आफैले भर्ना गरेका विद्यार्थीसँग राष्ट्रिय सभा अध्यक्षको भेटघाट : ‘राम्रो सँग पढ्नू, खर्चको समस्या पर्दैन’

 चैत २५, २०७५ सोमबार १८:१०:५० | सन्तोष थापा
unn.prixa.net

पर्वत – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अघिल्लो शैक्षिक सत्रमा विद्यालय भर्ना अभियानका क्रममा पाँच बालबालिकालाई आफैले भर्ना गर्नुभएकाे थियाे ।

आफूले अभिभावकत्व ग्रहण गरेर भर्ना गराएका ती बालबालिकालाई उहाँले पोशाक, स्टेशनरी सामग्री र नगद रकम सहयोग गर्नुभएको छ ।

आइतबार गृह जिल्ला पर्वत आउनुभएका तिमिल्सिनाले बालबालिकालाई निरन्तर सहयोग प्रदान गर्ने क्रममा बालबालिकालाई सामग्री र खर्चबापत रकम दिनुभएको हो । 

नयाँ शैक्षिक सत्र सुरु हुन लागेका बेला अध्यक्ष तिमिल्सिनाले ११ वर्षीया सुहानी  नेपालीलाई आगामी शैक्षिकसत्रको सुरुमा लाग्ने सबै खर्च र पोशाकसहित अभिभावक र विद्यालयलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

आवश्यक सामग्री, पोशाक र नगद हस्तान्तरण गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘वर्षमा दुई वा तीनपटक अभिभावक र विद्यार्थीलाई भेटेर सहयोग गर्दै आएको छु ।’

उहाँले भन्नुभयो,  ‘विद्यार्थीको पठनपाठनमा सुधार आएको र नियमित विद्यालय गएको सुनेपछि उनीहरुलाई सहयोग जारी राख्न उत्साह थप्दो रहेछ ।’

उहाँले बालबालिकाहरुलाई सहयोग प्रदान गर्दै राम्रोसँग पढ्न र खर्चको चिन्ता नगर्न आश्वासन पनि दिनुभयो । 

सुहानीलगायत पर्वतको तिलहारस्थित नवजागृत माविमा अध्ययनरत अनुप जिसी र देउपुर नमुना आवासीय माविमा अध्ययनरत निकिता क्षेत्रीलाई पनि उहाँले यस वर्षको शैक्षिक सत्रका लागि आवश्यक नगद आइतबार नै हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले पर्वतमा तीन जना र पोखरामा दुई जना विद्यार्थीलाई अभिभावकत्व ग्रहण गर्दै गएकाे वर्ष विद्यालयमा भर्ना गर्नुभएको थियो । 

    

अन्तिम अपडेट: फागुन २८, २०८०

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया