कोरिया भाषा परीक्षाका लागि तोकियो ३२ केन्द्र

 जेठ ९, २०७६ बिहिबार १६:२:३५ | रासस

काठमाण्डौ – रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिएको छ । 

परीक्षाका लागि काठमाण्डौमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । 

आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ । एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।

पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षामा सहभागी हुनेलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०ः२५ देखि १०ः५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस्रो सत्रमा दिउँसा १२ः३० देखि १३ः३० सम्म अभिमुखीकरण, १३ः३० देखि १३ः५५ सम्म पढाइ र १३ः५५ देखि १४ः२० सम्म सुनाइ परीक्षा हुनेछ । 

अभिमुखीकरणका क्रममा परीक्षार्थीलाई मर्यादित रुपमा परीक्षामा सहभागी हुन आग्रह गरिनेछ । परीक्षाको मर्यादा उल्लङ्घन गर्ने परीक्षार्थीलाई सार्वजनिक अपराध मुद्दा चल्ने भएकाले मर्यादित रुपमा परीक्षामा सहभागी हुन निर्देशक खनालले सबैमा आग्रह गर्नुभयो । 

गएको वर्ष परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै सरकारले ५० जनालाई सार्वजनिक अपराध मुद्दामा कारवाही गरेको थियो । 

२० जनाको आवेदन रद्द 

शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्ड विपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको निर्देशक खनालले जानकारी दिनुभयो ।

दरखास्त रद्द हुनेमा दुई जना महिला छन् । दुई महिलाको उमेर बढी भएकाले दरखास्त रद्द गरिएको हो । कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरुको दरखास्त रद्द गरिएको हो । 

सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३ सय ७६ युवा सहभागी हुँदैछन् । जसमध्ये उत्पादनमूकलक क्षेत्रतर्फ ६३ हजार ४ सय ८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८ सय ८९ जनाले परीक्षा दिनेछन् । 

दक्षिण कोरिया जान परीक्षा दिनेमध्ये उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० जना भाषा परीक्षाबाट उत्तीर्ण हुनेछन् । उत्तीर्ण भएकामध्ये सीप परीक्षणमा पनि सफल भएका कामदार मात्रै कोरिया जान पाउनेछन् । 

भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंक हुनेछ । जसमा पढ्ने २० र सुन्ने २० गरी जम्मा ४० वटा प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ । भाषा परीक्षा उत्तीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् ।

क्षमता परीक्षणमा सम्बन्धित व्यक्तिको कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमि एवं प्रमाणपत्रलाई आधार लिइने इपिएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ११० अंकको हुनेछ । भाषा परीक्षाको नतिजा आगामी असार १३ गते प्रकाशित गरिनेछ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया