म्याग्दीको बेनीमा खानेपानीको हाहाकार, दमकल र ट्रयाक्टरबाट उपभोक्तालाई पानी वितरण

 साउन २६, २०७६ आइतबार १३:३७:३८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – दमकल (वारुणयन्त्र) भन्नेबित्तिकै हामीले आगो निभाउने साधन भनेर बुझ्ने गरेका छौं । आगलागी भएमा दमकलको सहयोगमा पानी छ्यापेर आगो निभाइन्छ । खासगरी सहर, बजारका क्षेत्रमा आगलागी भएको खण्डमा तुरुन्तै दमकललाई खबर गरेर आगो निभाउने प्रयास गरिन्छ ।

तर, पछिल्लो समय दमकलले म्याग्दीको बेनीमा आगो निभाउने नभइ खानेपानीका लागि पानी बोकेर बजारको चोकचोकमा वितरण गरेको छ । यस्तै सामान बोक्ने ट्रयाक्टर बाट पनि ड्रममा पानी राखेर सर्वसाधारणलाई वितरण गरिँदै आइएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड विस्तारको क्रममा पाइप फुटेपछि लगातार खानेपानीको अभाव भेल्दै आएका बेनीबजारवासीलाई दमकल र ट्रयाक्टर मा ड्रम राखेर खानेपानी वितरण गरिएको हो ।

म्याग्दीको सदरमुकाम बेनीबजारमा पिउने पानीको हाहाकार भएपछि दमकल र ट्रयाक्टरबाट पानी ओसारेर उपभोक्तालाई वितरण गरिएको छ । बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा बेनीमा ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेपछि बजारवासीलाई खानेपानीको समस्या भैरहेको छ । त्यस सडकखण्डको गलेश्वरदेखि राहुपारे खण्ड अन्तर्गत विभिन्न स्थानमा बाढीपहिरो र डोजरले पाइपमा क्षति पुर्‍याएपछि सदरमुकाम बेनीमा खानेपानी आपूर्ति बन्द भएको छ । 

खानेपानीको पाइपमा क्षति पुग्दा पानीको समस्या भएपछि दैनिकजसो बजारवासीलाई दमकल र ट्रयाक्टर मार्फत खानेपानी वितरण गरी उपलब्ध गराइएको छ । अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा रहेकाे पुम्दीखोलाको मुहानबाट ल्याइएको खानेपानीको पाइप चमेरेमा फुटेपछि १९ गतेदेखि बेनीमा खानेपानी आपूर्ति बन्द भएको हो ।

यसैगरी बेनी नगरपालिका–३, भकिम्लीको दुधेखोलाबाट ल्याइएको पाइपसमेत फुटेपछि थप समस्या भएको छ । नियमित रुपमा आइरहने पानीको पाइपमा क्षति पुगेर खानेपानी आपूर्ति नै बन्द भएपछि बेनी नगरपालिका र वडा नम्बर ७ ले दमकल र ट्रयाक्टर मार्फत खानेपानी वितरण गरिरहेका छन् ।    

धारामा खानेपानी नआउँदा बेनीमा कोठा भाडा लिएर बस्ने विद्यार्थी, कर्मचारी, शिक्षकलगायत सर्वसाधारणलाई सास्ती भएको छ । पानी नभएपछि खाना पकाउन, हातमुख धुन, शौचालय जान, नुहाउन र कपडा धुन समस्या भैरहेको उपभोक्ता कमला उपाध्यायले गुनासो गर्नुभयो ।

खानेपानीको अभावका कारणले गर्दा खासगरी शिक्षक, विद्यार्थी र कर्मचारीहरु मर्कामा परेका छन् । कतिपय घरधनीको निजी धारा भए पनि सरकारी पानी उपभोग गर्दै आइरहेका घरधनी र डेरामा बस्नेहरु भने सास्ती भोगिरहेका छन् ।

 

खानेपानी आपूर्तिका लागि पाइप फुटेको ठाउँमा मर्मतको काम भैरहेको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो । बेनीमा पुम्दीखोलाबाट ६ इन्च र ५ इन्चको दुईवटा पाइप तथा दुधेखोलाको मुहानबाट २ इन्चको पाइमा पानी ल्याइएको छ ।

पुम्दीखोलाबाट ल्याइएको ६ इन्चको पाइमा प्रतिसेकेण्ड २० लिटर र ५ इन्चको पाइपमा प्रतिसेकेण्ड १० लिटर तथा दुधेखोलाको २ इन्चको पाइपमा प्रतिसेकेण्ड ३ लिटर पानी आउने गर्दछ । बेनीमा १ हजार ३३ घरधुरीमध्ये बेनी खानेपानी उपभोक्ता संस्थाले १ हजार २० उपभोक्ता अर्थात् झण्डै २० हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउँदै आएको छ । 

बेनी नगरपालिका–७ र ८ नम्बर वडा तथा ज्यामरुककोटको हाँडेभिर क्षेत्रमा संस्थाले पानी वितरण गरेको छ । खानेपानी आपूर्तिका लागि पाइप भाँचिएको ठाउँमा मर्मत भैरहेको हुँदा केही दिनभित्रै पानी आपूर्ति सहज हुने बेनपा–७, का वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

वडा तहबाट नगरपालिकासँग आवश्यक समन्वय गरेर ट्रयाक्टर मार्फत उपभोक्तालाई पानी वितरण गरिएको जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया