शुक्लाफाँटा निकुञ्जमा पहिलाे पटक बाह्रसिंगाकाे संख्या घट्याे

 भदौ ८, २०७६ आइतबार १३:१८:३५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको संख्या घटेकोे तथ्यांकले देखाएको छ ।

सन् २०१४ मा गरिएको गणनाको तुलनामा निकुञ्जमा ५५ वटा बाह्रसिंगाको संख्या घटेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको पछिल्लो गणना अनुसार बाह्रसिंगाको संख्या २ हजार २ सय ४६ रहेको छ । जसमध्ये ५ सय २२ वयस्क र अर्धवयस्क भाले, एक हजार ५ सय २३ वयस्क र अर्धवयस्क पोथी तथा २ सय १ पाठापाठी रहेका छन् । 

सन् २०१४ मा गरिएको गणना अनुसार शुक्लाफाँटामा बाह्रसिंगाको संख्या २ हजार ३ सय १ रहेको थियो । 

शुक्लाफाँटा निकुञ्जमा हरेक गणनामा बाह्रसिंगाको संख्या बढ्ने गरेकोमा पहिलो पटक घटेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले बताउनुभयो । उहाँले अघिल्लो गणनाभन्दा बाह्रसिंगाको संख्यामा कमी देखिए पनि धेरै संख्या नघटेकाले यसलाई सामान्य रुपमा लिइने बताउनुभयो । 

शुक्लाफाँटाबाट चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा १० वटा बाह्रसिंगा स्थानान्तरण गरिएको उहाँको भनाइ छ । 

पौडेलका अनुसार वन्यजन्तुको गणना गर्दा ‘हेडकाउण्ट विधि’ बाट गरिने भएकाले १० प्रतिशत तलमाथि पर्दा सामान्य रुपमा लिइने गरिन्छ ।

शुक्लाफाँटामा स्थापनाकाल (सन् १९७६) मा बाह्रसिंगाको संख्या ९ सय रहेको थियो भने सन् १९९३ मा यो संख्या बढेर एक हजार ८ सय ५० पुगेको तथ्यांकमा उल्लेख छ । यसैगरी, सन् २००७ मा १ हजार ६ सय ७४, सन् २०१० मा १ हजार ७ सय ३७, सन् २०११ मा १ हजार ७ सय ४३, सन् २०१२ मा १ हजार ८ सय २५, सन् २०१३ मा २ हजार १ सय ७० रहेको थियो । 

यस निकुञ्जको शुक्लाफाँटा घाँसेमैदानमा ५ सयदेखि एक हजारको संख्यामा बाह्रसिंगाको सबैभन्दा ठूलो झुण्ड देख्न सकिन्छ । 
 

अन्तिम अपडेट: चैत २३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया