हरि गुरु को अवसानसँगै परिवारमा ऋणको सकस

 जेठ ५, २०७५ शनिबार १७:४६:४१ | रमेश गिरी
unn.prixa.net

भक्तपुर, जेठ ५ – भक्तपुरको तेलकोट चोकबाट नगरकोट जाने मूल सडकको ठिक माथि छ एउटा पुरानो घर । जुन घरको माथिल्लो तलामा भूकम्पले पारेको ठूलो प्वाल अझै उस्तै छ । त्यही घर र अगाडिको टहरामा बित्यो ३ नम्बर प्रदेशका सांसद हरिशरण लामिछानेको जीवन ।

भत्किएको घर बनाउने गच्छे नभएपछि त्यही घर र घर नजिकैको जस्ताको टहरामै २०७२ सालको भूकम्पपछिका दिनरात गुजार्नुभयो । पार्टीमा मात्रै नभई सिंगो चाँगुनारायण नगरपालिकामै आदर्श व्यक्तिका रुपमा चिनिएका उहाँ सबै पार्टीका नेता कार्यकर्ताले पनि आदरका साथ ‘हरिगुरु’ भनेर चिन्थे, बोलाउँथे ।

लामिछानेले २०३९ सालमा नेकपा मालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०४६ सालको आन्दोलनका क्रममा घाइते हुनुभएको उहाँ प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार हुनुभएको थियो । 

प्रदेशसभामा चुनिएपछि प्रदेशसभामा पनि निष्ठा र इमानको राजनीति गर्ने उहाँको चाहना भने पूरा हुन पाएन । गएको वैशाख ३१ गते मस्तिष्कघातका कारण उहाँको निधन भएपछि उहाँको परिवारलाई सकस भएको छ ।

एक हप्ता लामो रारा भ्रमण सकेर घर फर्किएको भोलिपल्ट टाउको दुखेपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो तर अस्पतालले पनि उहाँलाई बचाउन सकेन । अनि, नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिव समेत रहेका लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुङ्गियो ।

पुरानो कोट र ढाका टोपीले आफ्नो आदर्श र निष्ठालाई जिवितै राख्न सफल हरि गुरुले छोरीको विवाह, चुनाव लड्न र छोराछोरीलाई पढाउन विभिन्न सहकारी संस्थाबाट लिएको १८ लाख रुपैयाँ ऋण कसरी तिर्ने भन्ने चिन्ता अब उहाँकी श्रीमती निर्मला र छोराछोरीको काँधमा थपिएको छ । 

बुबाको निधन भएपछि १२ कक्षाको पढाई सकेर बसिरहेका छोरा कृष्णशरणलाई स्नातक तहको शिक्षा कसरी दिने भन्ने चिन्ता पनि थपिएको छ हरिशरणकी श्रीमति निर्मलालाई । दुईजना छोरीहरु पनि बेरोजगार रहेकाले आम्दानीको बाटो केही नभएकाले समस्या परेको उहाँका छिमेकीहरु बताउँछन् । भूकम्पले भत्काएको घर कसरी ठड्याउने भन्ने चिन्ता त छँदैछ । 

लामिछाने परिवारलाई सहयोग गर्न एमालेका भातृ संगठन र शुभेच्छुकहरुले आर्थिक संकलन गर्ने अभियान सुरु गरेका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया