रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

 जेठ २९, २०७६ बुधबार १०:३०:७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतको पहिलो सामुदायिक रेडियो ‘रेडियो पर्वत १०३.६ मेगाहर्ज’को स्टुडियोमा मंगलबार राति आगलागी भएको छ । राति १  बजे विद्युत सर्ट भएर आगलागी हुँदा रेडियोका उपकरण तथा अन्य फर्निसिङ्ग सामग्रीहरु जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ ।

आगालागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने ७ वटा कम्प्युटर, दुई वटा मिक्सचर, हाईब्रिड, टेलिभिजनलगायतका सामग्रीहरु पूर्ण रुपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शंकर शर्माले जानकारी दिनुभयो ।

आगलागी भएसँगै बुधबार बिहानदेखि रेडियोको प्रसारण समेत बन्द भएको छ । कुनै पनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको बिकल्प नभएको शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीय बासीन्दा र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट रेडियो सञ्चालित घरका तीन वठा कोठामा समेत क्षति पुगेको छ । झण्डै ३० लाख रुपैयाँ भन्दा बढिको क्षति भए पनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिनुभयो । तत्काल थाहा पाएका कारण मानवीय क्षति नभएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

२०६४ सालदेखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको यस क्षेत्रको पहिलो सामुदायिक रेडियो पछिल्लो समय अहिंसावादी रेडियो पर्वतको नाममा सञ्चालनमा रहँदै आएको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया