पुनर्निर्माण तथा पुनर्स्थापनामा ‘फाइनान्सियल ग्याप’: प्राधिकरण

अब संशोधित कार्यक्रम र वित्तीय योजनाअनुसार अघि बढ्ने

 असार ५, २०७६ बिहिबार २०:०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पुनर्निर्माण र पुनर्स्थापनाको काम संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता तथा सहजीकरण समितिको बैठकले प्राधिकरणले पेश गरेको नेपालको पुनर्निर्माण र पुनर्स्थापनामा ६ खर्ब ३० अर्ब रुपैयाँ लाग्ने संशोधित अनुमान र कार्यक्रमलाई कार्यान्वयन गर्ने निर्णय गरेको हो । बैठकमा दातृ निकाय तथा विकास साझेदार संस्थाले विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी पञ्चवर्षीय योजनामा संशोधित कार्यक्रम र वित्तीय योजना अनुसार अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

२०७३ साल वैशाखमा तयार पारिएको विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी पञ्चवर्षीय योजनाले पुनर्निर्माण र पुनर्स्थापनाका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आकलन गरेको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बजेटको सीमालाई ध्यान दिएर खानेपानी, सडक, पुल लगायत सरकारका नियमित काम, गैरसरकारी संस्थाबाट गरिने पुनर्निर्माणको बजेट कटाइ प्राधिकरणबाट गर्ने कार्यक्रम मात्र समावेश गरी संशोधित बजेट तयार भएको जानकारी दिनुभयो ।

प्राधिकरणले आउँदाे आर्थिक वर्षका लागि १ सय ४१ अर्ब रुपैयाँ विनियोजन गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण तथा पुनर्स्थापनामा ‘फाइनान्सियल ग्याप’ रहेको भन्दै थप स्रोत जुटाउनका लागि अर्थमन्त्रालय र दातृ निकायहरुसँग परामर्श जारी रहेको बताउनुभयो ।

यस्तै बैठकमा प्राधिकरणले पुनर्निर्माण र विपद् व्यवस्थापन कार्यको स्थानीयकरण, सामाजिक आर्थिक तथा जीविकोपार्जन कार्यक्रम सञ्चालन, परम्परागत सम्पदा बस्ती तथा शहरी क्षेत्रको पुनर्निर्माण एवं पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी अभिलेखिकरणमा थप सहयोग गर्न दातृ निकायहरुलाई आग्रह गरेको थियो ।

सुरक्षित नेपाल निर्माणका लागि राष्ट्रिय भवन आचारसंहितालाई संशोधन गर्दै स्थानीय तहसम्म लागु गर्नुपर्नेमा बैठकले जोड दिएको छ । साथै नेपालले पुनर्निर्माण तथा पुनर्स्थापना प्राप्त गरेको उपलब्धि, अनुभव र सिकाइलाई अन्तर्राष्ट्रिय समुदायसँग पुर्याउन आउँदाे वर्ष पुनर्निर्माण र पुनर्स्थापनासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ ।

वित्तीय स्रोत जुटाउनका लागि यो सम्मेलन केन्द्रित नहुँने पनि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रस्ट पार्नुभयो ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया