स्थानीयले पानीको स्रोत नष्ट गर्न नमानेपछि धरानका दुई वटा वडा ‘डेङ्गु संकटग्रस्त क्षेत्र’ घोषित

 जेठ २३, २०७६ बिहिबार १७:२:२६ | सुमन पुरी
unn.prixa.net

सुनसरी – सर्वसाधरणले डेङ्गु रोग फैलाउने लामखुट्टे बस्ने पानीको स्रोत नष्ट गर्न आनाकानी गरेपछि  धरान उपमहानगरपालिकाका दुई वटा वडालाई ‘डेङ्गु संकटग्रस्त क्षेत्र’ घोषणा गरिएको छ । 

डेङ्गुको प्रकोप बढी देखिएको धरान उपमहानगरको ८ र १५ वडालाई ‘डेङ्गु संकटग्रस्त क्षेत्र’ घोषणा गरिएको धरान उपमहानगरका कार्यवाहक मेयर मञ्जु भण्डारीले बताउनुभयो । धरानमा पानीको अभाव रहेको र पानीको लोभले पानी फाल्न आनाकानी गर्दा डेङ्गु नियन्त्रणमा समस्या आएको हो । संकटग्रस्त क्षेत्र घोषणा गरेर, बल प्रयोग गरेर भए पनि संकलित पानी फालेर डेङ्गु नियन्त्रणको काम गर्नु परेको धरान उपमहानगरले जनाएको छ ।

सर्वसाधारणले जम्मा गरेको पानी नफाल्दा संकलित पानीमा लामखुट्टेले अण्डा पार्ने र लार्भा हुर्काउने गरेकाले धरानमा डेङ्गुको समस्या महामारीको रुपमा बढ्दै गएको धरान उपमहानगरले जनाएको छ । 

डेङ्गु नियन्त्रण गर्नका लागि संकटक्रस्त क्षेत्र घोषणा गरिएएको र बल प्रयोग गरेर भए पनि संकलित पानी फाल्ने, छोप्ने काम गरिने कार्यवाहक मेयर मञ्जु भण्डारीले बताउनु भयो । उहाँका अनुसार ती दुवै वडामा अहिले जनशक्ति परिचालन गरिएको र घर–घरमा गएर लामुखुट्टेका अण्डा, लार्भा र प्यूपा नष्ट गर्ने काम भैरहेको छ ।

‘जनप्रतिनिधिको अगुवाइमा विभिन्न सामाजिक संघ–संस्थासहित अहिले घरदैलो कार्यक्रम भैरहेको छ । आवश्यक परे ‘डेङ्गु संकटक्रस्त क्षेत्र’ बढाँउदै लैजाने र घर दैलो कार्यक्रम गरेर पानी जमेको स्रोत नष्ट गर्ने उपमहानगरको योजना रहेको छ’, भण्डारीले भन्नुभयो । 

बजेट अभाव 

धरानमा डेङ्गु नियन्त्रणका लागि आवश्यक बजेटको समेत अभाव देखिएको छ । अहिले दैवी प्रकोप कोषबाट खर्च भैरहेको र त्यो कोष रित्तिँदै गएको धरान उपमहानगरले जनाएको छ । पहिला यस्तो समस्या आउला भनेर हामीले सोचेनौँ, अहिले खर्च गर्न बजेट अभाव हुन थालेको छ । यो वर्ष मात्रै विषादी छर्ने मेसिनहरु, लामखुट्टेका अण्डा, लार्भाहरु नष्ट गर्ने उपकरण किन्नु परेकाले कोष रित्तिएको कार्यवाहक मेयर भण्डारीले बताउनुभयो । 

उहाँका अनुसार, अहिले डेङ्गुको परीक्षण निःशुल्क रुपमा भए पनि बिरामीलाई गर्नुपर्ने थप उपचारमा बजेट अभाव भएको छ । ‘सबै बिरामी उपचार गर्न सक्ने आर्थिक अवस्थामा हुनुहुन्न’, कार्यवाहक मेयर भण्डारीले भन्नुभयो, ‘बिरामीहरुको उपचारका लागि थप सहयोग गर्नुपर्ने अवस्था छ, हाम्रो बजेट सकिएको छ ।’

महामारीको रुप 

धरान उपमहानगरमा फैलिएको डेङ्गुको प्रकोप कसरी नियन्त्रण गर्ने भन्ने विषयमा योजना बनाउन प्रदेश सभाको सामाजिक विकास समितिले स्थलगत अनुगमन गरेको छ । सामाजिक विकास समितिका सभापति सरिता थापाको नेतृत्वमा आएको सांसद र प्रदेश स्वास्थ्य निर्देशनालयका पदाधिकारीले बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गएर प्रशासन र चिकित्सकहरुसँग डेङ्गुका  बिरामीहरुको अवस्थाबारे बुझेका थिए । 

यस्तै, धरान उपमहानगरपालिकामा पनि जनप्रतिनिधिहरुसँग डेङ्गु नियन्त्रणको प्रयासबारे जानकारी समेत लिएको थियो । धरानको  स्थलगत अगुमगनपछि प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेलले धरानमा डेङ्गुले महामारीको रुप लिएको बताउनु भयो । उहाँले डेङ्गुका बिरामीको चापले पनि महामारी रुप लिएको बताउनु भयो । 

उहाँले प्रदेश सांसदहरु र धरानका जनप्रतिनिधिहरुकै अघि धरानलाई हेल्थ इर्मेजेन्सी (स्वास्थ्य संकटग्रस्त) घोषणा गर्न ढिलाइ गर्न नहुने पनि सुझाव दिनुभयो । संकटग्रस्त घोषणा गरेपछि मात्र आम मानिसहरुले सजगता अपनाउने र राज्यले केही दबाब दिएर भए पनि घरमा जम्मा गरेको पानी फाल्न र लार्भा नष्ट गर्न सक्ने उहाँको भनाइ थियो ।


 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन पुरी

उज्यालोका सुनसरी सहकर्मी सुमन पुरी सप्तकोशी एफएम सुनसरीमा पनि काम गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया