ऋचा सिंह ठकुरीको तीन पटकसम्म ‘मिस्क्यारिज’ हुँदाको पीडा

 साउन ११, २०७६ शनिबार २०:१५:२२ | मनोज दाहाल
unn.prixa.net

चलचित्र ‘नाइँ नभन्नु ल' बाट सिने नगरीमा प्रवेश गरेकी अभिनेत्री ऋचा सिंह ठकुरीले पहिलो चलचित्रबाट नै सफलता हात पारिन् । उनले पहिलो चलचित्रको कामबाट नै दर्शकको माया पाइन् । 

त्यसपछि केही वर्ष उनले नेपाली चलचित्र क्षेत्रमा बिताइन् । सम्भावना बोकिएको अभिनेतृका रुपमा उनलाई धेरैले हेरेका थिए । तर उनले त्यही बीचमा विवाह गरिन् । विवाहपछि भने ऋचा सिनेमाबाट अलि टाढा भइन् । विवाह गरेको केही समयको विश्रामपछि उनी चलचित्र 'सुपर गोर्खे' मार्फत् सिने क्षेत्रमा फर्किएकी छिन् ।

चलचित्रमा उनले श्रीमान गजेन्द्रराज थापासँग स्क्रिन शेयर गरेकी छिन् । साउन १० देखि प्रदर्शनमा आएको चलचित्रका बारेमा ऋचा र उनका श्रीमान गजेन्द्रसँग हामीले कुराकानी गरेका छौँ ।

तपाइँको नाम खासमा राज हाे कि गजेन्द्र? 

गजेन्द्र – खासमा मेरो नाम चै गजेन्द्र राज थापा हो । अफन्त तथा साथीभाइहरुले चाहिँ ‘गजु’ भनेर बोलाउनु हुन्छ ।   

ऋचा – म पनि 'गजु' भनेर नै बोलाउँछु । किनभने घरमा पनि सबैले उसलाई ‘गजु’ भनेर नै बोलाउनु हुन्छ ।

ऋचाजी कत्तिको छुच्चो हुनुहुन्छ ?

गजेन्द्र – छुच्चो त ऊ छुच्चो नै छ । यदि उसलाई रिस उठिहाल्यो भने उसको बोल्नेभन्दा पनि आँखा तरेर हेर्ने बानी छ । 

‘सुपर गोर्खे’ कस्तो चलचित्र हो ? 

गजेन्द्र – ‘सुपर गोर्खे’ मा एउटा सामान्य केटाले समाज रुपान्तरणका लागि गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । 

ऋचा – हामीले निर्माण गरेको चलचित्र कमेडी विधामा आधारित छ । चलचित्रमा केही युवाहरु आफ्नो फाइदाका लागि जे पनि गर्न तयार हुन्छन् । र सबै कुरालाई मजाकका रुपमा उडाइरहेका हुन्छन् । तर चलचित्रमा एउटा त्यस्तो मोड आइपुग्छ, अन्ततः उनीहरुलाई महसुस हुन्छ । हामीले समाज रुपान्तरणका लागि केही योगदान गर्नुपर्छ भन्ने शिक्षा हासिल गरेर उनीहरु अघि बढ्छन् । त्यस सँगसगै हाम्रो चलचित्रमा धेरै नै ‘सस्पेन्स’ पनि पाउनु हुनेछ । 

ऋचाजीले लामो समयपछि चलचित्रमा ‘कमब्याक’ गर्दै हुनुहुन्छ । यो प्रचार प्रसार अलि कम भएको हैन र ?

ऋचा – त्यस्तो कम नै भन्ने त हैन तर एक दुई पटक चलचित्रको प्रदर्शन मिति सरेर त्यस्तो लागेको हो । बीचमा मेरो स्वास्थ्यमा केही समस्या देखिएको थियो, त्यसैले पनि प्रचार प्रसारमा हिँड्न अलि कम भएको थियो । त्यससँगै हामी अष्ट्रेलियामा थियौँ । उताको काम सक्न पनि केही समय लाग्यो । 

आफ्नै श्रीमानसँग चलचित्र प्रचारप्रसारमा हिँड्दा कस्तो महुुस हुँदोरहेछ ? 

ऋचा –  केही फरक त हुँदोरहेछ । अब अरुसँग हिँड्दा चलचित्रकै विषयमा मात्र कुरा हुन्थ्यो भने श्रीमानसँग हिँड्दा दुःख, सुखका हरेक कुरा शेयर गर्न पाइँदोरहेछ । त्यहि नै त हो, अरु त के नै हुन्छ र ।

तपाइँलाई श्रीमानले सरप्राइज कत्तिको दिनुभएको छ ?

ऋचा – (उम्) दिनु भएको छ । हाम्रो एनिभर्सरिमा सरप्राइज दिनुभएको थियो । मैले धेरै पहिलेदेखि फोन चाइयो भनेको थिएँ र त्यही दिन ल्याइदिनु भएकोरहेछ ।

पहिला ‘नाइँ नभन्नु ल’ मा दर्शकहरुले देख्नुभएको ऋचा र अहिलेको ऋचामा धेरै कुरा परिवर्तन देखिएको छ, कारण के हो ?

ऋचा – मेरो स्वास्थ्यमा केही समस्या देखा परेको थियो । अझभन्दा गर्भपतन भएका कारण म चलचित्रको प्रचारप्रसारमा हिँड्न सकिँन । म एउटा पीडामा रुमल्लिएको थिएँ । सम्हालिन धेरै गाह्रो भएको थियो । दुई दिनसम्म म बेहोस नै भएको थिएँ रे । बोल्न चाहिँ बोलिरहेको थिएँ रे, तर मलाई भने केही पनि याद छैन ।

मलाई यो कुरा भन्न मन थिएन तर धेरै प्रश्नहरु आइरहेका छन् । अब चाहिँ बोल्नैपर्छ जस्तो लाग्यो । अप्रेशन थिएटरमा लिएर गएको, त्यहाँ के भयो, कसले के भन्यो, मलाई केही पनि थाहा छैन । 

गजेन्द्र – म आफैँ पनि धेरै आत्तिएको थिएँ  । बेहोसजस्तै भएको थिएँ  । त्यसमाथि झन् अस्पतालको हस्पिटलको लापर्वाही देखेर मैले त्यहाँ गालीसमेत गरेको थिएँ  । कसैले वास्ता नगर्ने अब अन्तै लिएर जाउँ भने तर त्यो अवस्थामा कहाँ जानु, नजानु निकै चित्त दुखेको थियो ।

एउटी आमालाई बच्चा जन्माउँदा जुन पीडा हुन्छ, त्योभन्दा धेरै पीडा बच्चा गुमाउँदा हुन्छ भनिन्छ नि ?

ऋचा – हो, त्यसपछि म बेड रेस्टमा थिएँ  । झण्डै ९ महिनासम्म नै म रेस्टमा बसेँ । त्यो बेला त म यो भन्दा धेरै नै मोटाएको थिएँ । पछि फेरि केही घटेको पनि हो तर त्यही बीचमा फेरि पनि स्वस्थ्यमा समस्या देखियो । मेरो एकदमै धेरै प्रेसर लो भैरहन्छ । एक पटक मात्र नभएर ३ पटकसम्म गर्भपतन भयो मेरो । लगातार ३ पटक सम्म यस्तो भएपछि चाहिँ मैले कान समाएँ  ।

तीन/तीन पटक गर्भपतन भएको मान्छे यस्तो स्वस्थ हुनु त ठूलो कुरा हो नि ?
ऋचा
– मानिसहरु सबैले मोटायो–मोटायो भन्छन्, तर मलाई चाहिँ कस्तो लाग्छ भने मोटाउनु, दुब्लाउनु भनेको बेग्लै कुरा हो तर त्योभन्दा ठूलो कुरा त स्वस्थ रहनु हो नि त ।

त्यो बेला मलाई मेरा आमाको मुहार झलझली याद आइरहेको थियो । आमा आफैँ बेहोस जस्तो हुनुभएको थियो । श्रीमानलाई त्यो समय धेरै गाह्रो भएको थियो । मलाई सम्हाल्नु कि आमालाई सम्हाल्नु कि आफैँ सम्हालिनु भएको थियो । त्यो समय सम्झिँदा पनि आँखाबाट आँसु आउँछ । र अहिले भने खाने कुरादेखि हरेक कुराहरुमा मैले स्वस्थ्यलाई ख्याल गरेर मात्र काम गर्ने गरेको छु । 

अब पीडाको कुरा छाडेर रमाइलो कुरा गरौँ । ऋचाजी को हातबाट बनेको के कुरा चाहिँ तपाइँलाई मीठो लाग्छ ? 

गजेन्द्र – त्यस्तो यही भन्ने नै त छैन तर उसले बनाएको सबै कुरा मिठो नै हुन्छ । चिकेन करी भयो, अरु विभिन्न मिठाइहरु सबै कुरा मिठो नै बनाउँछिन् । 

अब विवाहको सिलसिलातिर लागौँ । तपाइँहरुकोे पहिलो भेटको विषयमा भन्दिनुहोस् न ? 

गजेन्द्र – हाम्रो भेट त साथीभाइहरुकै माध्यमबाट भएको हो । बिस्तारै बोल्दै गयौँ । एक अर्कासँग नजिकिँदै गयौँ । पछि दुबैले एक अर्कालाई चाहने भएपछि मागी विवाह गरेका हौँ । 

ऋचा – खासमा म अष्ट्रेलिया बस्दा पहिलो पटक छ महिनाजस्तो आमाबाट टाढा भएर बसेको थिएँ । तर म दिनमा १० पटकभन्दा धेरै फोनमा कुराकानी गरिरहेको हुन्थेँ । बिहे गर्दा पनि घर परिवार सबैको सहमतिमा नै गर्छु भन्ने थियो । 

सुरुमा त मेरो दादाले हाम्रो विवाहका लागि स्वीकृति दिनुभएको थियो पछि आमाहरुले पनि हुन्छ भन्नुभयो तर मेरो भाइले चाहिँ सुरुमा निकै गाह्रो मानेको थियो । किन भने मेरो भाइ त्यति बोल्दैन । अब दिदी दिने कुरा कस्तो हो, के हो नबुझी हुँदैन भन्ने भाइको भनाइ थियो । पछि सबै कुरा थाहा पाएपछि ऊ पनि राजी भएको थियो । र ‘गजु’ को घरमा पनि सबै जना विवाहका लागि राजी भएपछि नै हामीले विवाह गरेका थियौँ । 

ऋचाजी त्यो समय निकै नाम चलेकी अभिनेत्रीका रुपमा हुनुहुन्थ्यो । चलचित्र करियर नै छाडेर विवाह गर्नुको कारण ? 

ऋचा – मैले विवाह गरे पनि चलचित्र क्षेत्र त्याग्नुपर्छ भन्ने थिएन । किनभने म सानै उमेरमा चलचित्र क्षेत्रमा आएको थिएँ भन्ने सबैलाई थाहा थियो । र हामीले एक अर्कालाई चिनेको झण्डै दुई वर्षपछि हामीले विवाह गरेका हौँ । अब मेरो घरको सबैजना मिडियामा भएका कारण मलाई गाह्रो भएन । घरमा कसैले पनि मेरो काममा यो गर, त्यो नगर भनेर कहिले पनि भन्नुभएन । आफू गलत नहुने तर काम गर्ने भन्ने कुरा नै थियो, त्यसैले सजिलो नै भयो । 

एउटा राम्रो श्रीमानका रुपमा हेर्दा गजेन्द्रजी कत्तिको ‘पर्फेक्ट’ हुनुहुन्छ ?

ऋचा – केहीकेही कुरा चित्त नबुझ्ने त भइ नै हाल्छ । तर धेरै विश्वासिलो हुनुहुन्छ । सुरुमा भनेको कुरा नमाने पनि पछि मान्नुहुन्छ । मलाई बुझ्नुहुन्छ । काममा सहयोग गर्नुहुन्छ । वाचा गरेको कुरा चाहिँ खासै पूरा गर्नुहुन्न । त्योसँगै किचेनमा केही पकाउन जानु भयो भने केही पनि भेट्नुहुन्न, त्यहीँ आँखा अगाडि नै छ भने पनि भेट्नुहुन्न । 

विवाहपछि नयाँ घरमा तपाइँको पहिलो दिन चाहिँ कस्तो रह्यो ?

ऋचा – दुई वर्ष अघिदेखि नै मैले सबैजनालाई चिनेको भएर पनि त्यस्तो गाह्रो भएन । पहिले पनि जाने आउने गरिरहेकै हुन्थेँ । उहाँ घरमा नभएको समयमा पनि मामु बाबालाई भेट्नको लागि म गैरहेको हुन्थेँ, त्यसैले पनि त्यस्तो अप्ठ्यारो केही भएन । 

विवाहपछि पहिलो पटक ससुराली जाँदाको अनुभव कस्तो थियो ? 

गजेन्द्र – एकदमै रमाइलो भएको थियो । सबैसँग भेटघाट गर्दा रमाइलो भएको थियो । त्यसमाथि मलाई चितवन एकदमै मनपर्ने ठाउँ पनि हो । मेरा धेरै साथीहरु पनि थिए । 

ऋचा – एकदमै रमाइलो भएको थियोे । हामी विवाहपछि घरको रिसेप्सन सकेर माईती जाँदा त सबैजना घुम्टो ओढेर बस्नुभएको थियो । अनि हामी दुई जनाले चाहिँ को हो भनेर चिन्नु पर्ने थियो । हाम्रा आफन्त सबैजना हुनुहुन्थ्यो । फेरि केटा मान्छेले चाहिँ साडी लगाउनु भएको थियो । कसैलाई पनि चिन्न सकिएन तर एकदमै रमाइलो भएको थियो ।  

अन्तिम अपडेट: चैत ११, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया