नेपाली चलचित्र क्षेत्रमा रिमेक गीतको प्रयाेग बढ्दो

 बैशाख ५, २०७६ बिहिबार १८:१७:२४ | मनोज दाहाल
unn.prixa.net

गीत संगीत चलचित्रको एउटा महत्वपूर्ण अंग हो । चलचित्र दर्शकको नजरमा पर्न सक्छ या सक्दैन भन्ने कुरा केही हदसम्म चलचित्रमा समावेश गीतसंगीतमा पनि  भर पर्छ भन्दा फरक नपर्ला ।

उत्कृष्ट गीतसंगीतले चलचित्रको प्रचार प्रसारमा पनि महत्वपूर्ण भुमिका खेल्ने गर्छ । चलचित्रको प्याटन जसरी परिवर्तन हुदै आएको छ, चलचित्रमा समावेश गीत संगीतले त्यसै हिसाबले स्थान पाउने गरेको छ । 

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा पुराना गीत संगीतहरुलाई रिमेक गरेर चलचित्रमा समावेश गर्ने प्रचलन बढिरहेको छ । पुराना गीतसंगीतलाई नयाँ शैलीमा  फेरि सुन्न पाउँदा दर्शकबाट पनि सकारात्मक प्रतिकृया नै आइरहेका छन् । 

तर कतिपय गीतसंगीतलाई भने रिमेक गरेर झन बिगारिएको टिप्पणीहरु समेत आउने गरेका छन् । त्यसकै उदाहरण सावित भयो चलचित्र आफ्नो मान्छेमा समावेश गीत ‘चट्ट रुमाल क्यामालुम’ । रिमेक गरिएको उक्त गीतलाई अधिकांश दर्शकले नकारात्मक टिप्पणी गरे । 

पुरानो चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गरिएको स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित यस गीतलाई रि एरेन्ज गरेर चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ मा राखिएको छ । 

यो गीत सञ्चारकर्मी बाबुराम दाहालको रचनामा तयार पारिएको थियो । गीतमा शम्भुजित बास्कोटाको संगीत तथा शम्भुजित र साधना सरगमको गायन रहेको थियो ।

 रि एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् । यस गीतलाई राजन इशानले रि–एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । 

गीतमा सलिनमान बनियाँ, सलोन बस्नेत, मलिका महत, जान्हवि बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायतले अभिनय गरेका छन् । 
चलचित्र विर बिक्रम २ मा पनि एउटा पुरानो गीतलाई रिमेक गरी समावेश गरिएको छ । पुरानो चलचित्र देउतामा समाविष्ट पिरतीको मिठो तिर्सना बोलको गीतलाई विर विक्रम २ मा राखिएको हो । 

चलचित्र देउतामा समाविष्ट गीतमा राजेश हमाल,  सिर्जना बस्नेतले नृत्य गरेका छन् भने गीतमा इन्द्रजित मिजार र भारती घिमिरेको स्वर रहेको छ । कुसुम गजमेर र तुलसी घिमिरेले लेखेको उक्त गीतलाई रन्जित गजमेरले संगीत गरेका थिए । 

रिमेक गीतमा भने ताराप्रकाश लिम्बू र मेलिना राईको स्वर रहेको छ । गीतमा पल शाह, नाजिर हुसेन र वर्षा सिवाकोटीलाई प्रस्तुत गरिएको छ । पहिले सबै दर्शकको मन जित्न सफल भएको गीतले रिमेक पछि पनि उत्तिकै माया पाइरहेको छ ।

यस्तै रिमेक गरिएपछि उत्तिकै रुचाइएको गीत हो चलचित्र द ब्रेकअपमा सामाविष्ट ‘आज हाम्रो भेट भाको दिन’। यो गीत पुरानो नेपाली चलचित्र ज्वालामा समावेश गरिएको छ । यस गीतमा उदितनारायण झा, आशा भोंसले, साधना सरगम र कविता कृष्णमूर्तिको स्वर रहेको छ । 

शिलाबहादुर मोक्तानको संगीत रहेको उक्त गीतको शब्द चेतन कार्की, डाक्टर ध्रुवचन्द्र गौतम, बुद्धवीर लामा र दिनेश सुब्बाले संयुक्त रुपमा लेखेका हुन् । 
गीतमा सरोज खनाल र कृष्टि मैनालीले नृत्य गरेका छन् भने अभिनेता राजेश हमाल पनि उक्त गीतमा प्रस्तुत भएका छन् ।

 

यसको रिमेक भर्जनलाई पनि दर्शकले रुचाएका छन् । यसमा विराज गौतम र मेलिना राईको स्वर रहेको छ भने गीतका केही शब्दहरुलाई समेत परिमार्जन गरिएको छ  । 
कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको रि–एरेन्ज भने ब्रिजेश श्रेष्ठले गरेका हुन् । गीतमा आशिरमान देशराज जोशी र शिल्पा मास्केको नृत्यलाई दर्शकले रुचाएका छन् । 

यस्तै चलचित्र सम्झनामा समावेश उकालीमा पछि पछि बोलको गीतलाई रिमेक गरि चलचित्र कृ मा प्रस्तुत गरिएको छ । उदितनारायण झा र दिपा झाले गाएको पुरानो गीतलाई रिमेक गरेर अलमोडा राना उप्रेतीले गाएका छन् । गीतको संगीत तथा शब्दमा केही परिमार्जनसमेत गरिएको छ । 

पुरानो गीतको शब्द तथा संगीत रन्जित गजमेरको रहेको छ भने अल्मोडा राना उप्रेतीले संगीत तथा शब्दलाई पनि आधुनिक शैलीमा प्रस्तुत गरेका छन् । चलचित्र सम्झनामा समावेश गीतमा भुवन केसी र तृप्ती नाडकरको नृत्य रहेको छ भने रिमेक गरिएको गीतमा अनमोल केसी र अदिती बुढाथोकीको अभिनय रहेको छ ।

‘आमैले भन्थे धाराको पानी’ बोलको गीत कुनै समय दर्शकले निकै रुचाएको गीत हो । चलचित्र साइनोमा समावेश उक्त गीतलाई रिमेक गरेर चलचित्र झमकबहादुरमा राखिएको छ । पुरानो  गीतमा उदितनारायण झाको स्वर रहेको छ ।

गीतको शब्द कुसुम गजमेरले लेखेकी हुन भने संगीत रन्जित गजमेरले गरेका हुन् । गीतमा भुवन केसीको अभिनय छ । रिमेक गरिएको गीतमा भने ओम सुनार, कविता श्रेष्ठ, मिस्टर आर जे र नगेन्द्र राइको स्वर रहेको छ । 

रिमेक भर्जनलाई पहिलेको भन्दा केही फास्ट बिटमा बनाइएको छ । गीतमा र्याप पनि समावेश गरिएको छ । रिमेक गीतमा अनुपबिक्रम शाही, यादव देवकोटा, सुजाता थापालगायतका कलाकारहरुलाई प्रस्तुत गरिएको छ ।

‘ए कान्छा मलाई सुनको तारा खसाइदेउ न’ यो गीत नसुन्ने मानिस कमै होलान् । 
अरुणा लामा र रुद्र गुरुङको आवाजमा रहेको उक्त गीत धेरै नेपालीहरुको मनमा बस्न सफल गीतहो  । पासाङ बाङ्बलको शव्द रहेको उक्त गीतमा संगीतकार अम्बर गुरुङको संगीत रहेको छ ।

यो गीतको रिमेक भर्जनलाई चलचित्र छिरिङमा समावेश गरिएको छ । रिमेक गीतमा यश कुमार र सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । कतिपय स्थानमा गीतका शब्दहरुलाई यश कुमार आफैँले परिमार्जन गरेका छन् ।

रिमेक गीतमा यस कुमार र कामना भुजेलले अभिनय गरेका छन् । रिमेक गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । यस्तै पुरानो चलचित्र झुमामा समावेश बोल बोल पाखाहरु बोलको गीतलाई पनि रिमेक गरी चलचित्र छिरिङमा समावेश गरिएको छ । 

पुरानो गीतमा गायिका सुक्मित गुरुङको आवाज रहेको छ भने रिमेक गीतमा सुनिता थेगीमको आवाज रहेको छ । यस गीतका केही शब्द तथा गीतको संगीतलाई केही मात्रामा परिमार्जन गरिएको छ । यो गीतमा कामना भुजेलको अभिनय रहेको छ भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । 

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: फागुन ३०, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया