किशोरी बेचबिखनको आरोपमा एकजना पक्राउ, मुख्य अभियुक्त फरार

 जेठ ८, २०७६ बुधबार १२:८:३७ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – किशोरी बेचबिखन गर्ने कार्यमा सघाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका –४ का ३० वर्षीय नितु शेर्पालाई पक्राउ गरेको छ । बेचबिखनका मुख्य आरोपी ३३ वर्षीय तेन्जेन शेर्पा भने फरार भएका छन् ।

रामेछाप जिल्ला स्थायी घर भई सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका – ४ बहिनीको घर बस्दै आएका तेन्जेन शेर्पा र नितुको मिलेमतोमा यही ठाउँकी १६ वर्षीया किशोरीलाई भारतमा लगेर राम्रो जागिर लगाइदिने भन्दै काभ्रेको बनेपा पुर्‍याएका थिए ।

कक्षा ८ पास गरेर ९ कक्षामा पढ्दै गरेकी किशोरीलाई छिमेकी नितु शेर्पाले जेठ १ गते पानी लिन धारामा गएको बेलामा भारतमा लगेर राम्रो जागिर लगाउने भन्दै फकाएको पीडित किशोरीले बताइन् ।

घरपरिवारले थाहा नपाउने गरी पीडित किशोरी र तेन्जेन शेर्पा जेठ ४ गते बिहान ४ बजे त्यहाँबाट हिँडेको पाइएको छ । अभियुक्त शेर्पाले मेलम्ची गएर ओर्लनु म आउँदै गर्छु भनेर किशोरीलाई बसमा चडाएर पठाएको र आफू अर्कै गाडीमा मेलम्चीसम्म आएका थिए ।  उनीहरु मेलम्चीबाट सँगै बनेपा आएका थिए ।

यसरी खुल्यो रहस्य 

बनेपामा सुनगाभा नामको होटल पुगेपछि तेन्जेन शेर्पाले २ वटा कोठा लिएर एउटामा आफू बस्छन् र अर्कोमा किशोरीलाई राख्छन् । इन्डिया गएर राम्रो जागिर खाने र धेरै पैसा कमाउने आशामा घर छाडेकी किशोरीलाई पल्लो कोठामा रहेको तेन्जेनको फोन संवादले झसंग बनाउँछ ।

शेर्पाले फोनमा केटी राम्री छ मलाई त्यति पैसाले हुँदैन भनेको सुनेपछि आफू बेचिन लागेको  पीडितले थाहा पाउँछिन् । त्यसपछि पीडित किशोरीले शेर्पाको कोठा बाहिरबाट बन्द गरेर उनी होटल साहुको सहयोगमा आफू बेचिन लागेको कुरा घरमा आफ्ना बुवा सम्म पु¥याउन सफल हुन्छिन् ।

घरपरिवारले खबर गरेपछि केही समयमै प्रहरी होटलमा पुग्छ । प्रहरी पुग्दा होटलको पैसा तिरेर शेर्पा त्याहाँबाट भागिसकेका हुन्छन् । बेचिनबाट बचेर परिवारको शरणमा पुगेपछि पीडितका बुवाले इलाका प्रहरी कार्यालय मेलम्चीमा तेन्जेन शेर्पा र किशोरीलाई फकाउन सहयोग गर्ने उनको बहीनी नितु शेर्पाविरुद्घमा किटानी जाहेरी दिएका छन् ।

पीडितको जाहेरीकै आधारमा फकाउन सहयोग गर्ने नितु शेपालाई मानेखर्क प्रहरी चौकीले मंगलबार बिहान निजकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । पक्राउ परेका शेर्पालाई मंगलबार नै जिल्ला प्रहरी कार्यालय चौतारामा पेस गरेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया