नेकपाको इतिहास फेर्ने कुर्सीमा विष्णु पौडेल ! भन्छन् ‘प्रचण्ड डाइनामिक नेता हुन्’

 जेठ ६, २०७५ आइतबार ८:१७:२५ | विष्णु विश्वकर्मा
unn.prixa.net

bishnu poudel

नेपालमा कम्युनिष्ट पार्टीहरु जति छन्, ति मिलेका भन्दा धेरै फुटेको इतिहास छ । त्यसैले भनिन्छ, कम्युनिष्ट पार्टीहरु सकभर मिल्दै मिल्दैनन् । मिलिहाले पनि लामो समय मिलेर बस्न सक्दैनन् । कि गुट बनाएर पार्टी चलाउँछन् कि फुटिहाल्छन् ।

पुष्पलाल श्रेष्ठले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीको इतिहास हेर्दा यस्तै देखिन्छ । यही आलोचित इतिहासमा उभिएर एमाले र माओवादी केन्द्रलाई मिलाएर बनाइएको नेपाल कम्युनिष्ट पार्टीको ‘हटसिट’मा हुनुहुन्छ, नेकपाका महासचिव विष्णु पौडेल ।

पार्टी सञ्चालन गर्ने ९ जनाको उच्चस्तरीय सचिवालयको महासचिव बनेपछि पौडेललाई अब अर्को चुनौती पनि छ, कम्युनिष्ट पार्टीको फुट्ने इतिहासलाई गलत साबित गर्ने । र पार्टी एकतालाई एकढिक्का बनाएर वर्षौं वर्ष टिकाउने । 

त्यसअघि बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मासँग मिलेर विष्णु पौडेलले चुनावका लागि वाम गठबन्धन बनाएर एमाले र माओवादीलाई एकताका लागि हौस्याउनु भएको थियो । एकताका लागि पार्टीको सिद्धान्त बाहेक सबै विषय टुंग्याइएका पनि थिए ।  सबै तयारी गरेर मिति समेत प्रस्ताव भइसकेका बेला तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले बराबरी संख्या नपाए एमालेसँग एकता नगर्ने भनेर अड्डी लिनु भएको थियो ।

यही बीचमा आएर दुई पार्टीका नेता र कार्यकर्तामा सन्नाटा छायो । तर ओली गुटका नेता भनेर चिनिएपनि प्रचण्डलाई ‘डाइनामिक’ नेता मान्ने विष्णु पौडेलले एकताको डोरी बाट्न माधव नेपालको सहयोग लिनुभयो । 

पौडेलको समन्वयमा एकताका लागि माधव नेपालले अग्रसरता लिएपछि प्रचण्ड अडानबाट पछि हट्दै ओलीसँग एकताका लागि बैठक बस्न तयार हुनु भएको हो । यसको श्रेय अहिले माधव नेपाललाई भन्दा बढी पौडेललाई गएको छ । कारण पार्टी भित्र कुन नेतामा के क्षमता छ ? अनि त्यसलाई उपयोग गरेर कसरी एक कदम अगाडि जान सकिन्छ ? भन्ने राम्रो ज्ञान अध्यक्ष केपी शर्मा ओलीपछि पौडेलमा पनि देखिएको छ ।

अब यही ज्ञान भएका पौडेललाई नेपाल कम्युनिष्ट पार्टीलाई थप बलियो बनाएर देशलाई समृद्धितर्फ लैजानका लागि पार्टीलाई मजबुत बनाउने जिम्मेवारी मात्रै छैन । फुटबाट ग्रसित नेपाली कम्युनिष्ट पार्टीको इतिहास बदल्ने चुनौती पनि सामुन्नेमा छ ।

यसकारण प्रचण्ड डाइनामिक नेता !

झण्डै १५ हजार नागरिकको बलिदानी । त्योभन्दा बढी घाइते र अंगभंग भएकाको खबरदारी । यही बलिदानी र खबरदारीको परिचय बनेको माओवादी जनयुद्ध । यी सबै उथलपुथलपूर्ण माओवादी आन्दोलनको लेखाजोखा गर्दा हात लाग्ने उपलब्धी हुन्, संविधानसभा, गणतन्त्र र आजको संघीयता ।  

जसको नेतृत्वकर्ता थिए, पुष्पकमल दाहाल प्रचण्ड । परिवर्तनका लागि रगतको खोला बगाएपनि प्रचण्ड शान्ति वार्ता रोजेर संसदीय अभ्यासमा आउनुभयो । देशको राजनीतिक व्यवस्था फेर्न ठूलो जोखिम मोलेका प्रचण्डलाई समृद्धिको यात्रामा सँगसँगै हिँडाउने तत्कालीन एमाले नेताहरुको चाहना अहिले पूरा भएको छ ।

‘कतिपय मान्छेहरु डोरीलाई सर्प ठानेर झुक्किन्छन् नि । त्यही हो प्रचण्डको गतिलाई बुझ्न नसक्नेले गर्ने टिप्पणी यस्तै हो’ पौडेलले भन्नुभयो ‘प्रचण्ड अस्थिर देखिएपनि त्यस्तो नेता हुनुहुन्न । प्रचण्ड धेरै गतिशील र डाइनामिक नेता हुनुहुन्छ ।’

अबको चुनौती : एकता कसरी टिकाउने ?

नेकपाको ९ सदस्यीय सचिवालयमा महासचिव नियुक्त भएका पौडेल चुनौतीको सबैभन्दा ठूलो डर भने समाप्त भएको बताउनुहुन्छ ।

एकापट्टि उग्र वामपन्थी माओवादी र अर्कोतिर दक्षिणपन्थीको आरोप लाग्ने एमाले जस्ता दुई कम्युनिष्ट पार्टी मिल्नै नसक्ने धेरैको आशंकालाई यसले चिरेको छ । त्यसैले पहिलो चुनौती सकिएको छ । अब यसलाई कसरी टिकाउने भन्ने मुख्य चुनौती हो ।

यसमा पनि नेकपाका महासचिव पौडेल त्यति चिन्तित देखिनुहुन्न । पौडेल अगाडि भन्नुहुन्छ, ‘अब टिकाउने चुनौती होइन् । छोटो समयमा भएको यो उपलब्धीमा टेकेर संगठनलाई चुस्त बनाएर देशको समृद्धिका लागि समर्पित हुन आवश्यक छ । चुनौती विकासका लागि हो । देशका लागि हो । पार्टीका लागि होइन ।’ 

गुट के हुन्छन् ?

नवगठित नेकपाको अबको सबैभन्दा ठूलो चुनौती भनेको गुटगत राजनीति हो । तत्कालीन एमालेभित्र अध्यक्ष ओली गुट, माधव नेपाल पक्ष गुट, झलनाथ गुट सतहमा आइरहेका गुट हुन् । यसमा अब पुष्पकमल दाहाल प्रचण्ड गुट पनि थपिएको राजनीतिक विश्लेषकहरुको दावी छ ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठका भनाईमा पनि एकीकृत पार्टीमा गुट के गर्ने ? भन्ने विषय सबैभन्दा ठूलो टाउको दुखाईको विषय हो । गुटलाई जति सकिन्छ पर राखेर पार्टीका एजेन्डा र विकासका काममा नेताहरु केन्द्रित भए मात्रै अबको बाटो सहज हुने उहाँको भनाई छ ।

‘एकता हुनुभन्दा पहिलेदेखि नै गुटगत राजनीतिले पार्टीलाई विभिन्न समयमा समस्या पार्दै आएको छ । अरु विषयमा सहमति भईहालेपनि गुटगत स्वार्थमा सहमति हुन गाह्रो हुन्छ’ नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठ भन्नुहुन्छ, ‘अब नेताहरुको ध्यान र सोच गुटगत राजनीति भन्दा पनि विकासका एजेन्डा र नेताहरुलाई क्षमता अनुसारको जिम्मेवारी दिएर व्यवस्थापन गर्नु हो ।’

तत्कालीन एमालेभित्र ओली निकट भएपनि सबै नेतालाई मिलाएर लैजान सक्ने खुबी भएका नेकपाका महासचिव पौडेल पनि गुटगत राजनीतिप्रति सचेत हुनुपर्ने बताउनुहुन्छ । 

‘पार्टीको मुख्य सिद्धान्त के हुने ? पार्टीको संगठनलाई कसरी चुस्त बनाउने ? अरु नेता कार्यकर्ताको व्यवस्थापन कसरी गर्ने भन्ने काम अझै बाँकी छ’ उहाँले भन्नुभयो ‘यस्तो बेला कोही नेताले पनि गुट च्यापेर अगाडि बढ्न मिल्दैन । बढ्नु हँुदैन । आगामी कामका विषयमा गम्भीर भएर पार्टीलाई एकढिक्का बनाउनुपर्छ । अनि मात्र नागरिकलाई चुनावमा दिएका समृद्धिका नारा पूरा गर्न सकिन्छ । हामी त्यतातिर लाग्छौँ पनि ।’

फुटबाट कसरी जोगिने ?

गुटकै राजनीति गरेर फुटबाट ग्रसित भई फुट्ने नेपाली कम्युनिष्ट पार्टीको रोग नै हो । तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएको मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी पार्टी होस या तत्कालीन एमालेबाट छुट्टिएको वामदेव गौतम र सिपी मैनाली नेतृत्वको माले नै । विगतमा गुटकै कारण पार्टीहरु फुटेका थुप्रै उदाहरण छन् ।

बैद्य माओवादीबाट बादल मूल पार्टीमा फर्के पनि नेत्रविक्रम चन्दले त्यो पार्टी फुटाएर पनि अहिले नेकपा चलाईरहेका छन् । अनि मालेबाट वामदेव गौतम एमालेमा फर्किएपनि सिपी मैनालीले त्यही पार्टी समातेर बसिरहनु भएको छ । 

त्यसैले फुटका यस्ता कैयौँ उदाहरण बनाएका पार्टी छन् । जसले गुटबाट फुटको राजनीति गरेर कम्युनिष्ट पार्टीको परिचय नै मिल्ने भन्दा फुट्ने बनाई दिएका छन् ।

एमाले र माओवादीभित्रका गुट अब स्पष्टसँग देखिने र त्यसलाई सन्तुलनमा राखेर अगाडि बढ्नु नेकपाका लागि चुनौतीको पहाड हो । यसैका लागि पनि विष्णु पौडेललाई महासचिव बनाउन प्रचण्ड सहमत भएको नेताहरुको दावी छ ।

त्यसैले अवसरसँगै चुनौतीको पहाड बोकेर नेपाली कम्युनिष्ट पार्टीको इतिहास र परिचय फेर्न महासचिवको कुर्सीमा बसेका पौडेलले कसरी यति ठूलो चुनौतीको सामना गर्नुहुन्छ ? त्यो भने उहाँले आगामी दिने काममा निर्भर रहनेछ । 

अन्तिम अपडेट: चैत १, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया