक यात्रु संख्या बढ्दै गएको छ । निजी तथा सरकारी हवाइ सेवाका कम्पनीहरुले सिमकोट – सुर्खेत उडान नियमित नगर्दा समस्या भएको देखिन्छ ।

सुर्खेतबाट सिमकोटको लागि यात्रुको टिकट उपलब्ध गराउन हुम्लीहरुकै जनएकता समाज गठन भएको छ । तर यसले निजी कम्पनीहरुसँग हप्ताको एक फ्लाइटको टिकट वितरणको लागि नाम सूची तयार पारे पनि उडान नगरेको समाजका अध्यक्ष कलबहादुर लामाले बताउनुभयो । 

नेपालगञ्जबाट दैनिक तारा, सिता र समित एयरलाइन्सका जहाजहरुले सिमकोट विमानस्थलमा उडान गर्दै आएका छन् । तर सुर्खेत विमानस्थलबाट सिमकोट विमानस्थलको लागि भने उडानको ठेगाना नहुँदा सुर्खेतमा हुम्लीलाई असहज भएको छ । 

अहिले हुम्ला जिल्लाका सात वटा स्थानीय तह मध्ये नाम्खा, सिमकोट, सर्केगाड र चंखेल्नीका स्थानीयलाई आवतजावतको लागि  एक मात्र साधन हवाइ सेवा रहदै आएको छ ।

यात्रुभन्दा सामान बोक्न फाइदा 

सुर्खेतबाट सिमकोट उडानमा हवाइजहाजले यात्रुभन्दा सामान बोकेर बढी कमाउने हुँदा यात्रुलाई बोक्न मान्दैनन् । 

गएको वर्ष सरकारले हवाइ सेवामा हुने सिण्डीकेट हटाएपछि भाडादरमा समायोजन गर्दा जहाजहरुलाई यात्रु बोक्दा घाटा भएकोले मान्छे भन्दा सामानलाई प्राथमिकता दिएका छन् । सुर्खेत सिमकोट भाडा ५ हजार ४ सय ६० छ तर सामानको प्रति केजी १ सय १५ लिएर ढुवानी गरिरहेका छन् । 

यात्रुबाट हुने एलपीसी चार्टर फलाइटको नाममा विगतको वर्षमा दोब्बर भाडा असुल्दै आएका निजी विमान सेवाहरुले हाल सरकारले निर्धारण गरेको भाडा दरमा यात्रु बोक्न इन्कार गर्दै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया