सल्यानका विभिन्न स्थानमा आगलागी: २ जनाको ज्यान गयाे, एक गम्भीर घाइते

 बैशाख २८, २०७६ शनिबार २०:५३:९ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - छत्रेश्वरी गाउँपालिका वडा नम्बर-६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् । 

सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन् ।

आगो नियन्त्रणमा लिन गाह्राे भइरहेकाे छत्रेश्वरी-६ का अध्यक्ष चुडामणि दसौतीले जानकारी दिनुभयाे । शुक्रबार बिहानदेखि सल्किएको  आगो बीचमा रहेको सिमपानी गाउँ घेरेर चारैैतिरको जंगलमा फैलिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम, श्रीनगरको टोली, सशस्त्र प्रहरी र स्थानीयहरु पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेकाे प्रहरीले जनाएकाे छ।

यस्तै शारदा नगरपालिका-९ दुवेरी पुनटोलका ६३ वर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायिक वनमा भएको आगलागीमा परेर ज्यान गएको छ ।  वैशाख २४ गते घरबाट निस्किएका पुन परिवारको सम्पर्कमा नआएपछि खोजी गर्दा जंगलमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर पंचलाल गोलेले बताउनुभयो । 

यसैबीच सल्यानको ठाउँठाउँमा आगलागीले भीषण रुप लिएको छ । अहिले शारदा नगरपालिका २ लुहापिङमा रहेको सशस्त्र व्यारेक नजिकै आगलागी भएको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिकाको मुलपानीमो आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ ।

शारदा नगरपालिका-१०, मदना नजिकै आगलागीले एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका अधिकांश वन जंगलहरु सल्लाको भएकाले आगलागी हुने गरेको देखिएकोले सजग रहन प्रहरीले सबैलाई अपिल गरेको छ ।  

अन्तिम अपडेट: चैत ११, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया