झापाकी मौरी दिदी : आफ्नै पौरखले मिलेको सफलता

 चैत १४, २०७५ बिहिबार १२:४४:४० | रमा खड्का
unn.prixa.net

घर वरिपरि मौरीका घार । उज्यालो भएदेखि साँझ नपर्दासम्म मौरी भुनभुन गरिरहन्छन् । घरमा आइपुग्ने नौला मान्छे मौरीले टोक्छ भनेर घर वरिपरि जान डराउँछन् । तर १० वर्षदेखि मौरीको रेखदेख गर्दै आउनुभएकी झापा शिवसतासीकी देवी दाहाललाई मौरी देखेर डर लाग्दैन । उहाँलाई सितिमिती मौरीले टोक्दैन । टोक्यो भने पनि आनन्द मान्नुहुन्छ । 

उहाँसित अहिले दुईसय घार मौरी छन् । उहाँको दैनिकी मौरीको रेखदेख र स्याहारसुसारमै बित्छ । उहाँ  मौरीलाई चरन क्षेत्र खोज्नेदेखि घारको व्यवस्थान गर्नेसम्मको काम आफैं गर्नुहुन्छ । 

महिलाले व्यवसाय गर्न सक्दैनन् भन्नेहरुलाई उहाँले गतिलो जवाफ दिनुभएको छ । उहाँको आफ्नै आँटले सुरु भएको मौरी व्यवसायबाट अरुले पनि रोजगारी पाएका छन् ।

पौरखले मिलेको सफलता

१० कक्षा पढ्दै गर्दा देवीको विवाह भयो । विवाहपछि पढाईलाई निरन्तरता दिन सक्नु भएन ।  बच्चा जन्मिए । बच्चा हुर्किंदै जाँदा घरको खर्च पनि बढ्न थाल्यो । आम्दानीको स्रोत केही थिएन । श्रीमानको पन कमाई थिएन । खर्च धेरै हुने र आम्दानी केही नहुने अवस्थाले देवीलाई चिन्ता बढायो । गाउँघरमै आयआर्जनको बाटो नदेखेपछि विदेश जाने सोच बनाउनुभयो ।

गाउँमा सबैले विदेशमा धेरै कमाइ हुन्छ भनेर सुनाउँदा उहाँलाई  विदेशमा त पैसाको बोट नै हुन्छ होला भन्ने लाग्थ्यो । त्यसैले विदेश जाने सपनामा पासपोर्ट बनाउनुभयो । तर विदेश जाने भनेर बाटो लागेकी देवीलाई गाउँकै एकजना दिदीले रोक्नुभयो । गाउँमै बसेर केही गर्ने सल्लाह दिनुभयो । 

त्यसपछि बचत समूह बनाउने छलफल भयो । यो आजभन्दा २० वर्षअघि २०५५ सालको कुरा हो, उहाँहरुले गाउँका सबै महिलासँग छलफल गरेर बचत समूह सुरु गर्नुभयो ।  

८ वर्ष बचत गर्दा घरखर्च केही हदसम्म टर्न थाल्यो । त्यसपछि २०६३ मा देवीले बचत समूहलाई सहकारी संस्थाको रुपमा दर्ता गर्नुभयो । त्यसको एक वर्षपछि उहाँले सहकारीबाट ऋण लिएर मौरीपालन व्यवसाय सुरु गर्नुभयो । 

सुरुमा उहाँलाई मौरीपालनको राम्रो ज्ञान थिएन । ‘मौरीको स्याहारसुसार, व्यवस्थापन र रेखदेख कसरी गर्ने भन्ने विषयमा सामान्य जानकारी पनि थाहा थिएन, त्यतिबेला मौरीले धेरै टोक्यो, सबै मौरी घारबाट भागेर गयो ।’

ऋण लिएर सुरु गरेको व्यवसायबाट उल्टै घाटा हुन थालेपछि उहाँको चिन्ता थप्यो ।  किस्ता तिर्ने बेला श्रीमानलाई गुहार्नु पर्‍यो । 

पैसाकै कारण घरमा दिनदिनै झगडा हुन थाल्यो ।  श्रीमानले सम्बन्ध विच्छेद गर्नेसम्मको कुरा गरे । तर पनि देवीले हार मान्नु भएन । श्रीमानलाई सम्झाउन सफल हुनुभयो । 

व्यवसायदेखि हार नखाएकी देवी गाउँकै सहारा सकोस् भन्ने एउटा संस्थामा सहयोग माग्न जानु भयो । संस्थाले तीन दिने मौरीको स्याहार गर्ने, मह निकाल्ने, मौरीलाई टिकाई राख्नका लागि अपनाउने उपायबारे प्राविधिक सहितको तालिम दियो ।

तालिम पाएपछि उहाँले सहाराबाटै १० हजार सहयोग लिएर १ घार मौरी किनेर फेरि मौरीपालन व्यवसाय सुरु गर्नु भयो । व्यवसाय सुरु गरेको एक वर्षपछि १ घारबाट ५ घार मौरी बनाउनुभयो । मह निकालेर ५८ हजार रुपैयाँ कमाई भयो ।

‘मह निकाल्ने बेला श्रीमानलाई बोलाएँ र पैसा पनि श्रीमानकै हातमा थमाएँ’ त्यो क्षण सम्झँदै उहाँले भन्नुभयो, ‘मेरो साहास देखेर श्रीमान पनि खुसी हुनुभयो ।’

पहिलो वर्षमै परिश्रमको फल राम्रो पाउन थालेपछि उहाँलाई काम गर्न हौसला मिल्यो । १ घारबाट हरेक वर्ष बढाउँदै जाँदा अहिले उहाँसँग २ सय घार मौरी छन् । श्रीमानबाट पनि व्यवसायमा सहयोग पाउन थाल्नुभएको छ । देवीले खुशी हुँदै भन्नुभयो, ‘अब मलाई मेरो परिवार र पढाई देखि कुनै गुनासो छैन ।’

मौरीपालनबाट वार्षिक ६ देखि ७ लाख रुपैयाँसम्म कमाउनुहुन्छ । उहाँले २०७३ सालमा मौरीपालन व्यवासायमा देशकै उत्कृट भएर राष्ट्रपति उत्कृष्ट उद्यमी पुरस्कार समेत पाइसक्नुभएको छ ।

देवी आफ्नो व्यवसायसँगै श्री सतासी महिला मौरीपालन सहकारी संस्था लिमिटेड झापाको व्यवस्थापनको जिम्मेवारी लिएर काम गर्नु हुन्छ ।

नेपाल मौरीपालक महासंघको महिला उपाध्यक्ष पनि हुनुहुन्छ । उमेरले ५० वर्ष कटिसम्नु भयो । तर, जिल्ला बाहिर गएर मौरीपालन सम्बन्धी तालिम दिनहुन्छ ।

जान नभ्याएको ठाउँमा टेलिफोनबाट पनि जानकारी दिनुहुन्छ । घरमा अरु काममा पनि व्यस्त छ । मौसमअनुसार आफूलाई पुग्ने तरकारी फलाउनु हुन्छ । खेती किसानीको काम पनि गर्नुभएको छ । बिहान ४ बजे उठेर घरको काम सक्नुहुन्छ । दिनभरी व्यवसायमा सक्रिय हुनुहुन्छ ।

यसका साथै उहाँले हिंसा पीडितलाई सहजिकरण गर्ने काम गर्दै आउनु भएको छ । व्यवासायका साथै सामाजिक काममा पनि देवीले धेरै समय खर्चने गर्नुहुन्छ । अहिले घरमा श्रीमान श्रीमतीबीच राम्रो सम्बन्ध छ । एकले अर्काको काममा सघाउने गर्छन् । दुवै मिलेर घर र व्यवसाय धानेका छन् ।

देवीले विदेश जान खोज्ने महिलालाई आफैंले सहयोग गरेर मौरीपालन व्यवसायमा लाग्न उत्प्रेरित गर्नु भएको छ । त्यसैले पनि होला, धेरैले उहाँलाई मौरी दिदी भनेर बोलाउँछन् । 

महिला भएकै कारण खेप्नुपरेका समस्या

जुनसुकै व्यवसायमा पनि चुनौती र समस्या हुन्छन् । मौरीपालन व्यवसायमा पनि यस्तै चुनौती छन् । तर काम गर्दाका चुनौती भन्दा महिलाले गरेको निर्णय र नेतृत्वलाई समाजले सहजै स्वीकार नगर्ने समस्या देवीलाई ठूलो लाग्छ । 

देवीले सुरु गरेको मौरीपालन व्यवसायमा महिलाहरु मात्रै छन् । ‘जिल्लामा हुने तालिम र बैठकमा नबोलाउने प्रवृत्ति छ भने रीस गर्नेहरु पनि धेरै छन्’ देवी भन्नुहुन्छ ।

संस्था दर्ता गरेर उद्घाटन गर्ने बेलामा एकजना पुरुषले शुभकामना दिंदै भनेको कुरा अहिले पनि उहाँलाई सम्झना छ । ‘उनले अब महिलाले झगडा गर्ने र एकले अर्काको लुछाचुँडी गर्ने राम्रो ठाउँ बन्यो, छुटाउन आउनु पर्ला भनेर व्यंग्य गरेका थिए’ देवीले त्यो क्षण सम्झँदै भन्नुभयो, ‘मलाई त्यतिबेला साह्रै चित्त दुखेको थियो, तर अहिलेसम्म त्यस्तो अवस्था आएको छैन । धेरै महिलाले रोजगारी पाएका छन् । घरव्यवहार चलाउन सजिलो भएको छ ।’ 

देवीले नेतृत्व गरेको संस्थामा २५ सय घार मौरी छन् । मौरीलाई चराउन चितवन, दाङसम्म लैजाने गरिन्छ । कतिले मौरी राख्न दिंदैनन्, धेरैले गाली गर्छन् । यस्ता खालका समस्या अहिले पनि उहाँहरुले भोगिरहनु भएको छ । 

मौरी र मह बढाउने योजना

संस्थामा देवी लगायत १८४ जना महिला सक्रिय छन् । ५२३ जना महिला आबद्ध छन् । जिल्ला बाहिर पनि ३५० जनाले मौरी पालिरहेका छन् ।

उनीहरुले वार्षिक १० देखि २५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । वार्षिक ४० टन मह भण्डारण हुन्छ । वर्षमा ८ देखि ९ पटकसम्म मह निकाल्छन् भने एउटा घारबाट थोरैमा २ किलो र धेरैमा १६ किलो मह निस्किन्छ ।

महलाई ताप्लेजुङदेखि काठमाण्डौसम्म बिक्री गर्नको लागि पठाइन्छ । महिलाहरुले संचालन गरेको सहकारीमा १२० जना महिलाले फूलको मालाको व्यापार पनि गर्छन् । शून्यबाट सुरु भएको संस्थामा ३ करोडको पूँजी भैसकेको छ ।

यो देवीको लागि धेरै ठूलो उपलब्धि हो । तर यत्तिले मात्रै पुगेको छैन । देवीको लक्ष्य आफूले उत्पादन गरेको महलाई नेपालमा मात्रै होइन विदेशसम्म पुर्‍याउने छ । आफ्नो लक्ष्य पूरा गर्न सहकारी संस्था र साकोस संस्था मिलेर मह खरिद र बिक्री वितरणका लागि उद्योग खोल्नु भएको छ । 

उद्योगमा पहिले प्रदेश र त्यसपछि देशैभरीको मह संकलन गर्ने योजना छ । मौरीपालन व्यवसाय र मह उत्पादन बढाउने तयारी भैरहेको देवीले जानकारी दिनुभयो । आफ्नै तालिम हल बनाउने, जिल्ला बाहिरबाट आउने अतिथिको लागि खाने, बस्ने व्यवस्था सहितको आवास बनाउने योजना पनि रहेको छ । 

यी सबै योजना र लक्ष्य सुनाउन पाउँदा देवी गर्व गर्नुहुन्छ । आफ्नो पौरख र मेहनतले नै अहिले सफलता मिलेको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पुरुषले गरेको बिरोधले नै मलाई नयाँ ढंग र विकल्पको खोजी गर्ने मौका मिलेको हो ।’

अहिले उहाँकोमा महिलाले सञ्चालन गरेको व्यवसाय कस्तो रहेछ हेरौं न भन्दै जानेहरु धेरै हुन्छन् । आफूले सञ्चालन गरेको व्यवासाय र अरुबाट पाएको हौसालाबाट देवी सन्तृष्ट हुनुहुन्छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

रमा खड्का

रमा खड्का उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया