सोलुखुम्बु : भूकम्पबाट क्षति भएका मध्ये १०५ विद्यालय भवनकाे पुनर्निर्माण

 भदौ १, २०७६ आइतबार २०:२२:३१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – भूकम्पबाट क्षति पुगेका सोलुखुम्बुका विद्यालय भवनमध्ये एक सय पाँच ओटा विद्यालय भवनको पुनर्निर्माण गरिएको छ । 

सोलुखुम्बुमा भूकम्पबाट क्षति पुगेका दुई सय ३५ मध्ये एक सय पाँच वटा विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको हो । 

भूकम्पबाट क्षति पुगेका अधिकांश विद्यालय भवन गैर सरकारी संस्थाहरुको सहयोगमा निर्माण भएका छन् । पुनर्निर्माण गरिएका एक सय पाँच ओटा विद्यालय भवन मध्ये ८६ ओटा विद्यालय भवन गैर सरकारी संस्थाहरुले निर्माण गरेका छन् भने बाँकी रहेका १९ ओटा भवन सरकारी पक्षबाट पुनर्निर्माण गरिएको तथ्यांकमा देखाइएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेका विद्यालय भवन पुनर्निर्माणको काम सरकारी तवरबाट भने लक्ष्य अनुसार पूरा हुन नसकेको जनाएको छ ।  भूकम्प प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ शिक्षा शाखाले गएको आर्थिक वर्षमा २५ ओटा विद्यालय भवन निर्माण गर्ने लक्ष्य लिएको भए पनि जम्मा १२ ओटा भवन मात्र निर्माण गरेको हो ।
    
ढुवानी समस्या र भौगोलिक विकटताले गर्दा लक्ष्य प्राप्त गर्न नसकिएको भूकम्प प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ शिक्षाका प्रमुख प्रेम खरेलले बताउनु भयो । आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै २५ ओटा विद्यालय भवन बनाउनु पर्ने भए पनि १२ ओटाको मात्रै निर्माण सम्पन्न गर्न सकिएको उहाँको भनाइ छ ।  

विसं २०७३ सालदेखि हालसम्म गैर सरकारी संस्थाले ८६ ओटा भवन पुनर्निर्माण गरेका हुन् भने जिल्ला कार्यान्वयन इकाइ शिक्षाबाट १९ ओटा विद्यालय भवन पुनर्निर्माण भएका हुन् । गैर सरकारी संस्थाहरु पालिकाहरुमा बढी सक्रिय भएकाले भवन निर्माणमा सहज हुने गरेको र सरकारी निकायबाट प्रक्रिया पूरा गर्दा नै समय लाग्ने भएकाले कम मात्र प्रगति भएको खरेलको भनाइ छ । 

गएको आर्थिक वर्ष २०७५/०७६ मा सिसा खोला आधारभूत विद्यालयको ४ कोठे आरसीसी भवन सम्पन्न भएको छ भने २ कोठे ट्रस्ट भवन ११ वटा निर्माण भएको खरेलले जानकारी दिनुभयो ।  

यस्तै दोस्रो चरणको लागि इकाइले २८ ओटा भवन र ३० ओटा शौचालय बनाउने गरी काम भैरहेको जनाएको छ । दोस्रो चरणको कार्यक्रम पुससम्ममा सम्पन्न गरिसक्नु पर्ने कार्यालयले जनाएको छ ।

पहिलो चरणमा सञ्चालित कार्यक्रम अन्तिम चरणमा पुगेकाले असोजसम्म सम्पन्न गर्ने गरी समय थपिएको प्रमुख खरेलले बताउनु भयो । 

अन्तिम अपडेट: चैत ३, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया