जसले डिप्रेशनलाई जिते

 साउन ११, २०७६ शनिबार १३:२८:१० | मनोज दाहाल
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय कलाकारहरुले आफूहरु डिप्रेशनमा गएको कुरा खुलेर बोल्न थालेका छन् । 

केही समयअघि मात्रै चलचित्र ‘जात्रै जात्रा’ को विशेष शोका लागि अस्ट्रेलिया पुगेकी अभिनेत्री वर्षा राउतले एउटा कार्यक्रममा लगाएको लुगाले उनी तनावमा परिन् । कारण थियो, उनको लुगाको अगाडिको भाग बढी खुल्नु । 

सधैँजसो कार्यक्रममा सामान्य पहिरनमा प्रस्तुत हुने वर्षा अचानक ग्ल्यामर रुपमा प्रस्तुत हुँदा दर्शक पनि छक्क परे । यही कारण उनी सामाजिक सञ्जालमा ट्रोल हुन थालिन् ।

उनलाई ट्रोल गर्नेको सङख्या बढेसँगै उनको सपोर्टमा पनि धेरै कलाकारहरु उत्रिए । तर सधैँ आफ्नो कामबाट सकारात्मक प्रतिक्रिया पाउने वर्षाले अचानक नकारात्मक प्रतिक्रिया पाउँदा तनाव हुनु स्वभाविक नै थियो । यही ट्रोलकै कारण वर्षाका केही दिनहरु रोएरै बिते । उनले चलचित्र ‘दाल भात तरकारी को सफलता पार्टीका क्रममा ट्रोलकै कारण आफू ४ दिनसम्म ड्रिप्रेशनमा पुगेको खुलाएकी थिइन् ।

वर्षा राउत त एउटा उदाहरण मात्रै हुन् । यसअघि नै केही सेलिब्रेटीहरुले डिप्रेशनको चरम बिन्दुमा पुग्दा पनि त्यसलाई जितेर नयाँ जीवनको सुरुवात गरिसकेका छन् । आजको यस सामग्रीमा हामी डिप्रेशन जितेका केही कलाकारको बारेमा चर्चा गर्छौं । 

श्वेता खड्का

डिप्रेशनको चरम बिन्दुमा पुगेर नयाँ जीवन पाउने अभिनेत्रीमा पर्छिन्, श्वेता खड्का । विवाहको एक महिनामै श्रीमान् श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु उनको जीवनको सबैभन्दा ठूलो चोट थियो । यहि कारणले गर्दा उनी एक वर्ष भन्दा बढी नै डिप्रेशनमा गइन् ।

विवाह लगत्तै श्रीमानको निधन हुँदा श्वेतालाई धेरै आरोपहरु लागे । किनभने उनी एउटी नारी थिइन् । उनलाई सम्पत्तिका लागि बिहे गरेकी हो भन्ने सम्मको ठूलो आरोप लाग्यो । उनी सेतो वस्त्रमा छँदै घरमा पनि सम्पत्तिकै नाउँमा झगडा पनि सुनिन् । त्यो अर्को सम्हालिनै नसक्ने चोट थियो, श्वेताका लागि । श्वेताको चर्किएको घाउमा नुन खुर्सानी छर्नेहरु धेरै नै थिए ।

श्रीमानको निधनपछि ४५ दिनसम्म एउटा कोठामा आफूलाई कैद गरेर बसेकी श्वेता त्यसपछि आमाबासँग बस्न आइपुगिन् । त्यही समयदेखि श्वेतामा डिप्रेशन सुरु भैसकेको थियो । एक वर्षसम्म चरम डिप्रेशनमा थिइन् श्वेता । 

त्यसको ठिक एक वर्षपछि भूकम्प गयो । श्वेताले हजारौँ मृत्यु देखिन् । त्यो देख्दा श्वेताले जीवनमा मरिलानु केही नरहेको बुझिन् ।

उपचारको लागि अमेरिका पुगेकी उनले त्यहाँ हुँदा चलचित्रहरु हेर्न थालिन् । किताब पढ्न सुरु गरिन् । त्यसपछि उनलाई थाहा भयो, संसारमा दुःखी उनी मात्रै छैनन् । त्यसपछि उनलाई बाँच्नुपर्छ भन्ने लाग्यो । उनले भूकम्प पीडितको सहयोगार्थ अमेरिकामा चलचित्रको च्यारिटी गरिन् । त्यहाँ उनले दुखेको मन लुकाएर हाँसेको नाटक गर्नुपर्थ्यो ।

श्वेता बिस्तारै सामान्य हुन थालिन् । निर्माण र होटेल व्यवसाय सम्हाल्न थालिन् । माझी बस्तीको निर्माणमा जुटिन् । क्यान्सर पीडितलाई सहयोग गर्न थालिन् र अहिले झण्डै उनले जीवनलाई सामान्य बनाइसकेकी छिन् । उनले त्यसपछि चलचित्र ‘कान्छी पनि निर्माण गरिसकेकी छिन् । सिनेमाका अलावा उनी आफ्नै व्यवसायमा व्यस्त छिन् ।


केदार घिमिरे

कलाकार केदार घिमिरे अर्थात् ‘माग्ने बुढा पनि डिप्रेशनलाई जित्ने कलाकारमा पर्छन् । चलचित्र ‘छक्का पञ्जाको छायाकंनका क्रममा सेटमै पेट दुखेर उनी बिरामी परेका थिए । उनको पेट दुखाइले पछि ठूलो रुप लियो । त्यसकै उपचारकै क्रममा उनले आफूलाई डिप्रेशन भएको थाहा पाए । आफू डिप्रेशनमा गएको थाहा पाएपछि पहिले आफूले विश्वास नै गर्न नसकेको केदार बताउँछन् ।

डिप्रेशनमा गैसकेपछि उनलाई होहल्लामा बस्न मन नलाग्ने, मान्छेहरुसँग कुरा गर्नै मन नलाग्ने हुन्थ्यो ।

उनी सही र गलत सहजै छुट्याउन सक्दैनथे । पटक पटक भुईँचालो आएको अनुभूति गर्थे । गाडीमा हिँड्दा एक्सिडेन्टको डर लागिरहन्थ्यो । 

अलिकति हल्ला सुन्ने बित्तिकै उनलार्ई झर्को लाग्ने गर्थ्यो । उनले आफू डिप्रेशनमा रहेको बेला केही साथीहरुलाई समेत नराम्रो व्यवहार गरेका रहेछन् ।  दिमागले अर्कै सोचेर गलत कुराहरु लेखेर म्यासेजमा पठाएको पनि उनी बताउँछन् । उनी आफू डिप्रेशनबाट पागलपनको अवस्थामा झण्डै पुगेको बताउँछन् ।

पछि बिस्तारै औषधि, परिवारको सहयोग र साथले उनी डिप्रेशनबाट बाहिर आए । यसका अलावा चलचित्र क्षेत्रका उनका निकट साथीहरुले  पनि उनलाई डिप्रेशनबाट बाहिर आउन सघाएका थिए ।

नम्रता श्रेष्ठ

डिप्रेशनको शिकार भएकी अर्की अभिनेत्री हुन्, नम्रता श्रेष्ठ । अभिनेत्री श्रेष्ठले आफू डिप्रेशनमा गएको कुरा स्वीकार गर्न गाह्रो भएको बताउँदै यो कुरा अरुलाई सेयर गर्न पनि गाह्रो भएको बताउँछिन् । उनले आफू डिप्रेशनमा भएको समयमा तीन पटकसम्म आत्महत्याको प्रयास गरेको पनि खुलाइसकेकी छिन् ।

आफूले गरेका हरेक कामहरु चित्त नबुझ्ने जे गरे पनि नराम्रो गरिरहेको जस्तो लाग्ने भएको थियो उनलाई । चलचित्र ‘क्लासिकमा काम गर्दैगर्दा आफूलाई चलचित्रमा गरेको काम मनै नपर्ने भएको र हरेक रातहरु रोएर बितेको उनले बताएकी थिइन् । 

उनले सबैभन्दा गाह्रो पीडा दिमागको हुने भन्दै यदि मान्छे दिमागी हालतमै ठिक छैन भने बाँच्नुको कुनै अर्थ नरहने पनि बताइन् । उनले त्यस समय डिप्रेशनबाट मुक्ति पाउनका लागि साथीभाइ तथा परिवारसँग सल्लाह मागेकी थिइन् ।

किनभने नम्रता कुनै पनि कुराको निर्णय लिन नसक्ने र हरेक कुराको बारेमा धेरै सोच्ने भएकी थिइन् । 

निरु खड्का

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट 'निर्मली' को रुपमा दर्शकको मन जितेकी कलाकार निरु खड्का पनि डिप्रेशनमा पुगिन् । 

उनले पछिल्लो समय आफू डिप्रेशनमा रहेको र त्यसलाई आफूले जितेको खुलाएकी छिन् । २०७२ सालमा गएको महाभूकम्पपछि केही समय देशमा मात्रै हैन उनको जीवनमा पनि कालो बादल छायो । निरुले भूकम्पको झट्काकै कारण आफू लामो समयसम्म डिप्रेशनमा रहेको बताएकी छिन् ।

त्यसताका उनी कामबाट पूर्ण रुपमा हराएकी थिइन् । निरु डिप्रेशनमा हुँदा उनलाई जिन्दगी नै भार लाग्ने गर्थ्यो । मनमा विभिन्न नकारात्मक कुराहरु मात्रै आउँथे । 

केही काममा पनि ध्यान नजाने, अरुलाई देख्दा पनि रिस उठ्ने, नकारात्मक ख्यालहरु बढी आउने, बाँच्न मन नलाग्ने यस्ता धेरै कुराहरु निरुले महसुस गरेकी थिइन् । 

तर निरुलाई डिप्रेशनले जित्न सकेन । चिकित्सक, परिवार र नजिकका साथीभाइको सहयोगमा उनले डिप्रेशनलाई जितिन् । यी सबैले आफूलाई उर्जा दिएका कारण आफू डिप्रेशनबाट बाहिर आएको निरु बताउँछिन् । अहिले भने उनी पूर्णरुपमा स्वस्थ छिन् । यतिबेला उनी म्युजिक भिडियो र सिरियलमा व्यस्त छिन् ।

ज्योति मगर

लोक गायिका ज्योति मगर विवादमा तानिइरहने गायिकामा पर्छिन् । उनको पहिरनले गर्दा दर्शकको उनीप्रति हेर्ने नजर बेग्लै छ । 

ज्योति मगर चर्चित भएसँगै उनलाई मानसिक रुपमा पनि तनाव सुरु भयो । कारण उनको पहिरनलाई लिएर दर्शकले उनको बारेमा नराम्रो प्रतिक्रिया गर्नु । दर्शकले आफ्नो बारेमा गरेका नराम्रा कमेन्टहरुले ज्योति डिप्रेशनमै गएकी थिइन् । 

दिनभरि हाँसेर घर पुग्ने ज्योतिले धेरै रात रोएर बिताएकी छिन् । दर्शकको नराम्रो प्रतिक्रियाले आफ डिप्रेशनमै पुगेको ज्योतिले बताइन् । त्यो समयमा उनले आफूलाई केही न केही काममा व्यस्त राखेर डिप्रेशनबाट बाहिर ल्याएको बताएकी छिन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया