‘एभोकाडोकाे राजधानी’मा नगरपालिकाले सहुलियत दरमा बाँड्याे ६ हजार ५ सय बिरुवा

 साउन ४, २०७६ शनिबार १७:४७:३६ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - एभोकाडोको राजधानीका नामले चिनिने धनकुटा नगरपालिकाले यस वर्ष ६ हजार ५ सय एभोकाडोका विरुवा कृषकहरुलाई वितरण गरेको छ ।

धनकुटा नगरपालिका क्षेत्रका कृषकहरुलाई एभोकाडोको व्यवसायिक खेतीतर्फ उन्मुख गराउने उद्देश्यले धनकुटा नगरपालिका आफैले नर्सरी स्थापना गरेर एभोकाडोको विरुवा वितरण गरेको हो । नगरपालिकाको गएकाे वर्षको नगरसभाबाट धनकुटा नगरलाई एभोकाडोको राजधानी घोषणा गरेर एभोकाडो बिक्री वितरण तथा उत्पादनको लागि अभियान सुरु गरेको थियो ।

त्यसै अभियान अन्तरगत नगरपालिकाले आफ्नै कम्पाउण्डभित्र एभोकाडोको नर्सरी स्थापना गरी बेर्ना रोपेर विरुवा उत्पादन गरेर कृषकहरुलाई सहुलियत दरमा वितरण गरेको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयाे ।

नगरपालिकाले आफ्नै नर्सरीमा ह्यास, ल्यामह्यास्, बाकोन र गोयन गरी ४ उन्नत जातकाे ६ हजार ५ सय बिरुवा उत्पादन गरेर कृषकहरुलाई सहुलियत दर प्रतिगोटा ५० रुपैयाँमा उपलब्ध गराएकाे धनकुटा नगरपालिकाले जनाएको छ ।उन्नत जातको एभोकाडोको बिरुवाकाे बाहिर बजारमा प्रतिगोटा २ सय रुपैयाँ भन्दा बढी मूल्य पर्दछ ।

९ सयदेखि १२ सय फिटको उचाईमा उत्पादन हुने एभोकाडोका लागि धनकुटा उपयुक्त क्षेत्र मानिन्छ । एभोकाडो जुनसुकै समस्या भएका बिरामीहरुले पनि खान मिल्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

एभोकाडोको व्यावसायिक खेती अहिलेसम्म धनकुटा र इलाम जिल्लामा मात्र गरिएकाे धनकुटा नगरपालिकाका कृषि विज्ञ जीवन राईले जानकारी दिनुभयाे । यी दुई जिल्ला बाहेक अन्य केही जिल्लाहरुमा फाटफुट खेती गर्न सुरु गरिएको छ । धनकुटामा गएकाे वर्ष ७ करोड बराबरको एभोकाडो विरुवा बिक्री र उत्पादनबाट आम्दानी भएको छ । 

धनकुटामा एभोकाडोको फल फल्ने रुख २६ हजार रहेका छन् भने वार्षिक एक लाख किलो उत्पादन हुने गरेको कृषि विज्ञ राईले बताउनु भयाे । धनकुटा नगरपालिकाले आउँदा वर्षहरुमा अझ बढी एभोकाडोको विरुवा उत्पादन गरेर कृषकहरुलाई सहुलियत दरमा बिक्री वितरण गर्ने योजना बनाएको पनि नगरपालिकाले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया