'तिताे सत्य' बाट जन्मिएकाे चर्चित पात्र 'गैँडा'

 साउन १७, २०७६ शुक्रबार १९:११:४७ | मनोज दाहाल
unn.prixa.net

हास्य कलाकार निर्मल शर्माले बिहीबार ४७ औँ जन्मदिन मनाएका छन् । शर्मालाई धेरै दर्शकले ''गैँडा'' उपनामले चिन्ने गरेका छन् । 

हास्य टेलिश्रृंखला 'तितो सत्य' मा पाएको 'गैँडा' उपनामले नै उनी दर्शकमा परिचित छन् । आज 'तितो सत्य' बन्द भैसक्दा पनि उनलाई 'गैँडा' कै उपनामाले चिन्ने धेरै छन् । 

शर्माको जन्म विसं २०२७ साल साउन १६ गते काठमाण्डौमा भएको थियो । उनका पिता सरकारी ओहदामा रहेका कारण पनि उनी सानैदेखि संस्कारी बने । बोल्दा, हिँड्दा, खाँदा आफ्नै नियम थियो । उनी सानैदेखि चंगा उडाउने, फुटबल खेल्ने, पौडी खेल्ने लगायतका कुराहरुमा निकै रुचि राख्ने गर्थे । 

पढाइमा सामान्य मानिने शर्मा प्रेम र रोमान्सका कुरामा भने निकै पछि थिए । सानैबाट कलाकार बन्ने लक्षण भने उनले देखाएका थिए । उनलाई ऐना हेरिरहन मन लाग्थ्यो । कतै हिँड्दा डुल्दा पानी मात्रै भए पनि कपालमा लगाएर ठाडो पारेर हिँड्ने शर्मालाई चुच्चो जुत्तामा रुचि थियो ।  

एसएलसीपछि भने उनी अध्ययनका लागि भारत गए । उनले भारतको पुनामा रहेको फरगेन क्याम्पसमा अध्ययन गर्न थाले । त्यो समयमा मुम्बईदेखि पुना जाने बाटोमा बलिउड चलचित्रको छायाँकन भैरहन्थ्यो । उनी त्यही बाटो भएर आवतजावत गरिरहने हुँदा उनले धेरै पटक चलचित्र छायाँकन भएको हेर्ने मौका पाए । 

भारतका स्टार कलाकारहरुलाई छायाँकनका समय मानिसहरुले घेरेको, प्रहरीहरुले सुरक्षा दिएको, तस्बिर खिचाउन समर्थकहरुले तछाडमछाड गरेको, मानिसले छाता ओढाइदिएको, अटोग्राफ लिन आएको दृश्य देखेपछि भित्रैबाट उनलाई पनि कलाकार बन्ने भूत सवार भयो । उनले त्यो स्टारको स्थानमा आफूलाई राखेर कल्पना गर्न थाले । 

उनी हाँस्दै भन्छन्, ‘क्याम्पसमा केटाभन्दा केटी साथी धेरै थिए । मैले कसैलाई मन पराउँछु भन्दा जोक गर्छस् भनेर हाँसेर नै उडाइदिन्थे ।’ उनी आफूले राम्रो अभिनय गरेर भन्दा पनि भाग्यका कारणले दर्शकको माया पाएको बताउँछन् । अभिनयका हिसाबले भने आफू अझै केटाकेटी नै रहेको उनको बुझाइ छ । उनी कलाकारिता क्षेत्रमा प्रवेश गरेको भने झण्डै २५ वर्ष पूरा भैसकेको छ । 

एकपटक क्याम्पसमा इन्टर कलेज फेशन शो प्रतियोगिताको आयोजना भएको थियो । त्यो कार्यक्रममा शर्माले पनि भाग लिएका थिए । उनले नेपाली ढाकाको कमिज सुरुवाल, ढाका टोपी, पटुकी र कम्मरमा खुकुरी भिरेर आफ्नो प्रस्तुति देखाएका थिए । 

त्यो कार्यक्रममा उनले ३ ओटा अवार्ड जित्न सफल भएका थिए । कार्यक्रममा अवार्डस्वरुप उनले त्यो बेलाको भारु ११ हजार रुपैयाँ पुरस्कार पाएका थिए । उनलाई यो क्षेत्रमा धेरै पैसा कमाउन सकिने रहेछ भन्ने अनुभूति हुन थाल्यो । त्यसपछि भारतमा आयोजना हुने विभिन्न फेसन शो हरुमा सहभागिता जनाउन थाले ।

विभिन्न भारतीय टेलिभिजन तथा पत्रिकाहरुमा पनि उनका तस्बिरहरु छापिन थाले । पछि उनी नेपाल आउँदा पनि उनलाई सबैले सम्मान गरे । भारतबाट आएको विभिन्न टेलिभिजनमा देखिएको, पत्रिकाहरुमा तस्बिर छापिएको भन्ने भएपछि धेरैले उनलाई चलचित्रको अभिनेता बन्न सल्लाह दिए । 

उनी आफूले आफूलाई हिरोको रुपमा कल्पना गर्न थाले । उनी भारतबाट नेपाल आएको केही दिन भित्रमा नै मिनरल वाटरको विज्ञापनमा अभिनय गर्ने अवसर प्राप्त गरे । उनमा हिरो बन्ने सपना झन् बढ्दै गयो । अन्ततः उनले नेपाली चलचित्र ‘इज्जत' मा हिरो भएर अभिनय गर्ने अवसर पाए । 

पछि चलचित्र प्रदर्शन भएपछि उनले हलमै गएर आफ्नो चलचित्र हेरे तर चलचित्र हेरिसकेपछि आफू हिरो बन्न नसुहाउने रहेछ भन्ने विचार गरे । अब उनको हिरो बन्ने सपना त्यहीँबाट अन्त्य भयो । त्यसपछि उनले विभिन्न विज्ञापनहरुमा काम गरे । 

विभिन्न विज्ञापनमा काम गरिरहेकै बेला उनको भेट कलाकार दीपकराज गिरीसँग भयो । भेट भएको झण्डै ३ वर्षपछि हास्य टेलिश्रृंखला 'तितो सत्य' को अवधारणा बन्यो । र पहिलो भागस्वरुप 'तितो सत्य' निर्माण सुरु भयो । पहिलो भाग बाट नै 'तितो सत्य' ले लोकप्रियता हासिल गर्न थाल्यो । 

'तितो सत्य' ले दिन प्रतिदिन लोकप्रियता हासिल गर्दै गयो । त्यही लोकप्रियतासँगै सिरियलका विभिन्न पात्रहरु पनि चर्चित भए । यही मध्येको एक थियो निर्मलको क्यारेक्टर 'गैँडा' । आज उनलाई कलाकार निर्मल शर्मा ‘'गैँडा' नामले देश तथा विदेशमा चिनिन्छ । 

उनी सानैदेखि निर्देशनमा पनि झुकाव राख्थे । उनी आफैँले निर्देशन गरेका विज्ञापनहरुलाई धेरैले प्रशंसा गरेका थिए । पछि उनले आफ्नै निर्देशनमा चलचित्र निर्माण गरे । हालसम्म उनले ५ ओटा चलचित्र निर्माण गरिसकेका छन् । तर निर्माण गरेका कुनै पनि चलचित्रले अपेक्षाकृत व्यापार भने गर्न सकेनन् ।  

पछि दीपक–दीपाको सहकार्यमा निर्माण गरेका केही चलचित्रहरुले भने राम्रो व्यापार गर्न सफल भए । चलचित्र 'वडा नम्बर ६', 'छ एकान छ' लगायतका चलचित्रहरुमा शर्मा पनि एक निर्माताका रुपमा थिए । 

अन्तिम अपडेट: चैत ९, २०८०

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया